Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६६ लाख मूल्यको अवैध सामान बरामद


    बुधबार, कार्तिक १७ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बुटवल।रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ६६ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१ तिनाउ पुलस्थित भारतबाट अवैध रूपमा ल्याउँदै गरेको लिपगार्ड ५५ बन्डल, उनी कुर्ता सरवाल २३६ पिस, चुन्नी ६ सय पिस र बनारसी साडी ६७ पिस गरी जम्मा ५१ लाख ४८ हजार बराबरको अवैध सामान बरामद गरेको छ । 

    उक्त सामान बोक्नका लागि प्रयोग भएको लु१ज ४६३६ र लु१ज ३७८७ नम्बरको पिकअप गाडी र गाडीका चालक रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय तुल्सी थारी र सोही ठाउँ बस्ने ४० वर्षीय मीनप्रसाद भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    त्यस्तै प्रहरीले रुपन्देहीको मायादेवी गाउँपालिका–७ वनगाईस्थित भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १४ हजार मूल्य बराबरको चिनी बरामद गरी भन्सार कार्यालय बेलहिया पठाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–१५ मधवलिया चोकस्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको एक लाख १९ हजार ७५० रुपैयाँ बराबरको सर्ट कपडा ४७९ मिटर, तिलोत्तमा–१५ कोटिहवास्थित अवैधरुपमा ल्याउँदै गरेको स्पोर्टर्स जुत्ता २५१ जोर र छाला जुत्ता ७६ जोर गरी ४ लाख १५ हजार २ सय रुपैयाँ बरबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

    यसैगरी वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले जिल्लाको मायादेवी गाउँपालिका–८ विश्वकर्मा मन्दिरस्थित भारतबाट अवैध रूपमा ल्याएको ५० केजी चिनी, लेडिज कुर्ता ४७ पिस, पावर स्टेरिङ पम्प ३१ पिस, पावर स्टेरिङ किट १९ पिस, एलइडी ब्लव ९० पिस गरी ४ लाख ४८ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरी भन्सार पठाएको छ । इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको टोलीले मर्चवारी गाउँपालिका–६ ठर्कास्थित लु १ ज २९९९ नम्बरको पिकअपमा भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४ लाख मूल्य बराबरको २३ बोरा फूलको माला बरामद गरी आवश्यक कारबाहीका लागि बेलहिया भन्सार पठाएको छ । 

    प्रहरी चौकी शुक्रौलीआमा रुपन्देहीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित भारतबाट भन्सार छली ल्याउँदै गरेका ६० हजार मूल्य बराबरको विभिन्न सामान बरामद गरेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए । 

    त्यस्तै प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ बाट २० हजार मूल्य बराबरको अवैध सामान, मायादेवी गाउँपालिका–६ बाट १३ हजार मूल्य बराबरको अवैध सामान र मायादेवी–६ भन्सार चोकबाट १२ हजार बराबरको अवैध सामान पनि बरामद गरेको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार