काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमणको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । नेपालमा कोरोना भाइरसबाट कोही पनि संक्रमित भएका थिएनन् । कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारीकै रुपमा लिनुपर्ने बताइसकेको अवस्थामा नेपालमा पनि ६ जना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार चार जनालाई टेकु अस्पताल र दुई जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी गराएका हुन् । तर, उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको छ ।
यसअघि चार नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । यसरी कोरोना पुष्टि भएकामा एक नेपालमै रहेका र अन्य तीन जना विदेशमा रहेका थिए । नेपालमा रहेका कोरोना पुष्टि भएका व्यक्ति निको भएर घर फर्किसकेका मन्त्रालयले जनाएको छ । उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९०) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ । तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र अमेरिकामा एक लाख २१ हजारभन्दा बढी मान्छे संक्रमित भएका छन् । यस्तै बुधबार बिहानसम्म ४ हजार ३ सय ७३ जनाको निधन भइसकेको छ ।