काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको चाहना बिपरीत नेपाल नगरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मंगलबार प्रदीप अधिकारी नियुक्त भए । अधिकारी ११ औं तहका हुन् । उनीभन्दा बरिष्ट र १२ औं तहका ५ जना उपमहानिर्देशक र एक जना अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक छन् । तर ११ औं तहका कनिष्ट अधिकारीलाई मन्त्रिपरिषदबाटै महानिर्देशकमा नियुक्ति गर्ने निर्णय गरिएको छ ।
१२ औं तहका प्रतापबाबु तिवारी र भोला गुरागाई सबैभन्दा बरिष्ठ थिए । एक महिनाअघि १२ औं तहमा बढुवा भएका देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमचन्द्र ठाकुर हुन् । तर यी ५ जनालाई नै हिस्स पार्दै सरकारले ११ औं तहका कनिष्ट प्रदीप अधिकारीलाई प्राधिकरणको महानिर्देशक नियुक्ति गरेको छ । जसले बरिष्ठहरुलाई कनिष्टका मातहत काम गर्न असहज अवस्था निम्तिएको छ ।
प्राधिकरणका सबै गौरबका आयोजनाहरु गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाका आयोजना प्रमुख हुन् अधिकारी । उनले यी आयोजनाको प्रमुख अरबौंको ठेक्का सेटिङमा दिएको आरोप छ । विगतमा खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री हुँदा उनी सिधै उनका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालमार्फत् ठेक्कामा सेटिङ गर्थे । तत्कालीन मन्त्रीहरु स्व. रविन्द्र अधिकारी, योगेश भट्टराईदेखि भानुभक्त ढकाल होइन, सिधै रिमाललाई प्रभावमा पारी उनले ठेक्कामा सेटिङ गर्थे ।
प्रदीप अधिकारीः भ्रष्टाचारका पर्याय
तिवारी, गुरागाई, कर्णसहितका ६ उपमहानिर्देशकलाई उछिनेर ११ औं तहका प्रदीप अधिकारी महानिर्देशक हुनुमा आर्थिक चलखेलले नै काम गरेको स्रोत बताउँछ । स्रोतका अनुसार डोल्पाबाट निर्वाचित नेकपा समाजवादीका ठेकेदार सांसद धनबहादुर बुढामार्फत् उनले १० करोड रुपैयाँ महानिर्देशक बन्न खर्च गरेका छन् । ११ औं तहका पनि कनिष्ट अधिकारी करोडौं खर्चेर पनि महानिर्देशक हुने खेलमा लागेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका बिरुद्ध मिडिया क्याम्पेन नै गरेका उनलाई महानिर्देशक बनाउने पक्षमा उनी थिएनन् । तर शक्तिकेन्द्रमा पैसाको खोलो बगाएर उनले मन्त्री आलेलाई समेत चक्मा दिएका छन् ।
सबै राष्ट्रिय गौरबका आयोजना प्रमुख अधिकारीले अरबौं अरबका ठेक्कामा सेटिङ गरी करोडौं घुस थुपार्न सफल भएकाले उनी प्राधिकरणको महानिर्देशक हुन जति पनि खर्च गर्न तयार थिए ।
अधिकारीको सेटिङमा २ बर्षअघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे को ठेक्का दिइएकोमा २० प्रतिशत पनि काम भएको छैन । चाइना नेशनल एरो टेक्नोलोजीको नेपालस्थित एजेन्ट यति ग्रुप हो । केपी शर्मा ओलीको लगानी भएको भनिने यति ग्रुपलाई विमानस्थलका सबै ठेक्का सेटिङमा दिने अधिकारीलाई नेकपा समाजवादीकै मन्त्रालय अन्तर्गत नियुक्ति दिनु अर्को बिडम्बना भएको छ ।
अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन(एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि गरिएको टेण्डरमा सुरुदेखि नै यति ग्रुपको डिजाइनमा दिनेगरी सेटिङ गरेका थिए । करीब नौ अर्ब बीस करोड रुपैयाँको यो ठेक्कामा सहभागी हुनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिबृद्धि आयोजनाबाट अप्रिल २, २०१९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।
मे १७, २०१९ को अन्तिम मिति राखेर आह्वान गरिएको सो टेण्डरमा ख्यातीप्राप्त अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरूका तर्फबाट एकल र संयुक्त उपक्रम गरी ७ वटा प्रस्ताव पेश भएका थिए । जसको प्राविधिक प्रस्ताव मूल्यांकनकै क्रममा अधिकारीले सेटिङमा ५ वटा कम्पनीलाई फेल गराई अघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशन र चाइना मेसिनरी इञ्जिनियरिङ कर्पोरेशन (सीएमसीई) लाई मात्र पास गराएका थिए । प्राविधिक प्रस्तावमा पास गरिएका दुवै कम्पनी चाइना रेलवे इन्जीनीयरिङ कम्पनीकै सहायक कम्पनी हुन् ।
एउटै कम्पनी अन्तर्गतका दुई सहायक कम्पनीको प्राविधिक प्रस्ताव पास गरी आर्थिक प्रस्ताव माग गरिएको थियो, जसमा दुवैले मिलेर प्रस्ताव हालेका थिए । चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई कम दरमा प्रस्ताव गरेको देखाएर प्रदीप अधिकारीको सेटिङमा ठेक्का दिइएको थियो । यी दुवै कम्पनीको एजेन्ट यति ग्रुप हो । जसले २ बर्षसम्म २० प्रतिशत पनि काम गरेको छैन । दुई कम्पनीबाहेक अरुलाई प्राविधिक प्रस्तावमा पास हुन दिएको भए ट्याक्सी वेको निर्माण २ अर्ब कम मूल्यमा हुनेथियो । तर प्रदीप अधिकारीले यतिसँग सेटिङ गरी राज्यलाई २ अर्ब नोक्सान पार्ने काम गरेका थिए ।
सात वटा कम्पनीमध्ये ५ वटालाई प्राविधिक रुपमा अयोग्य ठह¥याउने क्रममा नारायणगढ–बुटवल सडक निर्माण गर्ने चीनको प्रख्यात कम्पनी स्टेट कन्ष्ट्रक्सन इन्जीनीयरीङ कर्पोरेसनलाई समेत अयोग्य ठहर्याई प्रतिस्पर्धा नै सीमित गरी सेटिङको कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई ठेक्का दिइएको थियो, जसको नेपाली एजेन्ट यति समूह नै हो । यति समूह एजेन्ट रहेको चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनले परियोजनाको काम २० प्रतिशत पनि गरेको छैन ।
नारायणगढ–बुटवल सडक खण्डको निर्माण गरेको स्टेट कन्ष्ट्रक्सन इन्जीनीयरीङ कर्पोरेसनले आफ्नो कम्पनीलाई कुनै कारणविना नै नियतबस प्राविधिक प्रस्तावमा अयोग्य ठहर गरिएको उजुरी हवाई यातायात क्षमता अभिबृद्धि आयोजना, नागरिक उड्डयन प्राधिकरण, संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि दियो । एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन(एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि भएको ठेक्कामा अनियमितता भएको उजुरीमा पर्यटन मन्त्रालयले समेत छानबिन नगरी गुपचुप राख्ने काम गरेको थियो ।
पोखरा र भैरहवामा पनि करोडौं भ्रष्टाचार
प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा पनि चाइनीज ठेकेदारसँग सेटिङ गरी लागत दोब्बर बढाएर करोडांै लाभ लिएको आरोप छ । पोखराको विमानस्थलको लागत दोब्बर बढाएर ठेक्का लिएको चाइनीज कम्पनीले सिंचाईको लागि कुलोको समेत ब्यवस्थापन नगरेको स्थानीयको गुनासोपछि पर्यटन मन्त्री प्रेम आलेले चिनियाँ ठेकेदारलाई बोलाएर कुलोको पानी एयरपोर्टमा नआउनेगरी ब्यवस्थापन नगरेसम्म भुक्तानी नगर्न प्राधिकरणका अधिकारीलाई निर्देशन दिनुपरेको थियो । मन्त्री आले २०७८ मंसिर १७ गते पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निरीक्षण गर्न जाँदा चिनियाँ ठेकेदार कम्पनी सीएएमसका प्रतिनिधि नै नआएपछि उनले सोधीखोजी गरेका थिए ।
मन्त्री आलेले विमानस्थल निर्माणमा लापरबाही गरेको देखिएपछि ठेकेदारका प्रतिनिधिको खोजी गरेका थिए । तर ठेकेदारलाई खोजी गर्दा पनि उपस्थित नभएपछि उनले विमानस्थलमा सिंचाईका लागि खनिएको कुलोबाट पानी विमानस्थलमा नआउनेगरी स्थायी संरचना नबनाएसम्म भुक्तानी नदिन निर्देशन दिएका थिए । पोखरा विमानस्थल चीनको एक्जिम ब्याङ्कको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपियाँको निर्माण भएको हो । जबकि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत पहिलो चरणको ९ अर्ब र दोस्रो चरणमा १० अर्ब खर्च हुने अनुमान गरिएको छ । पोखरादेखि भैरहवा विमानस्थलको ठेक्का प्रक्रियादेखि लाइटिङ र माटो पुर्ने लगायतका हरेक काममा प्रदीप अधिकारीले करोडौंको भ्रष्टाचार गरेका थिए ।
दरबन्दी एउटा पदमा, हालीमुहाली प्राधिकरणका अरबौंका आयोजनामा
प्रदीप अधिकारी १० औं तहबाट ११ औं तहमा जुन दरबन्दीमा बढुवा भएका हुन् त्यो दरबन्दीअनुसारको जिम्मेवारी उनलाई दिइएको थिएन । उनी ११ औं तहमा बढुवा हुँदा एरोड्रोम सेफ्टी ट्यान्डर्ड डिपार्टमेन्टको पदमा भएका हुन् । जसको काम रेगुलेसन र अडिट हो । तर उनलाई राष्ट्रिय गौरबका(निजगढ, भैरहवा र पोखरा) विमानस्थल आयोजनाको प्रमुखको जिम्मेवारी दिइएको थियो । प्राधिकरणका डीजी, मन्त्रालय होइन, घुसको पैसाले अधिकारीले देश नै नचाउने हैसियत बनाएको चर्चा अहिले ६ जना बरिष्ठलाई उछिनेर डीजी भएपछि पुष्टि भएको छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend