काठमाडौं, २ चैत । सरकारले देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने भएको छ । देशभरका ६ हजार ६ सय ८४ वडामा उक्त संख्यामा स्वयंसेवक परिचालित हुने बताइएको हो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका सचिवलगायत उच्च अधिकारीबीच शनिबार बसेको बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट बच्न, सेल्फ क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपाय र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्वयंसेवक परिचालन गर्न लागिएको हो ।
हरेक वडामा कम्तीमा ५ जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्न राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ ।
समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा र स्वाथ्य मन्त्रालयका रेशमराज पोखरेल सदस्य रहनुभएको छ ।
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेवीको समेत सहयोगमा स्वयंसेवक परिचालन गर्न लागिएको हो । अधिकांश ठूला स्थानीय तहमा स्वास्थ्य स्वयंसेविका र समिति छन् । आजको समाचारपत्र दैनिकमा उल्लेख छ, समितिले देशैभरका अस्पताल, नर्सिङहोम, मेडिकल कलेजका विद्यार्थी, सीटीईभीटीअन्तर्गत नर्सिङ क्याम्पसका सञ्चालकसँग छलफल शुरू गर्ने भएकोे छ ।
समितिका संयोजक प्राडा गिरीले आज आइतबारबाट छलफल शुरू गर्ने जानकारी दिँदै भन्नुभयो– ‘सबै वडामा स्वयंसेवक परिचालन गर्ने गरी स्थानीय तहमा समिति गठन गर्नेछौं । सकभर यसैसाता परिचालन गर्ने निर्णय गर्नेछांै ।’ टोलीमा चिकित्सकको समेत सहभागिता रहने उहाँको भनाइ छ ।
सो टोलीले सेल्फ क्वारेन्टाइनमा बसेकालाई उपचार प्रविधि सिकाउने र तत्काल अस्पताल लैजानेसम्मको व्यवस्था गर्नेछ ।
समितिले स्थानीय सरकारकै सहयोगमा स्वयंसेवक परिचालन गर्न लागेको हो। समितिले चिकित्सक, नर्स र स्वास्थ्यसँग सम्बन्धित जनशक्ति परिचालन गर्ने अधिकार पाएको छ ।
यदि, संक्रमण देखेपछि त्यसबाट कसरी जोगिनेलगायतका विषयमा स्थानीय तहका स्वास्थ्य स्वयंसेवीलाई टोलीले तालिम दिने व्यवस्था छ ।
समितिले सबै स्थानीय तहलाई नेपाल रेडक्रस सोसाइटी, क्लब, विभिन्न सामाजिक संघ÷संस्था, महिला समितिलगायतलाई समेत परिचालन गर्न निर्देशन दिनेछ । ‘हामीले एक वडामा ५ जना वा संक्रमण देखिए अन्य जनशक्ति परिचालन गर्नेछौं’ –संयोजक प्राडा. गिरीले भन्नुभयो ।
सरकारले कोरोनाको जोखिम सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समिति बनाएको छ । सोही समितिको निर्देशन र निर्णय पालना गर्न स्वयंसेवक परिचालन समिति गठन भएको हो ।
‘उहिल्यै बन्द गर्नुपर्ने शिक्षण संस्था हालसम्म सञ्चालन गरिरहेकै छ । पार्टी प्यालेस बन्द गर्न सकेको छैन । हाल दैनिकजसो प्यार्टी प्यालेसमा भोज चलिरहेकै छ । तर, पहिलो चरणमा स्वयंसेवक परिचालन गर्ने निर्णयले जनतामा केही आस पलाएको छ । सरकारले जिम्मा दिएअनुसार तत्काल स्वयंसेवक खटाउने गरी काम गर्नेछांै’ –संयोजक प्राडा. गिरीले भन्नुभयो ।