काठमाडौं । ऐन र कानूनलाई आफुखुशी जसरी पनि ब्याख्या गर्न सकिने संसारको एक मुलुक नेपाल हो कि भन्ने आम मानिसलाई लाग्न सक्छ । किनकि कानून परिपालना गर्नेहरु नै कानून मान्दैनन् । मालपोतको प्रमुख भएर गैरकानुनी रुपमा छुट जग्गा दर्ता गरी २० औं करोड घुस खाएर मात्र नपुगी एक सरकारी अधिकृतले अवकाश भएपछि पनि पदमै बसेको खुलेको छ । मालपोत प्रमुख भइरहनका लागि अवकाशपछि पनि ढाँटेर यस्तो हर्कत गर्ने पछिल्ला प्रतिनिधि पात्र हुन् मालपोत कार्यालय चावहिल काठमाडौंका निवर्तमान प्रमुख कलकबहादुर खड्का ।
मालपोतको प्रमुख हुँदा उनले सरकारी जग्गादेखि छुट जग्गा र विवादित जग्गा दर्ता गरी करोडौं घुस खाएर पनि नपुगी खड्काले शैक्षिक प्रमाणपत्रमा लेखिएको समय भन्दा सात महिना बढी पदमा कार्यरत रहेको खुलेको छ । उनी अवकाशपछि पनि कार्यालयको प्रमुख भएर काम गरेको पुष्टि भएको छ । सात महिनासम्म उनले गरेका कामहरुको बारेमा के हुने ? अवकाशपछि पनि ढाँटेर कार्यालय प्रमुख भई श्रेस्तापूर्जादेखि विभिन्न निर्णय गर्ने खड्कामाथि अख्तियारले कारबाहीको प्रक्रिया सुरु गरेको छैन । तलव फिर्ता गरेर उन्मुक्ति पाउने दाउमा खड्का छन् ।
सात महिनापछि उनले लिएको बढी तलब फिर्ता गरेको भन्दै आममाफी दिइएको छ । सामान्य मानिसले भ्रष्टाचार गरेको रकम फिर्ता गर्दा कानूनले के भन्छ ? तर, कार्यालय प्रमुख खड्काको सात खत भने महानिर्देशक र कितावखानाका हाकिमले माफी दिएका छन् ।
खड्काको नागरिकता र शैक्षिक प्रमाण पत्रको उमेर फरक परेका कारण २०७८ साल वैशाखमा नै ५८ वर्ष भएर सेवानिवृत हुनुपर्नेमा २०७८ साल कार्तिकसम्म नै मालपोत कार्यालय चावहिलको कार्यालय प्रमुख भएर बसेका थिए । यो अवधिमा उनले धेरै निर्णयहरु गरेका छन् । उनी सात महिना भन्दा बढी समय प्रमुख भई गुपचुप नै बसे । उनलाई उक्त समयमा आर्थिक लाभ पाइरहेका विभागका महानिर्देशक र कर्मचारी कितावखानाबाट कुनै ताकेता आएन र किनकि खड्का सेटिङ मिलाउने काममा एक नम्बरका मानिन्थे । यही सेटिङका कारण अहिले सात महिनाको तलब फिर्ता गरेर उनी आफ्नो पेन्सन पट्टा बनाएका छन् । घुस रकम फिर्ता गरेपछि कारबाही हुन्छ कि हुँदैन ?
अवकास अवधिपछि सात महिना प्रमुख नै भएर बिताएका खड्काले पनि तलब मात्रै फिर्ता गरेका छन् । यो अवधिमा उनले गरेका निर्णयहरु रद्द गरिनुपर्ने एक कानूनविद्ले बताए । तर, उनलाई मात्रै सातखत किन माफी भएको छ ?
केही वर्षअघि चावहिलको एक जग्गामा कित्ता नम्बर ३०० बनाएर जग्गा बिनाको नक्कली जग्गाधनी प्रमाणपत्र बनाएका थिए । नापीले गर्नुपर्ने कित्ताकाट गरी जग्गा धनी पुर्जा बनाइएको थियो । यसरी पैसा भनेपछि हाकिम खड्काको ‘महादेवको तीन नेत्र’ नै मानिथ्यो । हाकिम खड्कासँग मिलेर भूमाफिया चन्द्र खत्रीले जग्गा नै नभएको ठाउँमा चावहिलको एक जनालाई बेचेर करोडौं रुपैया जम्मा गरेका छन् ।
चावहिल मालपोतमा बसेर करोडौं रुपैयाँ घुुस जम्मा गरेका कारण पटक पटक अख्तियारको फन्दामा परेका लक्ष्मण बस्नेतको मिलेमतोमा यो काम गरिएको थियो । वस्नेतकै योजनामा श्रेस्तामा जग्गा नै नभएको अवस्थामा नक्कली पुर्जा बनाएर ठगी गरिएको थियो । डिल्लीबजार मालपोतका नायव सुब्बा लक्ष्मण भट्टराई जस्तै चावहिलमा गैरकानूनी धन्दा सञ्चालन गरी करोडौंपति खरिदार बस्नेतले श्रेस्ता हेरफेर गरी फोटो परिवर्तन गर्ने काममा विद्याबारिधी नै गरेका थिए । खरिदार बस्नेत मालपोत कार्यालय चावहिलमा कलक खड्का प्रमुख रहँदा कम राजश्व राखी (पूँजीगत लाभकरछली) जग्गा पास गरिदिने र राजश्व कम गरेबापत मिलेर रकम बाँडचुड गर्ने धन्दामा पनि पोख्त मानिन्थे ।
चावहिल मालपोतमा महालेखा परीक्षकको कार्यालयबाट औंल्याएका प्रतिवेदन अनुसार करोडौं बेरुजु आएको छ । बेरुजु आए पनि कार्यालय प्रमुख खड्का भने सात महिना जति नै उमेर हदपछि पनि जागिरमै बसेका थिए । कार्यालय प्रमुख खड्काले सेवाग्राहीसँगको मिलेमतोमा लाभकरछली जस्ता काममा सधै लागिरहेँ । तर, महालेखाको प्रतिवेदनमा भ्रष्टाचार गरिएको प्रष्ट औल्याएपछि उनको होस हवास नै उडेको थियो ।
मालपोत प्रमुख खड्काले चावहिल मालपोतमा प्रमुख हुँदा छ्ुट जग्गा दर्ताबाट मात्रै ३० करोड रुपैया भन्दा बढी घुस जम्मा गरेका छन् । उनले अकूत सम्पत्ति आर्जन गरेकोमा छानबिन हुने भयका कारण उक्त घरजग्गा आफन्तको नाममा राखेका छन् । केही रकम चाहिँ उनले आफन्तका नाममा हुण्डीमार्फत् विदेशमा पठाएका छन् ।
अनिवार्य अवकासपछि पनि सात महिना बढी जागिर खानुभएछ नि भन्ने प्रश्न गर्दा उनले भने ‘मलाई कर्मचारी कितावखानाले जानकारी नै दिएन’ । अर्धन्यायायिक संस्था मालपोत कार्यालयमा अवकास भइसकेका खड्काले कार्यालय प्रमुखको हैसियतमा गरेका निर्णयहरु बदर हुनुपर्ने माग उठिरहेको छ । अवकास अवधिपछि पनि किन जागिर खाए ? भन्ने प्रश्नमा मालपोत कार्यालय चावहिलका प्रमुख हिमालय जीबी उपाध्यायले पनि खड्काको गल्ती भएको स्वकिार गरे ।
उमेर ढाँटेर ७ महिना जागिर खानुभएछ, आफ्नो उमेर आफैंलाई थाहा नहुने पनि हुन्छ भन्ने प्रश्नमा कलकबहादुर खड्काले भने–कारबाही गर्ने निकायले गरेर देखाउन न त भनी चुनौती दिएका छन् ।
६ आना गुठीको जग्गा व्यक्तिका नाममा
चावहिल मालपोत कार्यालयका प्रमुख कलकबहादुर खड्काले चीनमा विद्यार्थी पठाउने कन्सलटेन्सी ब्यवसायी रमेश आचार्यलाई ६ आना गुठीको जग्गा घुसाएर हालसाबिक गरिलिएका छन् । त्यसमा उनले आनाको ५ लाखको दरले घुस लिएको आरोप छ । आचार्यको जग्गा हालसाविक गर्ने क्रममा उनको जग्गामा ६ आना गुठीको जग्गा घुसाइएको छ ।
उक्त गुठीको जग्गा नकटाई हालसाविक गरिएको छ । नापी कार्यालयले गुठीको जग्गा घुसाएर हालसाविक गर्न अस्वीकार गरेपछि कलक खड्काले तत्कालीन भूमि ब्यवस्था सचिव टेकनारायण पाण्डेमार्फत् नापीका सर्वेक्षक महेन्द्र कुँवरलाई विभागमा तानेर आचार्यलाई साविकभन्दा ६ आना बढी गुठीको जग्गा हालेर हालसाविक गराएका थिए । साविक नक्साभन्दा अन्य व्यक्तिको जग्गामा गुठीको जग्गा देखाउन लगाई आचार्यको जग्गा हालसाविक गर्न दबाब दिएका थिए । नापी कार्यालयले गुठीको जग्गा रमेश आचार्यको नाममा नापी गर्न नमिल्ने जवाफ दिएपछि सचिव पाण्डेले मालपोतका प्रमुख कलक खड्काबाट पुर्जा दिलाएको पनि जानकारी हुन आएको छ ।
गुठीको जग्गा ६ आनासमेत गरी १५ आना जग्गा रमेश आचार्यको नाममा दर्ता गरी पुर्जा दिइएको छ । कलक खड्काले मालपोत कार्यालय चावहिलको प्रमुख भएको समयमा गुठीको जग्गा कानुन बिपरीत ब्यक्तिको नाममा गर्नेमात्र होइन, साविकमा बाटो जनाइएका जग्गाहरू पनि हालसाविक गर्दै बाटो नै गायब पारेर पुर्जा दिने काम पनि उनले गरेका छन् । अख्तियारले छानबिन गर्ने हो भने बाटाहरु गायब पारी पूर्जा दिएको फेलापर्नेछ । चावहिल मालपोतका प्रमुख कलक खड्का र मुद्दा फाँटका खरिदार लक्ष्मण बस्नेत गैरकानूनीरुपमा जग्गा दर्ता गरेको स्रोत बताउँछ ।
तलव फिर्ता गरेको भौचर

आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend