Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह


    शुक्रबार, पुष २ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्।

    विद्यार्थी राजनीतिमा मात्र होइन,एउटै ‘स्कुलिङ’ बाट अघि बढेका शर्मा र थापा १४औं महाधिवेशनमा भने अलग समूहबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएका थिए। पार्टीको १३औं महाधिवेशनसम्म एउटै समूहमा रहेर सक्रिय उनीहरू त्यसपछि भने फरक समूहमा थिए।

    १४औं महाधिवेशनमा शर्मा र थापामात्र होइन, धनराज गुरुङ, प्रदीप पौडेलसम्मका नेता एउटै समूहमा अटाउने पार्टीका नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर शर्मा, थापा र पौडेल अलगअलग समूहबाट एउटै पदको प्रत्याशी बने।

    थापा नेता शेखर कोइरालाको समूहबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिए भने शर्मा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग जोडिन पुगे। पौडेल अन्तिम समयमा सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिए। महामन्त्रीकै उम्मेदवार बन्ने घोषणा गरेका गुरुङ भने शेखर समूहबाट उपसभापतिको उम्मेदवार बनेर विजयी भएका छन्। नेपाल विद्यार्थी संघको राजनीतिमा गुरुङ सबैभन्दा सिनियर हुन्।

    पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका कारण १२औं महाधिवेशनपछि संघका पूर्वअध्यक्षमध्येबाट पार्टी केन्द्रीय सदस्यमा नपरेका शर्मा १३औं महाधिवेशनमा देउवा समूहमा जोडिन पुगे। उनले पार्टी प्रवक्ताका रूपमा सभापति शेरबहादुर देउवाको रक्षाकवच बनेर काम गरे।

    तर १४औं महाधिवेशनको प्रतिस्पर्धामा उत्रिने अन्तिम समयमा उनै सिटौला फेरि देउवा समूहमा प्रवेश गर्दा शर्मा महामन्त्रीको उम्मेदवारबाट रिङआउट भए। देउवा समूहबाट प्रदीप र प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार बने। बिपी कोइरालाको जन्मजयन्ती (भदौ २४) मा सुन्दरीजल पुगेर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्मा सिंहसँग जोडिँदै मैदानमा खडा भए।

    कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्माले महामन्त्रीमा जित निकाल्नेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेकको प्रयोग गर्दै शर्मा र थापालाई महामन्त्रीमा निर्वाचित गरेर पुस्तान्तरणको सन्देश दिएका छन्।

    ७५ वर्ष पूरा गरेका शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका कांग्रेसका महाधिवेशन प्रतिनिधिको रोजाइमा महामन्त्री पदका लागि ५० वर्ष वरिपरिका शर्मा र थापा परे। २०३६ सालमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष बनेका मीनेन्द्र रिजाल र २०४४ सालमा महामन्त्री बनेका प्रकाशशरण महतलाई पछि पार्दै २०५७ मा संघको अध्यक्ष बनेका शर्माले महामन्त्री सुरक्षित गरे।

    उनले १ हजार ९ सय ८४ मत पाएका छन् भने २०५९ माघमा संघको महामन्त्री बनेका थापा झन्डै २० वर्षपछि पार्टी महामन्त्रीमा सर्वाधिक मतसहित पुगेका छन्। शेखर समूहबाट उम्मेदवार बनेका थापा सबैभन्दा बढी ३ हजार २३ मतसहित निर्वाचित भएका हुन्।

    नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीसँगै थापा राष्ट्रिय राजनीतिमा उदाएका हुन्। उनले २०६२÷०६३ को जनआन्दोलनपछि कांग्रेसभित्र मात्र होइन, मुलुकको राजनीतिमा नै सम्भावना बोकेको युवाका रूपमा छवि निर्माण गरेका थिए। नेपाल विद्यार्थी संघको अध्यक्ष बन्ने आकांक्षा पूरा नभए पनि समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थापा पार्टीको १२औं महाधिवेशन केन्द्रीय सदस्य बनेका थिए। 

    १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहमा जोडिएर थापा महामन्त्रीको उम्मेदवार बनेका थिए। भागबन्डा हुँदा उनकै समूहबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा पुगेका थापा पार्टी नेता तथा कार्यकर्ताको मात्र होइन,आम जनताको पनि मन जित्न सफल भएका थिए। पार्टीलाई देखिने र सुनिने बनाउन नेतृत्व परिवर्तनको पक्षमा उभिएका थापा देउवाविरोधी समूहमा गोलबद्ध हुँदै १४औं महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेका थिए।

    झापा धुलाबारीका शर्मा पार्टीभित्र मौलाएको गुटलाई छिचोल्दै महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। २०२७ सालमा जन्मिएका शर्माले मेची क्याम्पसदेखि विद्यार्थी राजनीति थालेका हुन्। राजनीतिक चेत भएको परिवारमा हुर्केका शर्मा ०४८ पछि नेवि संघको केन्द्रीय सदस्य,महामन्त्री हुँदै विद्यार्थी राजनीतिमा उदाए।

    उनी ०५७ सालमा नेवि संघको अध्यक्ष बनेका थिए। २०५९ सालमा कांग्रेस विभाजन हुँदा प्रमुख भ्रातृ संगठनका अध्यक्षमध्ये शर्मामात्र कोइराला नेतृत्वको पार्टीमा रहेका थिए। नेवि संघको इतिहासमा २ वर्षे कार्यकालभित्रै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेका शर्मा संसदीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न भने असफल बनेका थिए। त्यसले गर्दा राष्ट्रिय राजनीतिमा शर्मा पछि परेको विश्लेषण गरिएका बेला गुटभित्र विद्रोह गर्दै पार्टीको महामन्त्रीको जिम्मेवारीमा पुगेका छन्।

    थापा र शर्मा पार्टीका दुई वरिष्ठ नेता मीनेन्द्र रिजाल र प्रकाशशरण महतलाई पछि पार्दै महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। १ हजार ५ सय ५६ मतसहित महत तेस्रो बनेका छन् भने प्रदीप पौडेलले १ हजार ३ सय ९३ मत ल्याएका छन्। रिजाल ८ सय ९ मतमा समेटिएका छन् भने महामन्त्रीका अर्का उम्मेदवार राजाराम कार्कीले जम्मा १ सय ६ मत पाएका छन्। कार्की विमलेन्द्र निधिको समूहबाट खडा भएका थिए।

    हिजोसम्म पार्टीका नेताहरूलाई प्रश्न गरेर नेता तथा कार्यकर्तामाझ आफूलाई स्थापित गर्दै आएका थापा र शर्मा अब जवाफ दिने ठाउँमा पुगेका छन्। पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्न नसकेको भन्दै नेतृत्वमाथि निरन्तर खबरदारी गर्दै आएका उनीहरू निर्णय गर्ने ठाउँमा पुगेका छन्। कांग्रेस महामन्त्रीका रूपमा थापा र शर्माको भूमिकाले युवापुस्ताप्रतिको आशा र भरोसासमेत निर्धारण गर्नेछ।

    महामन्त्रीमा निर्वाचित थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन्। महामन्त्रीमा निर्वाचित भएपछि राजधानीमा आयोजना गरिएको धन्यवाद ज्ञापन कार्यक्रममा थापाले भने, ‘यो मतप्रति मैले न्याय गर्नुपर्छ। मसँग एक दिन पनि चुक्ने सुविधा छैन,एक दिन पनि थाक्ने सुविधा छैन। म अझै इमानदारीपूर्वक,परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु।’

    १४औं महाधिवेशनले कांग्रेसलाई सम्पूर्ण रूपमा नेतृत्व बदल्ने अवसर दिए पनि त्यो सम्भव नभएको भन्दै उनले थपे, ‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो। उहाँ चुक्नुभयो भने पार्टीको निर्णय गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ,नचुक्नुस् भनेर खबरदारी गर्ने हो, म त्यो जिम्मेवारी निर्वाह गर्नेछु।’

    नवनिर्वाचित अर्का महामन्त्री शर्माले बिहीबार साँझै सुन्दरीजल पुगेर बिपी कोइरालाको परिकल्पनाअनुसार कांग्रेसलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्। सबैको साथ र सहयोगले आफूलाई महामन्त्रीको जिम्मेवारीमा पुर्‍याएको बताउँदै शर्माले सिंगो नेपाली कांग्रेसलाई रूपान्तरित गर्ने,नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ भएको दाबी गरे। ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन।

    सिंगो नेपाली कांग्रेसलाई रूपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो,’ शर्माले भने,‘फरकफरक विचार समूहमा रहेका सबै साथीको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो। त्यही भावनाका साथ पार्टीमा काम गर्नेछु।’  नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार