काठमाडौँ । करोडौं राजश्व छली गर्दै भारतबाट नक्कली मदिरा आयात गर्ने ठूलो गिरोहलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा पर्सा गादी-८ घर भइ काठमाडौँ कपन बस्ने ३९ बर्षीय सन्तोषचन्द्र बख्रेल, काठमाडौं कागेश्वरी-६ का ३० बर्षीय शैलेन्द्र पन्त, पर्सा सुवर्णपुर-५ घर भइ काठमाडौँ हाँडीगाउँ बस्ने २८ बर्षिय रवीन पाख्रिन र सर्लाही वरहथवा-०९ घर भइ चाबहिल बस्ने ३८ बर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।
काठमाडौंको रामकोट, बानेश्वर र कपन क्षेत्रबाट रेड लेबल, चिभास र अस्सुलुट भोड्का गरि एक करोड ५० लाख रुपैयाँ बराबर बजार मूल्य रहेकाे २९६ कार्टुन मदिरा बरामद गरिएको महाशाखाले जानकारी दिएकाे छ ।
भारतीय र नेपाली नागरिकको मिलेमतोमा सो मदिराहरू भारतबाट नेपाल भित्र्याउने गरेको अनुसन्धानमा खुलेको महाशाखाको भनाइ छ ।
महाशाखाले बरामद गरिएको मदिराको गुणस्तर परीक्षणका लागि पठाएको र चारै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।