काठमाडौं, २६ फागुन ।
३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन सकेको छैन । बरु युएई प्रहरीले तारेखमा छाडिदिएका उनीहरू दुबईमै व्यापार गरिरहेका छन् । उनीहरू तस्करीका मुख्य लगानीकर्ता कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र रमेश उप्रेती हुन् । रमेश ३३ किलो सुनतस्करी र सनम शाक्यको हत्या अभियोग लागेका चुडामणि उप्रेती ‘गोरे’का भाइ हुन् ।
यी तीनैजनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेपछि पक्राउ परेका थिए । दुबई प्रहरीले उनीहरूलाई तारेखमा राखे पनि नेपाल फर्काउन भने मानेको छैन । उनीहरूको दुबईमा सुन पसल, रेस्टुरेन्ट तथा ट्राभल एजेन्सीमा लगानी छ । सुरुमा युएई प्रहरीले पक्राउ परेकाविरुद्धको सम्पूर्ण कागजपत्र पठाउन नेपाल प्रहरीलाई आग्रह गरेको थियो । सोहीअनुसार प्रहरीले उनीहरूविरुद्धका प्रमाण पठाएको थियो । तैपनि युएईले नेपाल ‘डिपोर्ट’ गर्न मानेको छैन । स्रोतका अनुसार पछिल्लो समय उनीहरूले औपचारिक माध्यमबाट आउन आग्रह गरेका छन् ।
औपचारिक माध्यम भनेको सुपुर्दगी सन्धि हो । तर, नेपाल र युएईबीच यस्तो सन्धि छैन । जसकारण उनीहरूलाई नेपाल ल्याउन समस्या भएको प्रहरी अधिकारी बताउँछन् । यद्यपि प्रहरी प्रधान कार्यालयले गृह, परराष्ट्र मन्त्रालय हुँदै युएई सरकारलाई पत्राचार भने गरेको छ ।
विगतमा दुई देशका प्रहरीबीचकै समन्वयमा कतिपय अभियुक्तलाई दुबईबाट ल्याइएको छ । सुन तस्करीमै संलग्न रोशन भूसाल उर्फ गुप्तलाल, बेनु श्रेष्ठ, राजन पन्तलगायतलाई दुबईबाट पक्राउ गरी ल्याइएको थियो । त्यतिबेला केही महिनापछि नै युएई प्रहरीले निष्कासन गरिदिएको थियो । दुबई मात्र होइन, अन्य देशबाट अभियुक्त ल्याउन पनि नेपाल प्रहरीलाई समस्या छ । मानव तस्करीमा इन्टरपोलले रेड नोटिस जारी गरेका सुदर्शन गौतम क्यानडामा व्यापार गरेर बसिरहेका छन् । क्यानडा प्रहरीले उनलाई फर्काउन मानेको छैन । दुई देशबीच कानुनी सहायता तथा सुपुर्दगी सन्धि नभएकाले नै पठाउन नमानेको प्रहरी अधिकारीहरू बताउँछन्, आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
रोशन भूसाल र हरि खड्का सुन तस्करी सँगै गर्दैआएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले २०७३ पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिसकेको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन बरामद गरेको थियो । विमानस्थल भन्सारबाटै ३३ किलो अवैध सुन बाहिरिएपछि सुन तस्करीको सञ्जालबारे प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा दुवईबाट सुनको तस्करी गर्ने मुख्य दोषी किटान गरिएका हरिशरण खड्का र रोशन भूसाललाई प्रहरीले पक्राउ गर्न नसकेपछि इन्टरपोलमार्फत् रेडकर्नर नोटिस जारी गरेको थियो । तीमध्येका खड्का पक्राउ परेका छन् भने भूसालको मुद्दा जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै अहिले सर्वोच्च अदालतमा चलिरहेको छ ।
सुनतस्करीमा संलग्न भनेर त्यतिबेला सीआइबीले विमानस्थलका एसपी श्याम खत्री, गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठलाई पक्राउ गरेको थियो । तर दुवईबाट सुन नेपालमा पठाउँदैआएका भूसाल र खत्रीलाई भने पक्राउ गरेको थिएन । ती मध्ये खड्का दुबईमा पक्राउ परे भने भूसाललाई प्रहरीका उच्च अधिकारीले नै जोगाउने काम गरेका थिए । विमानस्थल भन्सारबाट पार भएको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन सिआईबीले विमानस्थलबाट बरामद गर्दा भूसाल र खड्काको मुख्य संलग्नता खुलेको थियो । तर, सुन बरामद भएको भोलिपल्टै भुसाल प्रहरीकै मिलेमतोमा दुवई भागेका थिए ।