काठमाडौँ । तोकिएको परिमाण भन्दा बढी रक्सी बोकेर आएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई जरिवाना गरिनुका साथै बढी भएको रक्सी जफत गरिएको छ ।
लन्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर फर्किएका डा. रेग्मीको साथबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले ४ बोतल रक्सी जफत गरेको हो । साथै कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै त्रिभुवन भन्सार कार्यालयले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
‘भन्सारका कर्मचारीलाई राम्रो व्यवहार गरेनन् भन्ने आएपछि सोही अनुसार जरिवाना गरियो’ प्रमुख भन्सार प्रशासक महेश भट्टराईले भने, ‘उनले तोकेको परिमाण भन्दा बढी अल्कोहल ल्याएका थिए, त्यो जफत गरियो ।’
प्रतिव्यक्ति एक बोतल ल्याउन पाउने भएपनि रेग्मीसहित दुई जना मात्रै रहेकोले ६ वटा बोतल भेटिएपछि दुई जनालाई एक-एक बोतल छोडेर बाँकी ४ वोत्तल जफत गरिएको प्रशासक भट्टराईको भनाई छ ।