काठमाडौ, २७ फागुन । दैनिक तरकारीको रूपमा उपयोग तथा भिजाएर र काँचै पनि प्रयोग गर्न सकिने चनामा प्रशस्त मात्रामा प्रोटिन, आइरन, सोडियम तथा सेलेनियम पाइन्छ । भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ । उहिलेका बुढापाकाले भन्ने गर्थे चना कि घोडाले खान्छ कि त छोराले यो कुरा साँचिकै हो जस्तै पनि लाग्छ चनाका फाइदा हेर्दा ।
चना हरेक उमेरका मानिसहरूका लागि लाभदायक हुन्छ । त्यसमा पनि हरेक दिन बिहान भिजेको चना खानु शरीरका लागि लाभदायक मानिन्छ । भिजाएको चनामा धेरै मात्रामा फाइबर पाइन्छ जसले पाचन प्रक्रियालाई सन्तुलित गरेर अपच तथा कब्जियतलाई हटाउने गर्छ । हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्दा शरीरको तौललाई बढाउनका लागि, शरीरमा उर्जा ल्याउन, मांशपेशी बढाउन तथा सशक्त बनाउन मद्दत गर्छ ।
भिजाएको चनाको नियमित सेवनले खानालाई छिट्टो पचाएर उर्जामा परिणत गर्छ । जसका कारण शरीरमा रगतको मात्रा बढाएर रगतलाई सफा राख्न मद्दत गर्छ । रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गरेर मुटुलाई स्वस्थ राख्न, मधुमेह, मुटु र रगतसम्बन्धी समस्याबाट जोगाउन सहयोग गर्छ । भिजेको चनाको सेवनले शरीरमा रक्तअल्पता कम गर्नुको साथै हेमोग्लोबिनको मात्रा बढाउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।
भिजेको चना खाने गर्नाले छालालाई स्वास्थ्य राख्नका साथै चिलाउने, दाद, धब्बा जस्ता समस्यालाई निवारण गर्ने कम गर्छ । चनामा पर्याप्त मात्रामा फस्फोरस लवण पाइन्छ मिर्गौलालाई समेत स्वस्थ राख्न सहयोग गर्छ । पटक–पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्याले सताएको छ भने नियमित रूपमा हरेक बिहान भिजेको चना खाने गर्नु पर्छ ।
भिजेको चनाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधी क्षमतालाई बढाएर शरीरमा लाग्ने सानो–सानो रोग जस्तैः जोरो तथा रुघाखोकीको समस्यालाई पनि कम गर्छ । दैनिक भिजाएको चनाको सेवन गरेमा पुरुषहरूको यौन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउन मद्दत गर्दछ ।