काठमाडौं, २९ फागुन ।
कोरोना भाइरस संक्रमण हुने डरका कारण नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । चीनतर्फको सीमा नाका एक महिनाअघिदेखि नै बन्द छ ।
भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएको छ । भारतले विदेशी नागरिकको भिसा रद्द गरेपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो ।
दक्षिणतर्फका सीमा नाकाबाट नेपाल छिर्ने तेस्रो मुलुकका नागरिकलाई भने पर्यटकका रुपमा गणना गरिन्छ । भारतले १५ अप्रिलसम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्द गरिदिएको छ ।
भारतले सबै देशका नागरिकलाई भारत यात्रामा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यसले अब नेपाल र भारतीबीचको हवाई यात्रा समेत बन्द हुने भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको एडभाइजरीमा नेपालको हकमा के हुने भन्ने स्पष्ट छैन । सबै मुलुकको भिसा रद्द भनिएको छ । नेपालीका लागि भारत जान भिसा चाहिँदैन ।