काठमाडौं । निजामती कर्मचारीको राष्ट्रिय भेलाले एकीकृत सरकारी कर्मचारी संगठन गठन गरेको छ । संगठनको शनिबार सम्पन्न राष्ट्रिय भेलाले मोहनकुमार घिमिरेको संयोजकत्वमा १५१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ । कर्मचारीको भेला तथा संगठन पुनर्गठन कार्यक्रमले घिमिरेलाई संयोजकमा चयन गरेको हो ।
भेलाका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल हुनुहुन्थ्यो । भेलाले घिमिरेको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरी ३५ सदस्यीय सचिवालय बनाएको छ ।
कोरोना महामारीका कारण जुमका माध्यमबाट भेला गरिएको संगठनले जनाएको छ । जुममार्फत् १२ सय कर्मचारी सहभागी भएको जनाइएको छ । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल नेकपा समाजवादी निकट हो । यसअघि निजामती कर्मचारी संगठनको बहुमत हिस्सा एकीकृत सरकारी कर्मचारी संगठनमा समाहित भएको छ ।
मोहनकुमार घिमिरे यसअघि एमाले निकट निजामती कर्मचारी संगठनका अध्यक्ष थिए ।