Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाबुराम भट्टराईको हरिबिजोग, पहिलोबाट चौथो बरियतामा धकेलिए


    आइतबार, जेष्ठ २५ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । पदीय भागबण्डा नमिलेका कारण एकता भएको करिब डेढ महिनासम्म अन्तरकलहमा रुमल्लिएको जनता समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । तर दल दर्ता गर्दा डा. बाबुराम भट्टराईको हैसियत भने चौथो नम्बरमा पुगेको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी दल एकता भएर बनेको जनता समाजवादी पार्टीमा ’दल दर्ता गर्दा पूर्वप्रधानमन्त्री भट्टराईको हुर्मत नै लिइएको छ ।

    दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नाम छ । पहिला बनाइएको फम्र्याटमा डा. भट्टराईको नाम अध्यक्षकै रुपमा ठाकुरपछि दोस्रो नम्बरमा थियो । तर आइतबार दिएको निवेदनमा उनको नाममा टिपेक्स लगाइएको छ । र, अशोककुमार राईपछि हातले लेखेर उनको नाम बरिष्ठ नेताका रुपमा थपिएको छ । यसअघि समाजवादी पार्टीमा डा. भट्टराई पहिलो बरियताका अयक्ष थिए । तर जनता समाजवादी दल दर्ताका लागि दिएको निवेदनमा उनको नाम अशोक राईपछि राखेर उनको अपमान गरिएको छ ।

    तत्कालीन समाजवादी पार्टीमा भट्टराई संघीय परिषद अध्यक्ष थिए भने उपेन्द्र यादव कार्यकारी अध्यक्ष थिए । तर बरियता भने भट्टराईको पहिलो थियो । तर जनता समाजवादी दल दर्ता गर्दा उनको नाम अशोक राईपछि राखिएको छ, जसलाई सामाजिक संजालमा डा. भट्टराईको बिजोग भनेर पत्रकार प्रकाश तिमल्सिनाले टिप्पणी गरेका छन् । उनले लेखेका छन्–‘डा. बाबुराम भट्टराईको यो हालत होला भनेर कहिल्यै कल्पना गरिएको थिएन, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान सायद उनका लागि बनाइएको थियो होला किनकि उनी महन्थ ठाकुर, उपेन्द्र यादव र अशोक राई भन्दा तल चौथो मर्यादाक्रममा परेछन् ।
    कस्ता बाबुराम कस्ता भए, हरे शिव !!!’

    दल दर्ताका लागि दिएको निवेदनमा ठाकुर, यादव, राई, भट्टराई र राजेन्द्र महतो गरी ५ जनाको नाम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमा राजनीतिक दलसम्बन्धी ऐनको दफा संंशोधन गरेर पार्टी फुटाउने भएपछि २०७७ बैशाख १० गते मध्यरातमा राजपा र समाजवादी पार्टी एकता गर्ने निर्णय गरी निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर नेतृत्वमा सहमति हुन नसकेका कारण दल दर्ताका लागि डेढ महिनामा आयोगमा निवेदन दिएका छन् ।

    पूर्वप्रधानमन्त्री डा.भट्टराईलाई दल दर्ता अध्यक्षका रुपमा राख्न राजपा सहमत भए पनि उपेन्द्र यादवले महन्थ ठाकुर र आफ्नो नाम मात्र अध्यक्षमा हुनुपर्ने अडान राख्दैआएका कारण डा. भट्टराई चौथो नम्बरमा पुगेका छन् । नयाँशक्ति पार्टी समाजवादीमा बिलय गराएका डा. भट्टराईले अब के गर्ने हुन् ? प्रत्येक घटनामा सामाजिक संजालमा तुरुन्त प्रतिक्रिया दिइहाल्ने डा. भट्टराई आइतबार भएको दल दर्ताको बारेमा भने अहिलेसम्म मौन देखिएका छन् । उनको मौनताले उनी चौथो नम्बरमै बस्न राजी भएको अर्थ लगाउन थालिएको छ ।

    dal darta 3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार