काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गराएकाे छ ।
बुधबार काठमाडौंको विशेष अदालतमा आयोगले गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरूद्ध मुद्दा दायर गरेको हो ।
काठमाडौं वडा नम्बर १२, टेकुस्थित भवन निर्माण गर्नको लागि सार्वजनिक सूचनामार्फत् बोलपत्र आह्वान गरिएको थियो। त्यस बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
त्यसपछि अनुसन्धान गर्दा प्राविधिक मूल्यांकन प्रक्रियामा महानगरका निर्देशक बोगटी, खरिद इकाई प्रमुख उप-निर्देशक बखतबहादुर साउद, उप-निर्देशक सुमन अधिकारी, उप-निर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको पाएको प्रवक्ता रिसालले बताए।
उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदाबी गरेको छ।