Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ट्राफिकको असुली रोकिएन


    बुधबार, फाल्गुन २८ २०७६
    1.3K
    Shares
  • ३ मिनेट पाठ
  • काभ्रे, , २८ फागुन । जुन जोगी आए पनि कानै चिरेको भन्दै यहाँका ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । जुन व्यक्ति यहाँको ट्राफिक प्रमुख बनेर आए पनि मातहतका ट्राफिक प्रहरीले असुल्ने काम भने कहिल्यै नरोकिएको ट्रिपरका चालकदेखि व्यवसायीहरू बताउँछन् । हुँदाहुँदा अहिले त ट्राफिकका एसपीलाई बुझाउनुपर्छ भन्दै उनका नाममा समेत रकम असुल्न थालिएको पीडित व्यवसायीहरू बताउँछन् ।

    यसरी नै ट्रिपर व्यवसायीदेखि ट्रिपर चालकहरूसँग खुलेआम रकम मागेको उजुरी परेसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्ट्रिङ अप्रेसन टोलीले झण्डै ६ महिनाअघि २ जना ट्राफिक प्रहरीलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको थियो । त्यसपछि काभ्रे ट्राफिकको असुलीमा केही कमी आएको भए पनि अहिले फेरि खुल्लमखुल्ला रकम असुल्ने काम भइरहेको व्यवसायीहरू बताउँछन् ।

    विशाल तामाङ ट्राफिक प्रहरी प्रमुखका रूपमा काभ्रेमा आएको केही दिन असुल्ने काम नभए पनि त्यसपछि भने फेरि खुलेआम रकम उठाउने काम चलिरहेको छ । गिटी, बालुवा, ढुंगा लिएर काठमाडौँ भित्रिने ट्रिपर हुन् या स्थानीय निर्माण कार्यका लागि निर्माण सामाग्री बोकेका ट्रिपर हुन्, या त बनेपा र धुलिखेलबाट काभ्रेका विभिन्न ग्रामीण क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधन हुन् या त विपी राजमार्गमा चल्ने रुट परमिट नभएका सार्वजनिक यातायातदेखि अन्य यातायातबाट समेत चेकजाँचका नाममा रकम असुल्ने काम हुँदै आएको छ ।

    सिटभन्दा बढी यात्रु राखेको बहानामा होस् या यातायात व्यवस्था विभागबाट स्वीकृत नलिईकन सिट राखेको बहानामा होस्, ट्राफिक प्रहरीले अनेकन दुःख दिएर रकम असुल्नेकाम गरिरेको व्यवसायीहरू बताउँछन् । दोलालघाट, पाँचखाल, धुलिखेल, भकुण्डेबेसी र स्वयम् बनेपामा समेत रकम असुल्ने काम हुँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि नै चेकजाँचका नाममा रकम लिएको जोकोहीले पनि देख्न सक्दछ । काभ्रे ट्राफिकमा झण्डै १२ वर्षदेखि बस्न सफल असई भिमसेन थापाले धेरै व्यवसायीहरू चिन्ने र काभ्रे ट्राफिकको सबै आर्थिक कारोवार गर्ने भएका कारण अहिले पनि उनले नै रकम उठाउने काम गरेको व्यवसायीहरूको आरोप छ । चितवनस्थित ट्राफिकका एसपी प्रकाश रानाभाटका नाममा समेत काभ्रे ट्राफिकबाट रकम असुल्ने काम हुँदै आएको छ ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट कार्यालय टाढा रहेका कारण नियमित अनुगमन हुन नसक्ने र ट्राफिकको काम कारवाहीलाई न त संघीय इकाई प्रहरी कार्यालय, न त जिल्ला प्रहरी कार्यालयले नै अनुगमन गर्ने कानुनी व्यवस्था नभएका कारण पनि काभ्रे ट्राफिकमा पछिल्लो समय असुली आतंक मच्चिएको व्यवसायीहरूको आरोप छ । ट्रिपर व्यवसायी संघका एक सदस्यले भने– ‘अब फेरि अख्तियारसँग गुहार माग्नुपर्ने भएको छ ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार