Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीको तिलोत्तमा बालमैत्री नगर घोषणा


    बुधबार, मंसिर २९ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका बुधबार बालमैत्री नगर घोषणा भएको छ । एक समारोहका बीच नगरलाई बालमैत्री घोषणा गरिएको हो । 

    कार्यक्रममा सहभागी पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बालमैत्री घोषणा गर्दै मानवीय विकास नै पहिलो आवश्यकता भएको उल्लेख गरे । भौतिक विकासको चिन्ता नलिन र त्यो काम आफूहरूलाई दिन आग्रह गर्दै उनले मानवीय विकासलाई मुख्य प्राथमिकतामा राख्न स्थानीय तहहरूलाई आग्रह गरे ।

    ‘भौतिक विकासको पहिलो खुड्किलो मानवीय विकास हो, यसलाई स्थानीय तहहरूले प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,’ उनले भने । तिलोत्तमाले छोटो समयमै नगरलाई बालमैत्री घोषणा गर्न सफल भएको भन्दै उनले धन्यवाद दिए । 

    तिलोत्तमा नगरपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक पर्ने ५१ वटा सूचक पूरा गरेपछि जिल्लाकै १६ पालिकामध्ये पहिलो पालिकाको रूपमा बालमैत्री घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बालमैत्री राष्ट्रिय अभियानका सहजकर्ता विष्णुप्रसाद चौवेले बालमैत्रीको अभियान बल्ल सुरु भएको बताए । 

    ‘घोषणा भयो, तर अव बालमैत्री कार्यान्वयनका लागि बल्ल काम सुरु भएको छ,’ उनले भने । उनले बालमैत्री घोषणामा ५१ वटा सूचक पूरा गर्नेमा तिलोत्तमा नगरपालिका मुलुककै पहिलो भएको दाबी गरे ।

    नगरप्रमुख वासुदेव घिमिरेले बालमैत्री घोषणामा सहभागी अभियान्ता र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अव यसको दिगो कार्यान्वयन गरिने बताए । ‘अब झन् चुनौती थपिएको छ, स्पष्ट योजनाका साथ बालमैत्री घोषणालाई दीगोरुपमा कार्यान्वयनमा लैजान्छौं,’ उनले भने ।

    नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बालमैत्री घोषणासँगै नगरपालिकाले एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । कार्यक्रममा बालमैत्री घोषणामा सहभागी वडाअध्यक्ष एवं अभियान्ताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार