Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधवनारायणको परदेश यात्रा: शेषनारायणमा दर्शन


    बुधबार, माघ १९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । साँखु शालिनदीस्थित माधवनारायणको एक महिने व्रत गरिरहेका व्रतालुले तीर्थयात्राका क्रममा दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा पूजा आराधना गरेका छन् ।

    एक महिने व्रतमा बसेका व्रतालुले शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी शेषनारायण मन्दिरमा पूजा एवं दर्शन गरेका हुन् ।

    शेषनारायण मन्दिरमा पूजाका लागि व्रतालु मंगलबार साँझ शेषनारायण मन्दिर क्षेत्रमा आएर बास बसेका थिए । बिहान मन्दिर मुनिको पोखरीमा स्नान गरी शेषनारायणको पूजा आराधनासहित दर्शन गरेको व्रतालुसँगै रहेका लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए ।

    शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन सकेर व्रतालुले फर्पिङ बजार परिक्रमा गरेका छन् । फर्पिङबाट व्रतालु पैदल बुङमती हुँदै शंखमूलमा आएर भोजन गर्ने कार्यक्रम छ । भोजन सकेर पैदलै आज बेलुका साँखु पुगेर बास बस्ने गर्छन् । आज बेलुकी साँखु पुगेसँगै व्रतालुले पहिलो चरणको तीर्थयात्रा समापन गर्छन् ।

    एक महिने व्रतमा रहेका माधवनारायणका व्रतालुले माघ शुक्ल प्रतिपदाका दिन शेषनारायणमा स्नानसहित पूजा आराधना गर्ने प्राचीन परम्परा छ ।

    माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका व्रतालुले तीर्थयात्रा शुरु गरेका हुन् । माघ कृष्ण चतुर्दशीका दिन सोमबार बिहान साँखुबाट बज्रयोगिनी माईको दर्शन गरी साँखुमा आएर व्रतालुले भोजन गरेका थिए ।

    भोजनपछि पैदल हिँडेर व्रतालु सोमबार बेलुकी पशुपति क्षेत्रमा आइपुगेका थिए । कोरोनाको तेस्रो लहर फैलिरहेकाले पशुपतिनाथमा स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको व्रत विधि पूरा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र भएपछि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर माधवनारायणका व्रतालुको दर्शन विधि पूरा गर्न भने खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । प्रत्येक वर्ष माघ कृष्ण औंसीमा हुने पर्व पूजा भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी माधवनारायणका व्रतालुलाई पशुपतिनाथ मूल मन्दिरमा दर्शन गराइएको थियो ।

    माघ २१ देखि दोस्रो चरणको तीर्थयात्रा

    माधवनारायणको व्रत बसेका व्रतालुले दोस्रो चरणको तीर्थ यात्रा माघ २१ गतेदेखि गर्नेछन् ।

    २१ गते साँखुबाट पनौती गएर बास बस्ने छन् । माघ २२ गते बिहान त्रिवेणीघाटमा स्नान गरी त्यहाँको इन्द्रेश्वरलगायत मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम रहेको छ ।

    २२ गते दिउँसोको भोजन बनेपामा गरी साँखु आएर बास बस्ने समितिले जनाएको छ । पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ ।

    तेस्रो चरणको तीर्थ यात्राका लागि व्रतालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन् । द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ ।

    माधवनारायणका व्रतालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा गुल्टँदै सहस्रधाराको जलबाट स्नान गर्छन् । यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुले शालिनदी किनारमा बसेर खिर खाने परम्परा छ ।

    पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालिनदीमा यस वर्ष १०६ जना महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् ।

    माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकांक्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।

    सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र स्वस्थानीको व्रत बस्ने परम्परा शुरु भएको विश्वास गरिन्छ ।

    माघ शुक्ल पूर्णिमाका दिन व्रतालुले व्रत समापन गर्छन् । समापनको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालिनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिहरहेका प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार