Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंगारु, गर्रा र लहरे नाच संरक्षणमा देउसीभैलो


    आइतबार, कार्तिक २१ २०७८
    425
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • नेपालगञ्ज, २१ कात्तिक 

    आधुनिक म्युजिक सिस्टमको प्रयोगमा रमाउने युवा जमातलाई समेटेर बाँके खजुरा गाउँपालिका–४ का स्थानीयले लोप हुन लागेका सिंगारु, मयूर (गर्रा) र लहरे नाचसहित देउसीभैलो खेलेका छन् । 

    सल्यान, रुकुम, सुर्खेत सिम्ता क्षेत्र, जाजरकोटलगायतका पहाडी जिल्लाबाट बसाइ सरेर खजुरामा आएकाहरूको समूहले पछिल्लो समय डिजे तथा साउण्ड सिस्टमको प्रयोग गरी सांस्कृतिक कार्यक्रम गर्दा गर्रा (मयुर) नाच, सिंगारु नाच, लहरेनाच लोप हुन लागेकोले आफूहरूको सक्रियतामा युवादेखि जेष्ठ नागरिकसम्मको सहभागितामा मौलिक संस्कृति रक्षामा लागेको टोलीका अगुवासमेत रहेका ६७ वर्षीय रुपसिंह भण्डारीले जानकारी दिए ।

    मयूर, सिंगारु र लहरे नाच संरक्षण गर्ने र मनोरञ्जन गर्ने उद्देश्यले देउसीभौलो कार्यक्रम गरेको उनको भनाइ छ ।  घाँटीमा टेम्केको डोरी मिलाउँदै उनले भने, ‘हराउँदै जान लागेको संस्कृति जोगाउन यो वर्षदेखि १४ वर्षका किशोरदेखि ७० वर्षका जेष्ठ नागारिकहरूको समूह बनाएर देउसीभैलो खेल्दै हिँडेका हौँ । यसले मनोरञ्जनसँगै संस्कृतिको संरक्षण गर्ने हाम्रो उद्देश्य छ ।’

    टेम्के, बाँसुरी, मादलको तालमा ताल मिलाउँदै किशोरदेखि जेष्ठ नागरिकको टोलीले लहरे नाच, सिंगारु नाच र गर्रा नाच नाचेर देउसीभैलो खेल्दा अत्यन्तै रमाइलो महसुस भएको स्थानीय ६७ वर्षीय तुलबहादुर विश्वकर्माले बताए । उनले आफूमा रहेको सांस्कृतिक सिप अर्को पुस्तालाई सिकाउन पाउँदा खुसी लागेको बताए । 

    उनले लहरे नाच, गर्रा नाच र सिंगारु नाच तीनवटै नाच आफू पनि नाच्ने र अरुलाई पनि नचाउने कार्यमा संलग्न भएको बताए । ‘हामीलाई हाम्रो संस्कृति हामीसँगै लोप भएर जान्छ कि भन्ने चिन्ताले सताएको थियो । तर, हामीसँगै हाम्रा सन्ततीले सिंगारु, गर्रा र लहर नाचप्रति आकर्षित भएकाले हर्षित भएका छौ, उनले भने । 

    बाँसुरी तथा मादल र टेम्केको तालमा ताल मिलाउँदै नाच्न कठिन हुने शेरबहादुर विसीले बताए । यसैगरी सिंगारु नाचमा पुरुषले महिलाका वस्त्र लगाएर महिलाको जस्तो भेष बनाई नाच्ने गरिन्छ । गर्रा नाचमा मयूरको प्वाँखको विषेश पोषाक बनाई नाच्ने गरिने भएकोले यसलाई मयूर नाचसमेत भन्ने गरिएको उनले बताए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार