काठमाडौं, ३० फागुन ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा सरकारले जबर्जस्ती एसइई परीक्षा गर्न लागेको छ । अभिभावक महासंघ लगायत सरोकारवाला निकायले केही दिन शिक्षण संस्था बिदा दिन गरेको आग्रहलाई बेवास्ता गर्दै परीक्षा संचालन गर्न लागेको हो ।
१ हजार ९ सय २५ परीक्षा केन्द्रमा करिब ५ लाख विद्यार्थीको सहभागिता हुने परीक्षामा सरकारले संक्रमणको चरणमा पुगेको अवस्थामा कोरोना परीक्षण गर्ने तयारी बिना नै नगरी परीक्षा सञ्चालन गर्न लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा भैसकेको अवस्थामा परीक्षा गर्नैपर्ने सुझाव मन्त्रालयलाई दिएपछि चैत ६ गतेदेखि परीक्षा हुने पक्का भएको छ । बोर्डले सबै परीक्षा केन्द्रमा हेल्थडेक्स राखेर परीक्षा सञ्चालन गर्ने दाबी गरेतापनि अहिलेसम्म कुनै तयारी भएको छैन । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले हेल्थडेक्स राखेर परीक्षा दिने तयारी भैरहेको दाबी गर्नुभयो ।
तर शिक्षा विज्ञान तथाप्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सो विषयमा छलफल भैरहेको जानकारी दिनुभयो । भन्नुभयो–कोरोना संक्रमण हुनसक्ने विषयमा हामी संवेदनशील छौ, परीक्षा अघि नै केही निर्णय गर्नेछौ ।
अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले विश्वभर कोरोनको सन्त्रास बढिरहेको अवस्थामा सरकारले परीक्षा गर्ने पर्छ भनेर रटान गर्नु गलत भएको बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले केही दिन विद्यालय बन्द गर्न गरेको आग्रह समेत अटेर गरेर सरकारले परीक्षा गरेरै छाड्ने बताउँदै आएको छ ।
बोर्डका अनुसार ७७ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगेर सम्पूर्ण तयारी भैसकेको अवस्थामा परीक्षा रोक्न नहुने बताउदै आएको छ । परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागि हुनेछन् ।
परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार परीक्षामा नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिक तर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने जानकारी दिनुभयो ।
चैत १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी वागमती र कम कर्णाली प्रदेशबाट सहभागी हुँदैछन् । वागमतीबाट १ लाख ३ हजार ६ सय ६७ र गण्डकीबाट ३६ हजार ४ सय ३६ सहभागि हुँदैछन् ।
प्रदेश १ बाट ८४ हजार ५०, २ बाट ७३ हजार ९ सय ८८, गण्डकीबाट ४७ हजार ३ सय ९९ , ५ नम्बर प्रदेशबाट ८१ हजार ७ सय, र सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७९ परीक्षाथी सहभागी हुँदैछन् ।
शिक्षा ऐन अनुसार एसइई परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था थियो । संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो । पनिकाले प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र छापेको छ । गत वर्षदेखि नै यो व्यवस्था गरिएको हो ।