काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले आफू बस्दैआएको बसुन्धरा चक्रपथभित्रको सुन्दरनगरस्थित अढाइ तले बंगला बिक्रीमा राखेका छन् । ७ आना १ पैसा क्षेत्रफलमा निर्मित बंगला उनले एक रियल स्टेट कम्पनीमार्फत् बिक्रीमा राखेका छन् । नेपालभूमि रियलस्टेट एजेन्सीमार्फत् उनले आफ्नो बंगलो बिक्रीमा राखेका हुन् ।
बंगलोको मूल्य खनालले ६ करोड ७० लाख रुपैयाँ राखेका छन् । नेपालभूमि रियलस्टेटको बिज्ञापनमा उल्लेख छ–‘नेशनल कार्डियक सेन्टर नजिकै २.५ तले आवासीय सुविधायुक्त ५ बेडरुम, हल किचन भएको घर बिक्रीमा । मूल्य रु. ६ करोड ७० लाख ।’
नेपालभूमि रियल स्टेटले खनालको घरको मूल्य ६ करोड ७० लाख रुपैयाँ राखे पनि त्यसमा नेगोसिएसन अर्थात् घट्न पनि सकिने उल्लेख गरेको छ ।
खनालले उक्त घर किन बिक्री गर्न लागेका हुन् त्यो भने उनका निकटस्थहरुलाई समेत खुलाएका छैनन् । उनी त्यो घर बिक्री गरी दीपक कुँवरको ग्रान्डी अपार्टमेन्टमा बस्ने तयारीमा रहेका छन् ।
नारायणीको एसएसपी हुँदा कुख्यात अपराधी बब्लु दुवेलाई काठमाडौंको सितापाइलाबाट पक्राउ गरी भारतमा बुझाउने क्रममा उनीसँग रहेको ६० लाख भारतीय रुपैयाँ गायब बनाएकोदेखि अपराध महाशाखाको प्रमुख हुँदा रघु पुरी लगायतका केही म्यानपावर ब्यवसायीलाई मानव बेचबिखनको झुटो आरोपमा पक्राउ गरी अरु सयौं म्यानपावरलाई तर्साएर कुस्त असुली गरेको आरोप खनालमाथि लाग्दैआएको छ । खनालले आइजीपी भएपछि प्रबन्धमा केशवप्रसाद गौतमलाई राखी सेटिङमा बन्दोबस्तीका सामान खरिद गरेको आरोप लाग्ने गरेको छ ।
खनालले ३० वटा स्कर्टिङसम्बन्धि मोटरसाइकल प्रष्ट कानून मिचेर खरिद गरेका थिए । खरिद कानुन मिचेर खरिद गरिएका ती मोटरसाइकलको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । ३० वटा मोटरसाइकल खरिदमा मात्र करिब डेढ करोड कमिसनको खेल भएको थियो । छानबिनमा गम्भीर देखिएपछि मुद्दा नै चलाउनुपर्ने निष्कर्ष अख्तियारका अनुसन्धान अधिकृतको थियो ।
खनाल महानिरीक्षक हुँदा गृहसचिव रहेका प्रेमकुमार राई अख्तियार पुगेपछि उनको उजुरी तामेलीमा हालिदिएका छन् । मोटरसाइकल खरिदको उजुरी तामेलीमा हाले पनि अकूत सम्पत्तिमा छानबिन हुनसक्ने भएकाले उनले घर बिक्री गरेको अनुमान पनि गरिएको छ । खनालले चितवनको भरतपुरमा केही समयअघि घर बनाएका छन् । उनले आइजीपी भएपछि ग्रान्डी अस्पताल नजिक जग्गा किनेका छन् भने आफ्ना सहपाठी सुबुप्रताप केसीसँग मिलेर बसुन्धरा बैंक्वेट पनि खोलेका छन् ।
आइजीपीको कार्यकालको अन्तिम समयमा भने सुबु केसीसँग उनको सेयरदेखि सम्पत्तिको विवाद भएको बिषय पनि सार्वजनिक भएको थियो । सुबु केसीलाई खनालले नै आइजीपी भएपछि अमेरिकाबाट नेपालमा बोलाएका थिए । होटल मनाङमा पनि देवेन गिरीमार्फत् खनालको लगानी भएको चर्चा हुने गरेको छ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा मनाङ होटलका संचालक भुजुङ गुरुङलाई पक्राउ गरिसकेपछि उनलाई थप त्रसित पारी मनाङ होटल देवेन गिरीले खनालको मद्दतले नै हडप्न सफल भएका थिए ।
दीपक कुँवरका परियोजनामा समेत खनालले भ्रष्टाचारको पैसा लगानी गरेको स्रोत बताउँछ । कुमार घैंटेको इन्काउन्टर पनि दीपक कुँवरकै योजनामा गरिएको चर्चा त्यतिबेला हुने गरेको थियो । कुँवरले घैंटेको करोडौं रकम चलाएका थिए । त्यही भएकाले उनलाई इन्काउन्टर गर्नमा यो पक्षले पनि काम गरेको थियो कि भन्ने आशंका गर्नेहरुलाई बल पुगेको छ ।
महेश बस्नेतमार्फत् एमालेमा प्रवेश गरी राजनीतिमा लाग्ने भन्दैआएका खनालले दुर्गा प्रसाईजस्तै केन्द्रीय सदस्यको अपेक्षा गरेका थिए । तर एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईलाई पत्याए पनि खनाललाई नपत्याएपछि उनी किंकर्तब्यबिमुढ भएका छन् । अभियन्ता दाबी गर्दैआएका ज्ञानेन्द्र शाहीसँग लागेका खनालले त्यो अभियानबाट पनि चर्चामा आउन नसकेपछि अहिले चुपचाप छन् । खनाल एमालेमा प्रवेश गरी बाराबाट चुनाव लड्ने सपना देखिरहेका थिए । तर एमालेले हरियो झन्डा नदेखाएपछि उनी अहिले साना साना कार्यक्रममा जाने र सुशासनको उपदेश दिन तल्लीन छन् ।
आफैं पदको दुरुपयोग गरी अकूत सम्पत्ति जोडेका खनालले सुशासनको कुरा गर्नुलाई हिन्दी उखान ‘सौ चुहे खाके बिल्ली चली हजको’ लाई चरितार्थ गरेको छ । त्यसो त खनालसहित महेश बस्नेत र हालका श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)माथि जसपाका सांसद डा. सुरेन्द्र यादवलाई २०७६ बैशाखमा जनकपुरबाट ‘अपहरण’ गरी काठमाडौंमा ल्याएको आरोप पनि लागेकै हो ।
तस्वीर साभारः नेपालभूमि रियल स्टेट एजेन्सीको बेबसाइट