काठमाडौं । खाडी मुलुक यूएई लगायतका देशमा दलालहरुले रोजगारीका लागि भिजिट भिसामा हजारौं नेपालीलाई पठाएको र उनीहरु काम नपाएर दुवई, अवुधावी लगायतका शहरमा अलपत्र परेको सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत ५ कर्मचारीलाई तानिएको छ ।
अध्यागमन विभागले भिजिट भिसामा कामदार यूएईमा पठाउने दलाल गिरोहका कोमलराज उपाध्याय लगायतसँग कनेक्सन देखिएका अध्यागमन अधिकृतहरु नइन्द्र पौडेल, अच्यूत केसी, अविलाल राई, पुष्पराज शर्मा र रामप्रसाद ओली र कम्प्युटर अप्रेटर सन्तोषजंग शाहलाई तानेको छ । उनीहरुको मोवाइल जफत गरी अनुसन्धान गर्दा भिजिट भिसामा नेपाली युवाहरुलाई पठाउने गिरोहसँग कनेक्सन देखिएकाले तानिएको विभागका अधिकारीले बताए ।
अध्यागमन अधिकृत अच्यूत केसी २ महिनाअघि एयरपोर्ट अध्यागमन कार्यालयमा काजसरुवा भएका थिए । विभागले उनको काजफिर्ता गरेको छ । नइन्द्र पौडेललाई गृहमन्त्रालयमा तानिएको छ । अविलाल राईलाई जिल्ला प्रशासन कार्यालय सप्तरीमा पठाइएको छ । पुष्पराज शर्मालाई इलाका प्रशासन कार्यालय माडी चितवन, रामप्रसाद ओलीलाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ ।
यी पाँचै जना अध्यागमन अधिकृतको भिजिट भिसामा दुवई पठाउने त्रिनेत्र म्यानेजमेन्ट कन्सलटेन्सीका संचालक कोमलराज उपाध्याय र उनकी श्रीमती रन्जना ढकाल प्याकुरेलसँग कनेक्सन देखिएकाले स्पष्टीकरण लिने र कारबाहीको प्रक्रिया अगाडि बढाउने विभागका अधिकारीले बताएका छन् ।
गृहमन्त्रालयले भिजिट भिसामा ४० हजार भन्दा बढी नेपाली यु्वाहरुलाई यूएई लगायतका देशमा पठाएको र त्यहाँ उनीहरुले रोजगारी नपाई अलपत्र परेको बिषय मिडियाहरुमा आएपछि गृहमन्त्रालय गम्भीर भएको छ । गृहमन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ । गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा शुक्रबार पनि अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा अनुगमन गरेको छ ।
गृह प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले मार्सल टिम खटाइएको पुष्टि गरे । भिजिट भिसाका नाममा असुलेको पैसा बैंकमा जम्मा गरेको हुन सक्ने शंकामा छानबिनका लागि राष्ट्र्र बैंकको सहयोग मागिएको उनको भनाई छ ।
यसअघि अध्यागमनका कर्मचारीकै सेटिङमा गिरोहले भिजिट भिसामार्फत् मानव तस्करी गर्ने गरेको खुलेपछि मंगलबार विस्तृत अध्ययन गर्न गृह मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेलको सयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको थियो ।
अध्यागमनमा सेटिङ्गै सेटिङ
अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलबाट विगत ५ महिनायता दैनिक सयौं नेपाली युवाहरु भिजिट भिसामा यूएई लगायतका खाडी मुलुकमा बैदेशिक रोजगारीमा जाने गरेका थिए । यो क्रम २०७८ माघ पहिलो सातासम्म जारी रह्यो । अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीको सेटिङमा पुरुषमात्र होइन, महिलासमेत भिजिट भिसामा खाडी मुलुकमा बैदेशिक रोजगारीमा निर्वाध रुपमा गए । माघ पहिलो सातासम्म दैनिक १ सयदेखि २ सयसम्म महिला पुरुष भिजिट भिसामा यूएई लगायतका मुलुकमा जाने गरेका थिए । भिजिट भिसामा मानवतस्करी गर्ने समूहले अध्यागमनका कर्मचारीलाई दररेट अनुसार घुस बुझाउने गरेका थिए । अध्यागमनका कर्मचारीले एक महिलाबराबर ५० हजार र पुरुषसँग २५ हजार घुस लिएर भिजिट भिसामा पठाउने गरेका थिए ।
महिला बेचबिखन रोक्न सरकार र गैरसरकारी संस्थाहरुले सीमानाकामा कडाई गर्दैआएका छन् । तर अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिनमा सयौं महिला अरब राष्ट्रमा बिक्री भइरहेको बिषय मिडियामा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा निगरानी बढायो । महिलालाई खाडी राष्ट्रमा पठाउँदा यौनहिंसाको शिकार भई कतिपय त गर्भवती भएर फर्किने क्रम बढेपछि २०६८ मा सरकारले बैदेशिक रोजगारीमा हाउसमेडका रुपमा पठाउन रोक लगाएको थियो । तर दलाल र अध्यागमनका कर्मचारीको सेटिङमा दैनिक पचासौं महिला भिजिट भिसामा गएका छन् । कुनै कुनै दिन त यूएई जाने प्रायः सबै विमान भिजिट भिसामा बैदेशिक रोजगारीमा जाने नेपाली महिला र पुरुषले नै भरिने गरेको विमानस्थल कार्र्यालय प्रहरी स्रोतले बताएको छ । भिजिट भिसामा जानेहरुको रोजगारीको ग्यारेन्टी नहुने भएकाले दलालहरुको फन्दामा परी यूएई गएका हजारौं नेपाली अहिले दुवईमा अलपत्र परेका छन् । भिजिट भिसामा विगत ६ महिनामा पुरुष र महिला गरी ४० हजार त यूएईमात्रै पुगेका छन् ।
अध्यागमनमा कोरोनाकालमा भिजिट भिसामा मानवतस्करी मौलाएको थियो । विगत भदौदेखि त दलालहरुले अध्यागमन सेटिङ गरी मानवतस्करी गर्ने क्रम बढेको छ ।