काठमाडौं, २७ फागुन ।
कोभिड–१९ को संक्रमणको त्रास बढेसँगैंं बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले उत्पादन सुरु गरेको समाचार मंगलबार सार्वजनिक भएको छ । जनस्वास्थ्य विशेषज्ञहरूले कोभिड–१९ को संक्रमणविरुद् सरकारको पूर्वतयारी पर्याप्त नरहेको बताउँदैआएका छन् । उनीहरूले एक्कासि संक्रमण देखिएको खण्डमा समस्या भयावह हुने भन्दै सतर्कतातर्फ मात्र नभई रोकथाम र उपचारतर्फ केन्द्रित हुनुपर्ने बताइरहेको बेला सरकार भने सबै तयारी मास्क उत्पादनतिर लाइरहेको छ ।
सोमबार विवादास्पद ब्यापारी दीपक मल्होत्राले मास्क उत्पादन गर्ने समाचार आयो । मल्होत्राले बजारमा मास्कको कालोबजारी भएको भन्दै ५ रुपैयाँमा मास्क उपलब्ध गराउने बताएका छन् । तर २०७२ को विनाशकारी भूकम्पको समयमा सहरी विकास मन्त्रालयले मल्होत्राबाटै ४५ करोड बराबरको त्रिपाल खरिद गरेको बिलमा भुक्तानी दिएको थियो । जुन त्रिपाल खरिदबारे अख्तियार दुरुपयोग अनुसन्धान गर्यो । तर त्रिपालमा घोटाला गरेका मल्होत्रालाई उन्मुक्ति दिएर केही ५०–१०० थान आपूर्ति गर्ने केही साना ब्यापारीलाई मुद्दा चलायो ।
निर्णय गर्ने सहरी विकास मन्त्रालयका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई उन्मुक्ति दिएर स्टोर दाखिला गर्ने नायबसुब्बा र उपसचिवबिरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको थियो । जुन बेला अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की थिए । कार्कीको बानेश्वरको घरमा मल्होत्राले सुन गोदामका लागि मासिक ३ लाखमा भाडामा लिएकाले उनले जे जे गरे पनि अख्तियारले केही गर्न नसक्ने अवस्था थियो ।
अहिले मल्होत्रा पुनः कोरोना भाइरसको सन्त्रासका बीच मास्कको ब्यापारमा लागेका छन् । मास्कको ब्यापारमा उनको प्रवेश त्रिपाल जस्तै नहुने अपेक्षा गरिएको छ ।
सरकारले पनि चेम्बर अफ कमर्ससँग मिलेर मास्कको ब्यापार गर्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । संरचना भएको नेपाल औषधि लिमिटेडबाट जिवनजल र सिटामोल उत्पादन त गर्न नसक्ने सरकारले मास्क उत्पादन गर्ने घोषणा गरेको छ । मास्क उत्पादनको निहुँमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले मौकामा चौका हान्ने दाउ त रचेका होइनन् भन्ने आशंका गर्ने ठाउँ नदिई कोरोना भाइरसका बिरुद्ध स्वार्थरहित भएर लागेको सन्देश दिनुपर्ने हो ।
स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर आफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुनेगरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।