Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेसमा लक्ष्मीपूजाको दिन खेलिन्छ हुक्कापाति, पितृ स्वर्गलोक जाने मान्यता


    आइतबार, कार्तिक १४ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सप्तरी । लक्ष्मीपूजाको दिन मधेसमा पूजा सकेलगत्तै सन्ठी, सनपाट र खरले बनाएको हुक्कापाति खेल्ने चलन छ। लक्ष्मीपूजा गर्ने बेलामा कलशमा दीयो बालिन्छ। घरमा जति जना पुरूष सदस्य छन्, त्यतिवटा हुक्कापाति राखिएको हुन्छ। पूजा सकिएलगत्तै घरमुली पुरूष पात्रले अघिअघि र अन्यले पछिपछि एउटा एउटा हुक्कापाति बोकी बलिरहेको दीयोको आगोमा सल्काई हुक्कापाति प्रत्येक कोठामा देखाउँदै धान र दूवाे छर्कंदै घर बाहिर ल्याउने र सबैले बोकेको हुक्कापाति एकै ठाउँमा बालेर हामफालेर खेल्ने चलन छ।

    ‘बाल्यकालदेखि नै हुक्कापाति खेल्दै आएको स्मरण गर्दै विष्णुपुर गाउँपालिकाका ५० वर्षीय विजय देव भन्छन्, ‘किन र केका लागि खेल्ने गरिन्छ ? जानकारी छैन। सबैले खेलेकाले हामीले पनि खेल्दै आएका हौं।’ उनलाई मात्र होइन, मधेसका अधिकांश युवालाई हुक्कापाती किन खेलिन्छ भन्ने थाहा छैन ।

    दसैँअघि हुने श्रोह्र श्राद्धमा पितृहरू मृत्युलोक आएपछि लक्ष्मीपूजासम्म फर्केर गएका हुँदैनन्। उनीहरूलाई यतै रमाइलो लाग्न थाल्छ। त्यसैले उनीहरू पुनः फर्किन चाहँदैनन्। उनीहरूलाई जान बाटो देखाउन हुक्कापाति खेल्ने परम्परा रहेको प्राचार्य राजीव झा बताउँछन् ।

    हुक्कापाति खेलिसकेपछि पितृहरू स्वर्गलोक जाने जनविश्वास रहेकाले यसदिन सदीयौंदेखि हुक्कापाति खेल्दै आएको उनको भनाइ छ। घरमाथि हुक्कापाति राख्ने चलनसमेत छ।

    अहिले पितृको किरिया र श्राद्ध कतै कतै छोरीले गर्न थालेका छन्। पहिले पहिले छोराले मात्र गर्दै आएकाले हुक्कापाति खेलेर पितृलाई पठाउने काममा पनि त्यतिबेलादेखि नै पितापुर्खाले छोरा मान्छेलाई नै सहभागी गराउँदै आएको मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष देवेन्द्र मिश्र बताउँछन् ।

    पहिले सन्ठी, खर र सनपाटले घरघरमा हुक्कापाति बनाए पनि अहिले खासगरी सहरी क्षेत्रमा हुक्कापाति किनेर प्रयोग गर्न थालेको राजविराज नगरपालिकाका अरबिन्द चौधरीले बताए।

    लक्ष्मीपूजा आउनु एक साताअगाडिदेखि नै सहर, बजारको घरघरमा हुक्कापाति किनबेच हुँदै आएको झा बताउँछन् ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको तोपाका श्यामसुन्दर पासवानलाई लक्ष्मीपूजाको एक साताअघिदेखि नै हुक्कापाति बनाउन भ्याइनभ्याई हुन्छ। उनी दिनहुँ एक सय हुक्कापाति लिएर राजविराज बजार निस्किन्छन्। १० बजेतिर एक हजारदेखि १२ सयमा बेचेर घर फर्किने गरेका छन्।

    ‘मधेसमा घरघरमा हुक्कापाति खेल्ने चलन रहे पनि ग्रामीण भेगमा सबैले आफै बनाउँछन् । सहरी क्षेत्रमा कसैकसैले मात्र बनाउँछन् । धेरैले किनेर प्रयोग गर्ने गरेका छन्,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार