Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्लागण्डकी नगरपालिकाद्वारा पाँच करोडभन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण


    मंगलबार, कार्तिक २३ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • तनहुँ । शुक्लागण्डकी नगरपालिकाले पहिलो त्रैमासिकमा पाँच करोड रुपैयाँभन्दा बढी सामाजिक सुरुक्षाभत्ता वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७८÷७९ को पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्तसम्म) मा पाँच करोड २० लाख ९७ हजार आठ सय २९ रुपैयाँ भत्ता बैंकमार्फत वितरण गरेको नगरपालिकाकी सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख मञ्जु सुवेदीले जानकारी दिइन।

    उनका अनुसार नगरपालिकाका १२ वडाका पाँच हजार ६ सय पाँच जना सामाजिक सुरक्षा भत्ता पाउन योग्य लाभग्राही छन् । ज्येष्ठ नागरिक, दलित,  एकल महिला, विधवा महिला, अपांगता भएका, लोपोन्मुख एवं दलित बालबालिकालाई राज्यले दिने सामाजिक सुरक्षा भत्ता नगरपालिकाले वितरण गर्ने सुवेदीले बताइन । नगरपालिकाले वडाअनुसार विभिन्न बैंकसँग सहकार्य गरेर बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । ‘वडालाई पायक गर्नेगरी विभिन्न नौ बैंकमार्फत भत्ता वितरणको व्यवस्था मिलाइएको छ,’ उनले भनिन् ।

    नगरपालिकामा ७० बर्षमाथिका ज्येष्ठ नागरिक दुई हजार सात सय ९६ जना छन् । ज्येष्ठ नागरिक दलित चार सय ८२, ज्येष्ठ नागरिक एकल महिला ६ सय ११, विधवा महिला सात सय ७१, अपांगता भएका ‘क’ वर्गका एक सय ५२, अपांगता भएका ‘ख’ वर्गका दुई सय ३९ र दलित बालबालिका पाँच सय ५३ जना रहेका छन् ।

    ७० बर्षमाथिका ज्येष्ठ नागरिकलाई चार हजार रुपैयाँ, पूर्ण अपांगता ‘क’ वर्गको परिचयपत्र भएकालाई तीन हजार नौ सय ९० रुपैयाँ,  अति अशक्त अपांगता ‘ख’ वर्गको परिचयपत्र  भएकालाई दुई हजार एक सय २८ रुपैयाँ, ज्येष्ठ नागरिक दलित, एकल महिला र विधवालाई दुई हजार ६ सय ६० रुपैयाँ र दलित बालबालिकालाई पाँच सय ३२ रुपैयाँ सरकारले मासिक सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।

    गत बर्षसम्म चौमासिक रुपमा सामाजिक सुरक्षाभत्ता वितरण हुने गरेकोमा यस बर्षदेखि त्रैमासिक दिन थालिएको हो । विपन्नका लागि सामाजिक सुरक्षाभत्ता गुजारा चलाउने माध्यम बनेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार