Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • किसानलाई दिनुपर्ने मल ब्यापारीकोमा पुग्योः प्रभु साह


    आइतबार, जेष्ठ ३२ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले किसानलाई दिनुपर्ने मल आर्थिक चलखेल गरेर व्यापारीलाई दिइएको आरोप लगाएका छन् ।

    नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद साहले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै बजारमा अभाव भएको बेला सहुलियत अनुदानमा किसानलाई सरकारले दिनुपर्ने मल व्यापारीका पसलमा पठाइएको बताए ।

    पहुँच, लेनदेन र कमिसनको बलमा बिचौलियाले जिम्मेवार निकाय कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट मल लिएको भन्दै रुलिङ गर्न सभामुखलाई उनले आग्रह गरे ।

    ‘अहिले धान रोपाइँको सिजनमा किसानले मल खाद पाइरहेका छैनन् । मलखादको पूरै अभाव छ । ७ सय रुपैयाँमा प्रतिबोरा पाइने युरिया मल हजार रुपैयाँमा समेत मुस्किलले पाइराखेको छ । २१ सयमा पाइने डीएपी मल अहिले प्रतिबोरा ३ हजारमा मुस्किलले पाइरहेको छ । सहकारी डिपोमा पाउने भनिएको मल पसल पसलमा छ’ साहले भने, ‘हामी जान्न चाहन्छौं, सरकारी संयन्त्रमार्फत् हुने यो विक्री वितरणको कार्य कसरी पसलमा पुग्यो ?’

    मन्त्रीको ध्यानाकर्षण गराउँदै उनले थपे, ‘कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ जुन नेपाल सरकारको स्वामित्वमा छन्, उसले जिम्मा लिएको यो कार्यमा पूरै अनियमितता र कालोबजारी देखिन्छ । कृषियोग्य जग्गाको क्षेत्रफलको आधारमा प्रदेशहरु र स्थानीय तहहरुलाई बाँड्नुपर्ने मल सेटिङ, भनसुन र कमिसनको आधारमा सहकारी र किसानको हातमा जानुको सट्टा व्यापारीको हातमा पुगेको छ ।’

    सरकारको अर्बौ लगानी भएको अनुदान रकमको दुरुपयोग भएको भन्दै उनले सभामुखलाई रुलिङ गर्न आग्रह गरे ।
    बैठकमा सांसद साहले स्थानीय तहमा अनावश्यक सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले अस्थिरता मच्चाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार