Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ इलेक्ट्रिक सामान र स्याउ नेपाल हुँदै भारततर्फ तस्करी, ८ थान ड्रोन क्यामरा बरामद 


    शुक्रबार, कार्तिक १९ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • जनकपुरधाम । सशस्त्र प्रहरी बलले चीनबाट नेपाल हुँदै भारततर्फ लान लागेको ८ थान ड्रोन क्यामरा बुधबार धनुषाको मुखियापट्टी मुसरनीयाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको टोलीले उक्त ड्रोन क्यामरा र ज ९ प १३५ नम्बरको एक थान मोटरसाइकल बरामद गरी जनकपुर भन्सार कार्यालयमा बुझाएको हो ।

    धनुषाको राघोपुर, बहेडाबेला, मुखियापट्टी मुसरनीयाघाट लगायतका नाकाबाट दैनिक ४०-५० लाख रुपैयाँ बराबरको चाइनिज इलेक्ट्रोनिक्स सामानहरु भारततर्फ चोरी निकासी हुने गरेको सशस्त्र प्रहरीकै स्रोत बताउँछ । चिनियाँ ड्रोनक्यामरा, सीसीटीभी जस्ता उपकरणहरु दैनिक ४० देखि ५० लाख बराबरको भारततर्फ भन्सारछली गरी जाने गरेको भए पनि सशस्त्र प्रहरीले बुधबार ८ थान बरामद गरेको छ ।

    “महिनौंदेखि धनुषाका नाकाहरुबाट भन्सार छली निकासी पैठारी हुने गरेको सूचना प्राप्त भए पनि हामीले पक्राउ गर्न नसकेको र यस पटक सूचना पाए पनि आधा सफलता मात्र पाएको” सशस्त्रको क्वार्ड टोलीमा रहेको एक प्रहरीले बताएका छन् । उनले भने-“दुई वटा नेपाली मोटरसाइकलमा ड्रोन क्यामरा भारत लगिंदैछ भन्ने बिशेष सूचना पाएको आधारमा गयौं तर एउटा बाइक मात्र समात्न सक्यौं ।’ भन्सारछली गरेको सामान बोकेको अर्को मोटरसाइकल भारततर्फ भाग्न सफल भएको सशस्त्र प्रहरीले नै स्वीकार गरेको छ ।

    नेपाल र सशस्त्र प्रहरीको सेटिङमा सधैं धनुषाको यो नाका हुँदै नेपालबाट केराउ, मरिच, टुथपेस्ट, फेयर एण्ड लभ्ली, चाइनीज स्याउ र रक्सी भारत तस्करी हुने गरेको छ भने भारतबाट लत्ताकपडा, पाउडर दुध, तेल, चिनी, चप्पल तथा घरायसी सर-समान नेपाल भित्रिने गरेको छ ।

    केही महिनायता उमेश साह, सुल्तान मियाँ, बिन्देश्वर नायक, फेकन लगायतका ब्यापारीहरुले दोहोरो तस्करी थालनी गरेका छन् । यसमध्ये बिन्देश्वर नायकले केही दिनयता इलेक्ट्रोनिक्स चाइनीज सामान भारत पठाउने काम शुरु गरेका थिए । अहिले मुख्यतः रक्सी, इलेक्ट्रोनिक्स चाइनीज सामान र इन्धन ब्यापक रुपमा भारत पठाउने गरिएको छ ।

    यसरी बाहिनीबाट खटिएको क्वार्ड टोलीले धनुषा आएर ड्रोन क्यामरा समातेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियतमाथि शंका उब्जिएको छ । महिनौंदेखि खुलेआम तस्करी हुँदैआएकोमा बुधबारमात्रै ड्रोन क्यामरा समातिनु २ नम्बर प्रदेशको लागि नयाँ र चर्चाको बिषय बनेको छ ।

    सीमाको तस्करी नियन्त्रणका लागि राखिएको धनुषाकै सशस्त्रको गण र जिल्ला प्रहरी कार्यालय धनुषाले पनि तस्करीमा आँखा चिम्लिएको बाहिनीको टोलीले ड्रोन क्यामरा बरामद गरेबाट पुष्टि गरेको छ । यी तस्करहरुले जिल्लास्थित नेपाल प्रहरी र सशस्त्रको गणका गणपति नरेन्द्र सेनलाई समेत सेटिङ गरी निर्बाध तस्करी गर्न छुट पाउँदैआएको ड्रोन बरामदबाट देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार