Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी संगठनमा घुस आतंक मच्चाउने अख्तियारका इन्स्पेक्टर निलम्बित


    शुक्रबार, मंसिर २४ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ कार्यालय बर्दिबास कार्यालयका प्रहरी निरीक्षक राजु कुर्मी निलम्बनमा परेका छन् । प्रहरी आचरण बिपरीत क्रियाकलाप गरेको आरोपमा कुर्मी निलम्बनमा परेको प्रहरीले जनाएको छ ।

    सिपाहीबाट सेवा प्रवेश गरेका कुर्मी प्रहरी सहायक निरीक्षकमा नाम निकाले, बढुवा हुँदै प्रहरी निरीक्षक भए । उनी सर्लाही जिल्ला प्रहरी कार्यालयको प्रशासनमा कार्यरत हुँदा पनि उनी विवादमा परेका थिए । सर्लाही जिल्ला अन्तर्गतका थानाचौकीका इन्चार्जदेखि घुमुवासँग पनि पैसा उठाउने गरेको आरोप लागेको थियो । सर्लाहीपछि उनी प्रदेश २ को अख्तियार कार्यालयमा सरुवा भए । 

    अख्तियारमा गएपछि पनि उनको मुख्य ध्यान प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लाका कनिष्ट प्रहरी अधिकृत कार्यालय प्रमुख हुने प्रहरी चौकीका इन्चार्जहरुसँग उजुरी परेको छ भन्दै मासिक ३ हजारका दरले उठाउने थियो ।  पछि घुसको रेट बढाउँदै चौकीका असई, सईसँग घुसको रेट बढाएर ५ हजार माग्न थाले । ५ हजार घुस माग्न थालेपछि पीडितले अख्तियारमै उजुरी दर्ता गरे ।

    अख्तियार दुरुपयोग रोक्नुपर्ने निकायका प्रहरी निरीक्षकले नै अख्तियारको दुरुपयोग गरेको भनी उजुरीपछि कुर्मी प्रहरी प्रधान कार्यालयमा तानिए । कुर्मीले प्रदेश २ अन्तर्गतका प्रहरीसँग घुस माग्ने, नदिए बेनामी उजुरी हालेर दुःख दिने गरेको खुलेको छ ।

     कुर्मी तानिएपछि छानबिन गर्दा उनले प्रदेश २ प्रहरीका तल्ला तहमा अख्तियारको नाममा आतंक नै मच्चाएको फेलापारेपछि उनका बिरुद्ध मुद्दा नै दायर गर्नुपर्ने निष्कर्षमा पुगिसकेको र निलम्बन  गर्नका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

    अख्तियारको पत्रपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको छ । प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले इन्स्पेक्टर कुर्मीलाई बुधबार (मंसिर २२ गते) निलम्बन गरिएको बताए । उनले भने–‘आर्थिक अनियमितता र प्रहरी आचरण बिपरीतको क्रियाकलाप गरेको पाइएपछि कुर्मीलाई निलम्बन गरिएको छ । प्रहरी संगठनकै बिरुद्ध समेत उनले क्रियाकलाप गरेको फेलापरेको छ ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार