काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल भएको बताउँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पद त्याग्न सुझाव दिएका छन् ।
नेपाल बार एशोसिएसनको आजको धर्ना कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै कार्कीले आफ्नो फैसला आफैं लेखेर प्रधानन्यायाधीश जबरालाई पद त्याग्न सुझाव दिएका हुन् ।
कार्कीले भने, ‘सम्माननीयज्यूले धेरैको भाग्य निर्धारण हुने गरी फैसला गर्नुभा’छ, अब आफ्नै फैसला आफैं लेखेर अदालतको सम्मान हुने गरी ससम्मान बिदा हुनुहोस् । यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ ।’
यस्तै कार्कीले जबराले अरूलाई मूर्ख (फूल) बनाएर आफूले सम्मानजनक बहिर्गमन खोजेको टिप्पणी समेत गरेका छन् ।
‘सम्माननीयज्यूले जुन ग्रेसफूल भन्नु भएको छ। बाँकीलाई फूल बनाएर ग्रेसफूल एक्जिट हुँदैन’, बारको आन्दोलन अन्तर्गत हातमा कालोपट्टी बाँध्ने कार्यक्रममा बरिष्ठ अधिवक्ता कार्कीले भने, ‘केही मान्छेलाई मण्डलतिर लगाएर अथवा टेलिभिजन अन्तर्वार्ता दिएर डिफेण्ड गर्नुपर्ने अवस्था दु:खद् हो।’