काठमाडौं, २७ फागुन ।
डिभिजन वन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा कार्यरत निमित्त कार्यालय प्रमुखसमेत रहेका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । देवकोटा र तेलीलाई अख्तियारले केही दिनअघि २ लाख रुपैयाँ घुस लिइसकेको आरोपमा नियन्त्रणमा लिएको थियो ।
टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले देवकोटा र तेलीलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा डिभिजन वन कार्यालय नवलपुर, सुस्ता पूर्वका सहायक वन अधिकृत देवकोटाले सेवाग्राहीसँग नियमानुसार लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने प्रयोजनका लागि दुःख हैरानी दिई आफ्नै कार्यकक्षमा घुस रकम मोलमोलाई आफूले नबुझी कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई बुझ्न लगाएका थिए ।
देवकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा उनीसँग बिगो रु. २ लाख कायम गरी मुद्दा दायर गरेको छ ।