Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राजधानीमै घुमुवा आतंक, प्रहरी नेतृत्व मौन


    शुक्रबार, पुष २३ २०७८
    870
    Shares
  • १५ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले अपराध अनुसन्धानको लागि सूचना संकलन गर्न सादा पोशाकमा प्रहरी परिचालन गर्ने प्र्रचलन सुरु गरेको थियो । अपराध नियन्त्रण, भन्सारछली, चोरी डकैतीको बारेमा सूचना संकलन गर्ने र दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि लागि परिचालन गरिने सादा पोशाकका प्रहरीको पछिल्लो समयमा दुरुपयोग हुँदैआएको छ । सादा पोशकका प्रहरीलाई सम्बन्धित प्रहरी कार्यालयका इन्चार्जले घुस असुलीका लागि दुरुपयोग गरिरहेका छन् ।

    राजधानी काठमाडौं उपत्यकामा पचास लाख भन्दा बढी  मानिस बसोबास गर्ने भएकाले अपराधिक घटना स्वभाविक रुपले बढी हुने गर्दछन् । काठमाडौंमा अपराधिक क्रियाकलापमा विभिन्न गिरोह संलग्न छन् । अपराध नियन्त्रणका लागि खटाइने सादा पोशाकका घुमुवा प्रहरीको अपराधिक गिरोहसँग कनेक्सन रहेको विभिन्न घटनाक्रमले देखाएका छन् । यी घुमुवाले रात्रिकालीन ब्यवसायीदेखि म्यानपावर र जग्गा कारोबारीदेखि आम नागरिकलाई समेत दुःख दिएरै असुली गर्ने गरेका छन् ।  

    अपराधिक समूहसँगको कनेक्सनका कारण हुने आर्थिक फाइदा र ब्यक्तिगत सानसौकत देखाउन पाउने भएकाले सादा पोशाकका घुमुवा प्रहरीमा खटिनका लागि तीव्र प्रतिस्पर्धा हुने गरेको छ । गृहमन्त्री, सत्तारुढ दलका नेताहरुदेखि गृहका प्रशासकहरुको दबाबमा घुमुवा प्रहरी हुने होड चल्दैआएको छ । एउटै कार्यालयमा बर्षौसम्म परिचालित घुमुवा प्रहरीको संख्या पनि उल्लेख्य छ । घुस असुलीमा पारंगत भएकाले कार्यालयमा जाने हरेक इन्चार्जले पुरानैलाई घुमुवा राखी अतिरिक्त आम्दानी गर्ने गरेका छन् । कारबाहीमा परेका र सरुवा भएकाहरु पनि केही समयपछि पुनः शक्तिकेन्द्रको फेरो समाएर पुनः साविककै कार्यालयमा फर्किई घुमुवाका रुपमा खटिई हाकिम र आफ्नो लागि असुली गर्ने गरेका छन् ।

    विवादमा परेका, निलम्बनमा परेका घुमुवा फेरि पुरानै ठाउँमा

    केही प्रहरीहरु अपराधिक गिरोहसँग मिलेर कसरी फाइदा लिन्छन् भन्ने कुरा काठमाडौं प्रहरी परिसरमा कार्यरत घुमुवाको हर्कतले सहजै अन्दाज गर्न सकिन्छ । विश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालयको प्रमुख हुँदा काठमाडौं, ललितपुर र भक्तपुरका विवादित ६० घुमुवा प्रहरीलाई कारबाहीका लागि २ नम्बर गण महाराजगंजमा पठाइयो । कारबाहीका लागि गणमा पठाए पनि काठमाडौं परिसरमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) विपीन श्रेष्ठ, असई बिक्रम लामा, हलल्दार बिष्णु सापकोटा, हवल्दार धिरेन बिष्ट शक्तिकेन्द्रलाई प्रभावमा पारी कारबाहीबाट बच्न सफल भई सोही ठाउँमा थमौती भए ।

    पावर लगाएर थमौती भएकामध्ये हवल्दार बिष्ट न्यूरोडमा १० लाख लुटपाटमा जेल परे भने त्यसै समयमा कारबाहीबाट बच्न सफल जवान वीरबहादुर बस्नेत काठमाडौंबाट मकवानपुर गई हतियार देखाई हिरा लुटपाट गरेको काण्डमा आजसम्म पनि पुर्पक्षका लागि जेलमा छन् । र, श्रेष्ठसहित तीन जना प्रहरी कर्मचारीले काठमाडौं परिसरमा बसी आतंक मचाइरहेका छन् । सई बिपीन श्रेष्ठ लामो समय काठमाडौं ट्राफिक र महानगरीय बृत्त कालिमाटीमा काम गरेका कर्मचारी हुन् । विगत ५ बर्षदेखि काठमाडौं परिसरमा घुमुवाको रुपमा कार्यरत छन् ।

    असई बिक्रम लामा बलम्बु प्रहरीमा लामो समय घुमुवा बसी तराईबाट आउने तस्करीका मालसामन लोड भएका ट्रकदेखि राँगा भैसी बोकेका गाडीसँग पनि घुस असुली गर्ने गर्दथे । यसरी नुनदेखि सुनसम्म र राँगा भैसीसम्म घुस असुुली गरेको सूचना पाएपछि इन्स्पेक्टर शंकर खड्काले कारबाही गरी काठमाडौं प्रहरी परिसरमा पठाएका थिए । बलम्बुमा अनियमितता गर्ने तिनै लामा पावर लगाएर फेरि काठमाडौं परिसरमा घुमुवा भएका छन् ।

    हवल्दार बिष्णु सापकोटा लामो समय बानेश्वर बृत्त र कालिमाटीको घुमुवाका रुपमा घुस असुलीमा मुुछिएपछि कारबाहीस्वरुप काठमाडौैं परिसरमा तानिए । कारबाहीस्वरुप तानिएका उनले पनि शक्तिकेन्द्रलाई प्रभावित पारी काठमाडौं परिसरको घुमुवाका रुपमा परिचालित भए । यी तीनै जना प्रहरी कर्मचारीहरु काठमाडौं परिसरमा बिगत ५ बर्षदेखि आफ्नो सिन्डीकेट चलाई आम नागरिक र ब्यवसायीलाई आतंकित बनाई पैसा असुली गर्न ब्यस्त छन् ।

    कालिमाटी, कलंकी, बलम्बु, थानकोट क्षेत्रका विवादित र अवैध क्रियाकलाप गर्ने, गुण्डानाइके, हुन्डी र डलर कारोबारीसँग बाक्लो उठबस गर्दै आफ्नो कमाउधन्दा चलाउँदैआएका छन् । कालिमाटी, कलंकी र थानकोट क्षेत्रबाट हुने तस्करी, हुन्डी र डलर कारोबार र गुण्डागर्दीका बारेमा यी तीनैजना जानकार भएकाले त्यस्ता क्रियाकलापमा संलग्नहरुबाट नियमित घुस असुल्दैआएका छन् । सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरु तालिम प्राप्त, अनुभवी, दक्ष मात्र अपराध अनुुसन्धानमा दक्ष हुनुपर्छ । उनीहरुले आफ्नो सक्कली परिचयसमेत लुकाएर काम गर्नुपर्ने हुन्छ । तर खुलेआम हतियार बोकी सर्वसाधारणलाई डरत्रास देखाई रकम असुलीमा गर्ने गरेका घटना धेरै सार्वजनिक रुपमा आएका छन् ।  

    चेक बाउन्सका घटनामा घुमुवा, गैरकानुनी रुपमा कलडिटेल निकालिन्छ

    पछिल्लो समयमा काठमाडौं परिसरमा लेनदेनका विवाद र उजुरीमा, चेक बाउन्समा कार्यालय बाहिरै छलफल गराउने, एक पक्षलाई तर्साउने, अर्को पक्षलाई सहयोग गर्ने गरी चेक फिर्ता गराइदिने, चेक काट्न लगाउने काम पनि यी तीन घुमुवा प्रहरीले गर्दैआएका छन् । उनीहरुले बाहिरै लेनदेनको कागज गरिदिने, त्यति गर्दा पनि भएन भने अवैध रुपमा फर्जी निवेदन बनाई कल डिटेल निकाल्ने, लोकेसन हेरी आफूले लाभ लिएको पक्षमा भएका निवेदकलाई सूचना दिने पनि गर्दैआएका छन् । यी घुमुवाले लोकेसन हेरिदिएबापत आर्थिक लाभ लिने गरेका छन् । सई बिपीन श्रेष्ठ काठमाडौं परिसरको टेक्निकल फोकल पर्सन भएका कारण पनि सजिलै एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको लोकेसन, कलडिटेल सजिलै लिने गर्दछन् । जबकि अदालतको आदेश बेगर कलडिटेल निकाल्नु संविधानप्रदत्त मौलिक हककै हनन हुने आदेश सर्बोच्च अदालतले गरेको छ । तर सई बिपीन श्रेष्ठले चेक बाउन्स वा आर्थिक लेनदेनका उजुरीमा लाभ लिंदै अर्को पक्षको कलडिटेल र लोकेसन निकालेर दिने गरेका थिए । 

    बैंकसँग घुस लिंदै, सवारीसाधन जफत

    विभिन्न बैंक तथा बित्तीय संस्थाहरुबाट निकालेका सवारी साधनको किस्ता नतिर्नेहरुलाई अवैध रुपमा नियन्त्रणमा लिई किस्ता तिर्न लगाउने गर्दछन् । बैंक तथा बित्तीय संस्थाको लागि सवारी साधन जफत गरिदिने, त्यसबापत प्रतिसवारी साधन २० हजार रुपैयाँका दरले घुस लिने गरेका छन् । 
    हालैमात्र ६ महिनाभित्रमा हिमायन बैंकमा कार्यरत एक थापा थरका कर्मचारीसँग मिली २० वटा गाडी नियन्त्रणमा लिईदिएबापत विपीन श्रेष्ठसहितको यो समूहले २० हजारका दरले २ लाख घुस लिएको आरोप छ ।

    दरबन्दी अन्तै भए पनि काठमाडौंमा रजगज

    घुमुवा सई बिपीन श्रेष्ठको दरबन्दी दोलखामा छ । तर बिगत ३ बर्षदेखि उनी काठमाडौं परिसरका घुमुवा छन् । उत्तम सुवेदीदेखि अशोक सिंहका लागि पनि अवैध क्रियाकलाप गर्नेहरुसँग घुस असुल्दै बुझाएर उनी दरबन्दी अन्तै भए पनि घुमुवाका रुपमा कमाउधन्दा गर्दैआए । दरबन्दी दोलखा भएका उनी विनाकाज काठमाडौंमा तीन बर्षदेखि रजगज गर्दैआएका थिए । असई बिक्रम लामाको दरबन्दी अपराध अनुुसन्धान महाशाखामा हो । तर उनी पनि विनाकाज ४ बर्षदेखि काठमाडौं परिसरमै घुमुवाका रुपमा असुलीमै रमाइरहेका छन् ।

    सेवाग्राहीहरुलाई अनावश्यक दुःख दिएको, आर्थिक अनियमिततामा संलग्न भएको उजुरी परेपछि बिष्णु सापकोटालाई  ३ महिनाअघि महानगरीय प्रहरी कार्यालयले कारबाहीस्वरुप ललितपुर परिसरमा सरुवा गरेको थियो । तर उनी सरुवा भएको ललितपुरमा गएनन् । बरु माथिल्लो तहको पावर लगाएर काठमाडौं परिसरमै घुमुवाका रुपमै कार्यरत छन् ।  यी तीन प्रहरी कर्मचारीहरुले प्रहरी आचारसंहिता बिपरीत कलंकी क्षेत्रमा जुवा, हुन्डी, मिटरब्याजी र तस्करीमा संलग्न ब्यक्तिहरुसँग बाक्लो उठबस, खानपान गरी उनीहरुका गलत धन्दालाई साथ दिने गरेका छन् ।

    rajan bhujel.jpg

    बाफल क्षेत्रमा जुवा, मिटरब्याज र क्यासिनोका किङ भनेर चिनिने राजन भूजेल लगायतलाई पैसा लगानी समेत गर्ने गरेका छन् । राजन भूजेलसहितका गुण्डानाइके र मिटरब्याजीकोको धन्दामा बाधा पुर्याउनेहरुलाई भने अनेक तरहले दुःख दिने र फसाउनेसम्मको धम्की दिने गरेका छन् । हालैमात्र परिसरमा कार्यरत एक प्रहरी अधिकृतको २० लाख रकम भूजेलको समूहलाई सई विपीन श्रेष्ठ विक्रम लामा हवल्दार बिष्णु सापकोटाको टोलीले मिटरब्याजमा लगानीदिएर खुसी पारेको चर्चा परिसरमा हुने गरेको छ । 

    हुन्डी कारोबारीसँग घुमुवाको कनेक्सन

    काठमाडौं परिसरका तीनै जना घुमुवा अपराध अनुसन्धानमा कुनै दख्खल नभए पनि सोर्सफोर्स र हाकिमको आशीर्वादले अरुले गरेको कामको जस लिई परिसरमा रजगज गर्दैआएका छन् । पछिल्लो समयमा काठमाडौंमा हुन्डी कारोबार बढ्नुमा पनि यस्तै घुमुवा प्रहरी नै कारक देखिएका छन् । हुन्डी कारोबार, जुवा र तस्करीमा संलग्नहरुलाई प्रहरीको सूचना दिने कार्य घुमुवा प्रहरीले नै दिने गरेका छन् । जसका कारण राजस्व असुलीमै असर पर्दैगएको छ । यी घुमुवाको अतिचारका बिरुद्ध बोल्ने तल्लो तहका प्रहरीका बिरुद्ध भए नभएका कुरा हाकिमहरुलाई लगाई कारबाही समेत गराउने गरेकाले कोही बोल्न समेत डराउने गरेका छन् ।

    एक महिनाअघि एसएसपी अशोक सिंह हुँदा परिसर मातहत २ बर्ष भन्दा बढी समय अवधि एउटै कार्यालयमा कार्यरत जवानदेखि कनिष्ट प्रहरी अधिकृतलाई सरुवा र हेरफेर गरिएको थियो । तर दरबन्दी विना नै ३ बर्षदेखि कार्यरत यी तीनै घुमुवाहरुलाई भने त्यो नीति लागू हुन सकेन । उनीहरु सरुवा भएनन् ।

    कारबाहीमा परेका धमाधम फर्किए

    त्यतिमात्र होइन, विश्वराज पोखरेलको पालामा कारबाही गरिएकामध्ये असई मोहन श्रेष्ठ, असई सुरज कार्की, हवल्दार केशव महतारा, जवान कमल देवकोटा र जवान नवीन पाल फेरि शक्तिकेन्द्रको दबाबमा काठमाडौं  परिसरमै फर्किसकेका छन् । र, घुमुवाकै रुपमा कार्यरत छन् । अर्का बदनाम हवल्दार राधेश्याम साह गौशाला बृत्तबाट कारबाहीमा परेकोमा सोही ठाउँमा फर्किएर पुरानै धन्दामा सक्रिय भइसकेका छन् । बालाजु बृत्तमा घुमुवाको कमाण्डरको रुपमा कार्यरत असई भीम थापा मगर पैसा असुलीको केसमा निलम्बनमा परेका थिए । पछि सिंहदरवार बृत्त हुँदा निलम्बनमा परी २ बर्षपछि जागिर जोडिएका थापामगर विगत ३ बर्षदेखि पुनः बालाजुमै सरुवा मिलाई घुमुवा कमाण्डरकै रुपमा असुलीमा लिप्त छन् ।

    यी बदनाम प्रहरी कर्मचारीलाई किन अनुगमन, कार्यमूल्यांकन र दक्षता विना सोर्सफोर्सको आधारमा प्रहरी आचरण बिपरीत असुली गर्न छुट दिइएको हो ? न सुपरीवेक्षण गर्ने संयन्त्र छ न त संगठनको नीति बिपरीतका क्रियाकलाप गर्नेलाई संगठनले कारबाही गर्ने हिम्मत राख्छ ? दर्जा सानो भए पनि हाकिमका निकट भएकाले घुमुवा प्रहरी शक्तिशाली भएका छन् । सई बिपीन श्रेष्ठसहितका घुमुवा एसएसपी अशोक सिंहका निकट भएकैले उनीहरुले जे पनि गर्न छुट पाएका थिए । श्रेष्ठसहितका घुमुवाहरुबाट पीडित सेवाग्राहीहरुले एआइजीदेखि आइजीपीसम्म गुनासो गर्दा पनि सुनुवाइ नभएपछि उजुरी नै गर्ने तयारी गरेका छन् ।

    घुमुवा प्रहरीका अगाडि प्रहरी संगठन नै निरीह सावित भएको देखिन्छ । एआइजी हरिबहादुर पालले घुमुवाबिरुद्ध सुरु सुरुमा खरो उत्रिने भाषण त गरे, तर उनैले डीएसपी नमराज भट्टराई र सई सुवास कटवाललाई घुमुवा राखेर अतिरिक्त असुली गर्दैआएका छन् । जबकि तीनवटै जिल्लामा परिचालित घुमुवाको अनुगमन गर्नुपर्ने दायित्व महानगरीय प्रहरीको हो ।

    महानगरीय प्रहरीमा तीनवटै जिल्लाका सादा पोशाकमा खटिने प्रहरीको अनुगमन, मूल्यांकन गर्ने इन्टिलेन्स टीम एसएसपीको नेतृत्वमा थियो । तर विश्वराज महानगरीय कार्यालय प्रमुख हुँदा उक्त टीम बिघटन गरिएपछि घुमुवा प्रहरीबाट हुने अनियमितता बृद्धि भएको छ । एक किसिमले लगामबिहीन जस्तै भएका छन् । इन्टेलिजेन्स टीम बिघटन गरेपछि उपत्यकाका इन्स्पेक्टर प्रमुख हुने प्रभागले ५ जना घुमुवा राखेका छन् । त्यसको ज्वलन्त उदाहरण प्रहरी प्रभाग बुढानीलकन्ठका इन्स्पेक्टर अनिल ठकुरी हुन् । उनी बुढानीलकन्ठ सरुवा भएपछि २ जना सादा पोशाकमा खटिंदैआएकोमा ३ जना थपी ५ जना पुर्याएका छन् । अपराध नियन्त्रणका लागि नभएर अतिरिक्त आम्दानीका लागि उनले घुमुवाको लर्को परिचालन गरेको आरोप छ ।

    घुमुवाको अकूत सम्पत्ति 

    नेपाल प्रहरीमा सादा पोशाकमा खटिने जवानदेखि सईसम्मले मासिक तलवबापत आउने तलवबराबार मूल्य पर्ने जुत्ता र कपडा नै लगाउने गर्दछ । ५० हजार लाख मूल्यका मोवाइल बोक्छन् । सुनका सिक्रीदेखि सबै ब्रान्डेड सामान प्रयोग गर्ने घुमुवाको जीवनशैली डीआइजीको भन्दा ठाँटबाटपूर्ण छ । अवैध हुन्डी, जुवा, मिटरब्याजीहरुसँगको उठबस र तडकभडकपूर्ण जीवनशैलीका कारण प्रहरीमा सादा पोशाकमा खटिनका लागि प्रतिस्पर्धा हुने गरेको छ ।

    काठमाडौं परिसरबाट सादा पोशाकमा खटिएका घुमुवा विपीन श्रेष्ठसहितका तीनैजनाले परिसरमा बसी अकूत सम्पत्ति आर्जन गरेका छन् । उनीहरुले आफन्तका नामम घरजग्गा समेत खरिद गरेको स्रोतले बताएको छ । हवल्दार बिष्णु सापकोटाले केही दिनअघिमात्रै पनि भक्तपुरमा प्रतिआना ३० लाखका दरले ५ आना घडेरी खरिद गरेका छन् ।

    असई लामाले काठमाडौं उपत्यकामा २–३ ठाउँमा घरघडेरी खरिद गरेका छन् । यी प्रतिनिधि उदाहरण हुन्, काठमाडौं परिसरमा घुमुवा बसेका अधिकांश प्रहरीले करोडौंको सम्पत्ति जम्मा गरेका छन् । सई र हवल्दार दर्जाका बढीमा ३०  हजार मासिक तलब हुने उनीहरुले महंगा मोवाइल बोक्ने र खानपान, रहनसहन डीआईजीको भन्दा बढी तडकभडकपूर्ण छ ।

    गैरब्यवसायिक क्रियाकलापमा लाग्ने प्रहरीलाई कारबाही गर्छौंः प्रहरी प्रवक्ता

    देशभर कति संख्यामा सादा पोशाकका प्रहरी परिचालित छन् त ? प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवर भन्छन्–‘सम्बन्धित कार्यालयको आवश्यकताका आधारमा सादा पोशाकका प्रहरी खटाइन्छन्, संख्या घट्ने बढ्ने भइरहन्छ । अपराध अनुसन्धानमा खट्ने ब्यक्तिहरु सादा पोशाकमै खट्छन् ।’

    सादा पोशाकका प्रहरी अपराध अनुसन्धानमा भन्दा पनि आर्थिक लेनदेनका विवाद, चेक बाउन्स, मिटरब्याजमा पैसा लगाउने, जुवा अखडा, रात्रिकालीन ब्यवसाय, क्रसर, बालुवाका कारोबारीसँग मिलेर लाभ लिनतिर बढी लागेको गुनासाका बारेमा प्रवक्ता कुँवरले भने–‘हामीले अनुगमन गरिरहेका छौं, गैरब्यवसायिक क्रियाकलापमा लागेका सादा पोशाकका प्रहरी आचारसंहिता बिपरीत क्रियाकलापमा संलग्न भएको देखिएमा करेक्सन तालिम गराउने काम गरिरहेका छौं । प्रहरी प्रधान कार्यालय लगायतका मातहतका कार्यालयले पनि अनुगमन गरिरहेका छन् । अपराध नियन्त्रण तथा अनुसन्धानका लागि खटिने प्रहरीले गैरब्यवसायिक क्रियाकलाप गरेको तथ्यगत प्रमाण वा कुनै सूचना आएमा कारबाही पनि हुने गरेको छ ।  

    नयाँ एसएसपीले के गर्लान् ?  

     काठमाडौं परिसरमा एसएसपी अशोक सिंहले बिपीन श्रेष्ठसहितको घुमुवा टोली परिचालन गरी जुवा, हुन्डी, मिटरब्याजीहरुबाट असुली गर्न छुट दिई लाभ लिए । उनीपछि काठमाडौं परिसरको कमाण्डरका रुपमा एसएसपी सुदीप गिरी आएका छन् । उनले पनि अशोक सिंहले जस्तै बदनाम घुमुवाहरु राखी काठमाडौका अपराधीको संरक्षण गर्छन् कि कारबाही गर्छन् त्यो भने आगामी दिनका उनका कार्यले देखाउनेछ ।  
      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार