Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणी नदीमा प्रदूषण: घडियाल गोहीसहितका जलचरको वासस्थानमा समस्या आउन थाल्यो


    बिहिबार, मंसिर १६ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • चितवन । देशकै मध्य भागबाट बग्ने पवित्र तीर्थस्थलको रुपमा मानिने नारायणी नदीको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आयोजना गरिएको ‘नारायणी जल संवाद’ कार्यक्रमका सहभागी वक्ताले नारायणी नदीमा बढिरहेको प्रदूषणका कारण मानव स्वास्थ्यमा असर परेको र नदीका जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेको बताएका हुन् । 

    कार्यक्रममा विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० का फ्रेस वाटर एशोसिएट करुण देवानले ‘नारायणी नदीको कथाः पानीको महत्व, यसको संरक्षणमा हाम्रो नेतृत्व र जिम्मेवारी’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पानीसम्बन्धी चेतना प्रवाह तथा प्रभाव मूल्याङ्कन गरी न्यूनीकरणका कार्यक्रम, सामूहिकरुपमा सरोकारवालाको ऐक्यबद्धता र नीति निर्माण गर्नुपर्नेमा जोड दिए । 

    नेपाल बोटे समाजका अध्यक्ष ज्ञानबहादुर बोटेले नदीमा हुने गिट्टी बालुवा उत्खननले जलचरको वासस्थानमा प्रभाव परेको बताउँदै त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले जल संरक्षणसम्बन्धी विभिन्न नीति बनाइएको भए पनि लागू गर्न नसकेका कारण समस्या उत्पन्न भएको बताए । 

    भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख इन्जिनीयर विराट घिमिरेले नदी तटीय क्षेत्रमा फोहर विसर्जन हुने गरेको बताउँदै ८० प्रतिशतभन्दा बढी बजेट सडकलगायत विकास निर्माणमा खर्च गरिने तर अन्यमा लगानी नहुँदा बजेट अपर्याप्त रहेको बताए । “सहर बन्यो तर सहरबाट निस्केको फोहर व्यवस्थापनका लागि चासो दिइएन”, उनले भने । चितवनको भरतपुर महानगरपालिबाट उत्पन्न हुने दैनिक ७० टनभन्दा बढी फोहोर पनि नारायणी नदी किनारमा लागेर थुपारिने गरेको छ । 

    नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का जिल्ला समन्वय अधिकारी देवीप्रसाद आचार्यले नदीजन्य वस्तु उत्खननमा चरम लापर्वाही रहेको स्वीकार गर्दै नीतिगत व्यवस्था लागू गर्न खोज्दा सरकारी कर्मचारीको सरुवा हुने अवस्थासम्मको प्रवृति रहेको उल्लेख गरे । 

    खानेपानी महासङ्घ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले ज्ञान भएका व्यक्तिले व्यवहारमा उतार्न नसक्दा चुनौती बढेको बताए । हरेक खालका फोहोर व्यवस्थापनसँग सम्बन्धित हरेक विषयलाई पानीसँग केन्द्रित गरेर लैजानुपर्ने उनको भनाइ थियो । 

    भेँडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेलले हिमालदेखि तराईसम्म नै नदी किनारमा लगेर फोहोर बिसर्जन गर्ने गरिएको बताए । नारायणी नदीमा मात्रै नभएर नदीको उद्गमस्थलबाट नै सफाइ गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरका बाली विकास अधिकृत सुदर्शन ढुङ्गानाले कृषिका लागि पानी आवश्यक रहेको र पानीले ३० प्रतिशत उत्पादन वृद्धिमा भूमिका निर्वाह गर्ने गरेको उल्लेख गरे । कृषिको उत्पादकत्व बढाउनका लागि समेत सिँचाइका लागि शुद्ध पानी प्रयोग गर्नुपर्ने ढुङ्गानाको भनाइ छ । 

    लामीचौर मध्यवर्ती क्षेत्रका सदस्य हुमबहादुर मुसहरले पानी मूलबाट निस्केझैँ प्लाष्टिकजन्य फोहर निस्कने मूल बन्द गरेमात्रै नदी सफा हुने बताए । कार्यक्रमको सहजीकरण गर्दै सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले विश्व वन्यजन्तु कोषसँगको साझेदारीमा परियोजनामार्फत नारायणी नदीमा प्रदूषण कम गर्ने, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, सिमसार क्षेत्रको संरक्षण, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने बताए । 

    नारायणी नदीको जल प्रदूषण हुँदा अति सङ्कटापन्न अवस्थाका घडियाल गोहीसहितका जलचरको वासस्थानमा नै समस्या आउन थालेको छ । केही वर्ष पहिलेसम्म नारायणीको देवघाटसम्म घडियाल गोही पाइने गरेकोमा अहिले सो क्षेत्रबाट गोही हराइसकेको छ । घडियाल गोही सफा र प्रदूषणरहित पानीमा मात्रै बस्ने गरेको सापकोटाको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार