Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारलाई शक्ति केन्द्रित गर्ने रहर छैनः प्रधानमन्त्री ओली


    बुधबार, जेष्ठ २८ २०७७
    7.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने रहर नभएको बताएका छन् । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने रहर छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारका सबै निकाय र अङ्गको प्रभावकारी परिचालनका लागि प्रधानमन्त्री माताहत केही कार्यालय ल्याइएको हो ।’

    अर्थमन्त्रालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याइएपछि प्रधानमन्त्रीमाथि शक्ति केन्द्रित गर्न खोजेको आरोप विपक्षीले लगाउँदैआएका छन् ।

    त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सबै अङ्गको प्रभावकारी परिचालनका लागि केही कार्यालयहरुलाई प्रधानमन्त्री मातहत ल्याइएको स्पष्ट पारेका छन् ।
    उनले सरकारको तीव्र रुपमा विकास गरेर जनताको विकास निर्माणको चाहना पूरा गर्नु बाहेक अरु इच्छा नभएको बताए । प्रधानमन्त्री मातहत रहेका निकायको काम प्रभावकारिता बढेको उनको दावी थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको मुद्दामा संसदमा राष्ट्रिय एकता देखिएको भन्दै खुशी व्यक्त गरेका छन् । लिम्पियाधुरासहित महाकाली पूर्वका भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार संसदले सर्वसम्मत पास गरेको थियो । संसदभित्र र बाहिर देखिएको राष्ट्रिय एकताप्रति आफूलाई गर्व लागेको उनले बताए ।
    बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र आफ्नो भूमिमा हक स्थापित गर्ने साझा प्रयास भएको बताए । ‘पूर्खाले यो देश लडेर बनाएका हुन्, बचाएका हुन् । आज हामी अडे मात्र हाम्रो भौगोलिक अखण्डता स्थापित गनर्ज सक्छौं,’ उनले भने, ‘अड्ने कुरामा राष्ट्र एक देखिएको छ र संसदले जनभावना मुखरित गरेको छ ।’

    उनले अघि भने, ‘यो कसले जस लिने ? कसको देवत्वकरण गर्ने भन्ने विषय होइन । सिंगो नेपालीको साझा भावनाको प्रकटीकरण हो । यसमा हामीले लामो समयदेखि उठाएका छौं । जनस्तरबाट उठेको छ ।

    आफ्नै स्वेच्छाले खोज गरेका छन् । तथ्यहरु स्थापित गरेका छन् र यसमा कसैले पाउला कि भन्ने चिन्ता गर्नुपर्दैन । कोही जसबाट छुट्ला कि भन्नु पर्दैन । यो हाम्रो संसदको सर्वसम्मतको निर्णय हुन्छ । सर्वसम्मत गरेपछि सबैका भोट, सबैका भावना एकै ठाउँमा समहित छ भन्ने प्रष्ट हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार