Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रहरीमा छायाँ आइजीपीको चलखेल


    सोमबार, फाल्गुन २६ २०७६
    650
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, २६ फागुन ।

    नेपाल प्रहरीमा छोटो समयका लागि आइजीपी भएका ठाकुरप्रसाद ज्ञवाली सज्जन स्वभावका मानिन्छन् । उनको सज्जनपनको लाभ उनका भाइ एसएसपी श्याम ज्ञवालीले लिन थालेका छन् । प्रहरी संगठनमा भाइ ज्ञवालीलाई छायाँ आइजीपीका रुपमा लिने गरिएको छ । आइजीपीको भन्दा भाइको निवास बालाजुमा ठेकेदारदेखि सरुवा बढुवाका आकांक्षीहरुको भीड लाग्ने गरेको प्रहरी स्रोत बताउँछ ।

    दाजु आइजीपी भएको मौकालाई सदुपयोग गर्र्दै भाइ ज्ञवालीले डीआइजीको दरबन्दी कटौती गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सचिव महेश्वर न्यौपानेको गृहकार्यलाई नै असफल बनाउन लागेका छन् । 
    देश संघीय संरचनामा गइसकेपछि प्रहरी नायब निरीक्षक(डीएसपी) सम्म प्रदेश सरकार मातहत रहने भएकाले डीआइजीको संख्या कटौती गर्ने गृहकार्य मन्त्री थापा र सचिव न्यौपानेले गरिरहेका छन् ।

    \"Image

    हाल प्राविधिकसमेत गरी नेपाल प्रहरीमा ३४ डीआइजीका दरबन्दी छन् । यीमध्ये १० वटा कटौती गर्ने गृहकार्य भइरहेको छ । तर एसएसपी ज्ञवाली भने हाल आर्थिक प्रशासन महाशाखाका एसएसपी दीपक थापाको सहयोगमा गृहसचिव न्यौपानेकोमा प्राविधिकतर्फको दरबन्दीमात्र कटौती गरी इन्फ्रेन्ट्रीतर्फको यथावत राख्न वा कटौती गरिहाले पनि ५ वटामात्र गर्ने लविङमा छन् । 

    दरबन्दी कटौती गर्नबाट रोकेर आगामी साउनमा विश्वराज पोखरेलको शैलीमा डीआइजी बढुवा हुने दाउमा एसएसपी ज्ञवाली छन् । १० वटा दरबन्दी कटौती भए आफ्नो बढुवा हुने संभावना नभएकाले पनि उनी डीआइजीको दरबन्दी खारेज गर्न नदिने खेलमा लागेका छन् । भाइ ज्ञवालीकै कारण डीआइजी बढुवामै बिलम्ब भइरहेको छ ।
    सर्वेन्द्र खनालको टीम आउट
    प्रूर्वआइजीपी सर्वेन्द्र खनालले सचिवालयमा राखेकाहरुलाई छानीछानी परिवर्तन गरिएको छ । र, उपेन्द्रकान्त अर्यालको सचिवालयमा राखिएकाहरुलाई सचिवालयमा राखिएकाहरुलाई प्राथमिकतासाथ ल्याउने भूमिका पनि भाइ श्यामले गरेका छन् । सबैभन्दा पहिला प्रबन्धका इन्स्पेक्टर केशवप्रसाद गौतमलाई हटाइएको छ । त्यसपछि डीएसपी गौतम केसीलाई हटाएर एसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ ।

    खनालले सई कृष्णदेव साहलाई घुमुवा टोलीको इन्चार्ज राखेका थिए । ठाकुर ज्ञवालीले सई रमेश बजगाईलाई ल्याएका छन् । बजगाई गुण्डानाइके समीरमान बस्नेतको समूहसँग कनेक्सन भएका भनेर खनालले उनलाई ट्राफिकमा सरुवा गरेका थिए । खनालनिकट भनेर कालिमाटी बृत्तका डीएसपी रुगम कुँवरलाई पनि तान्ने खेल भइरहेको छ ।

    कास्कीका एसपी दानबहादुर कार्कीलाई पनि भाइ श्यामले छिटोभन्दा छिटो तान्न खोजिरहेका छन् । कार्कीले खनालको पालामा सचिवालयमा बसेर आफूलाई एसएसपी बढुवामा पछि पारेको ठम्याईमा श्याम ज्ञवाली छन् । 
    सामान नै नआई १४ करोड भुक्तानी दिने तयारी
    आइजीपी ठाकुर ज्ञवाली भएपछि भाइले ठेकेदार दीपक भट्टलाई वाटर क्याननको बाँकी १४ करोड रुपैयाँ भुक्तानी दिनका लागि प्रक्रिया सुरु गरिसकेका छन् । ७ वटा वाटर क्याननको ठेक्का पाएका भट्टले ५ वटामात्र ल्याएका छन् । २ वटा ल्याउन बाँकी भएकाले भुक्तानी पाउन सकेका थिएनन् । ठाकुर ज्ञवाली आइजीपी भएपछि उनले गृहमन्त्रालयका सचिव न्यौपानेमार्फत् पनि भुक्तानीका लागि लविङ सुरु गरेका छन् । केही दिनअघि नेकपाका नेता महेश बस्नेतलाई लिएर उनी गृहसचिव न्यौपानेलाई भेट्न गएका थिए ।

    यसैबीच, भाइ ज्ञवालीले पूर्वआइजीपी खनालले बजेट सबै सकेको हल्ला चलाए पनि करिब २ अर्ब बजेट बाँकी रहेको छ । जुन बजेट फ्रीज हुने अवस्था छ । बजेट सकेको हल्ला चलाएर ज्ञवालीले दिनदिनै टेण्डर सूचना निकालिरहेका छन् । गोलीगट्ठा, लत्ताकपडा जस्ता सामान खरिद गर्न लागिएको छ । जुन टेण्डरमा सेटिङ गर्नका लागि आइजीपी ठाकुरसँगै अवकाश हुन लागेका डीआइजी सूर्यप्रसाद उपाध्यायलाई प्रबन्धमा ल्याउन लागिएको छ । सोमबारको साँघु साप्ताहिकमा समाचार छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार