काठमाडौं, २६ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरु बीच संयन्त्र गठन गरेका छन् । सातै प्रदेशका मन्त्रीहरुलाई राजधानीमा छलफलका लागि बोलाएका मन्त्री भूसालले संयन्त्र गठन गरेका हुन् ।
संघ र प्रदेश सरकारको कार्यक्रममा समन्वय गर्न, योजनामा एकरुपता ल्याउन र स्रोत परिचालनलाई प्रभावकारी बनाउन संयन्त्र गठन भएको कृषि मन्त्रालयका उपसचिव डा.गंगादत्त आचार्यले बताए । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र योजना निर्माणमा प्रदेशको सुझाव लिन मन्त्री भूसालले सातै प्रदेशका मन्त्री र सचिवलाई प्रि–बजेट समन्वय बैठकमा बोलाएका थिए ।
बैठकबाट कृषि विकासका लागि संघीय र प्रादेशिक मन्त्रालय बीचको योजना, कार्यक्रम र बजेट निर्माण समन्वयात्मक ढंगले गर्ने, कृषि विकासका योजना र कार्यक्रम कार्यान्वयनमा आवश्यक सहकार्य गर्ने, कृषि क्षेत्रको संरक्षण र विकासका लागि तीनै तहका सरकारहरुबाट प्रदान गरिने सेवा, सुविधा र श्रोत परिचालनमा एक रुपता कायम गर्ने लगायत सहमति भएको छ । बैठकले स्थानीय तहका सरकारसँग पनि कृषि क्षेत्रको कार्यक्रमबारे समन्वय छलफल गर्ने निर्णय गरेको छ ।