बीरगंज । नेपाल प्रहरीका मधेस प्रदेशका डिआइजी उमेश रन्जितकारले जिम्मेवारी सम्हालेयता भए गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । उनले आफ्नो उपलब्धी सार्वजनिक गरिरहँँदा मातहतका प्रहरीको असुली धन्दा रोक्नेतर्फ भने चासो नदिएको आरोप भने लागि नै रहेको छ ।
बिशेषगरी बारा र पर्साका जुनियर अधिकृत इन्चार्ज हुने धेरै इलाका प्रहरी कार्यालयहरूमा यस्तो असुली धन्दा चलिरहेको छ । जिल्लाका इन्चार्जलाई टेण्डर हालेर जाने अनि मासिक रकम पनि बुझाउनुपर्ने भन्दै धेरै असई र सईले आफ्नो असुली धन्दा मच्चाएर व्यवसायी र उद्योगपतिहरूलाई आजित पारेका छन् ।
इलाका प्रहरी कार्यालय परवानीपुरका सई सुरेशनारायण साहले धेरै व्यवसायी र उद्योगपतिलाई विभिन्न बहानामा रकम मागेर दुःख दिने गरेका छन् । भैंसी कारोवारी अलिगद्दी र मकसुद मियाँलाई लाइन दिएर उनले मासिक दररेट तोकेर घुस लिने गरेका छन् । त्यो दररेट मासिक ३० देखि ४० हजारसम्म रहेको स्रोतको दाबी छ ।
त्यसैगरी कपडाको काम गर्ने मिठाइलाल साह, जोगा र सुरेश साहबाट पनि मोटो रकम उठाउने काम भैरहेको छ । यसबाहेक गाडीको मर्मत र इन्धनको नाममा हरेक उद्योग र कारखानाबाट १० देखि २५ हजारसम्मको दरले रकम उठाउने काम भैरहेको छ । जुन कुरा यहाँका उद्योगपति र कारखानामा गएर सोधपुछ र छानबिन गरेपनि थाहा हुने कुरा रकम दिएर आजित भएका एक व्यवसायीले दुखेसो प्रकट गरे । यसका अलावा मकवानपुरका विभिन्न ठाउँबाट लोकल रक्सी उत्पादन गरी ल्याउने १५–१६ जनाको समूह छ,उनीहरूबाट समेत मासिक रकम उठाउने काम प्रहरीले गर्दैआएको छ ।
झैझगडा र आएका उजुरीमा प्रत्येक जाहेरीबाट पीडकसँगै घुस उठाउने गरेको सेबाग्राहीहरू बताउँछन् । प्रहरी प्रधान कार्यालय वा डिआइजी कार्यालयले छानबिन गरेको खण्डमा सई सुरेशनारायण साह मात्रै होइन उनले रकम उठाउन परिचालन गरेका घुमुवालाई समेत निलम्बन गर्ने हदसम्मको कार्य भएको छ । सई साहले रकम उठाउने काम घुमुवा सिपाही लालबाबु रायलाई लगाउने गरेका छन् । लालबाबु विगत आठ महिनादेखि परवानीपुर इप्रकाको घुमुवा छन् ।