चन्द्रशमशेरले बालकुमारीलाई तिम्रो माइती देशको समस्या के छ भनेर सोध्दा भेरी नदी तर्न पुल र खानेपानीको समस्या छ भनेर भन्दा तत्काल उक्त कुरा पूरा गरिदिनु भनी चन्द्रशमशेरले आदेश दिएको एक थरीको भनाइ छ भने अर्को थरीको भनाइमा बालकुमारीले पुल र खानेपानीको व्यवस्था गरिदिन आफ्ना पति चन्द्रशमशेरलाई आग्रह गरेकी थिइन् ।
बालकुमारीको कुरालाई चन्द्रशमशेरले खासै चासो नदेखाएपछि उनले भोक हड्ताल नै गर्नुपरेको थियो । ‘जबसम्म मेरो माइती देशमा खानेपानी र भेरी नदीमा पक्की पुल हुँदैन तबसम्म दरबारको भुजा खान्न’ भनेर अड्डी लिएपछि पुल र धारा बनाउन भीमशमशेरले १९७३ मा आदेश दिएको कुरा राजुराजा सिंहको जाजरकोट परिचय पृष्ठ ८ र ३२ मा उल्लेख छ ।
तत्कालीन सरकारले पुल बनाउन बेलायत सरकारको सहयोग लिएको थियो । बेलायतको स्कटल्याण्डका एक इन्जिनियरको स्टिमेट तथा डिजाइनमा बनेको यो पुल एक शताब्दी पुग्न लाग्दा पनि जस्ताको तस्तै छ । दाङको कोइलावास नाकाबाट हात्तीद्वारा पुलका लागि आवश्यक पर्ने फलामे (लहरा) लठ्ठा ल्याइएको थियो । जाजरकोटवासीले पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी लगायतका काममा श्रमदान गरेका थिए ।
यो झोलुङ्गेपुलमा सुरुमा काठका फ्ल्याक राखिएको थियो । दशदश वर्षमा काठ फेर्ने गरिन्थ्यो । ५० को दशकपछि स्टिल पार्ट राखिएको छ । तत्कालीन जाजरकोट राज्यले उक्त पुल तरेबापत् कर लिने गर्दथ्यो । एकपटक पुल तरेको सुरुमा दुई पैसा, पाँच पैसा हुँदै १० पैसासम्म असुल गर्ने गरेको बूढापाकाहरू भनाइ छ । २०१८ सालपछि राज्य रजौटा उन्मूलन गरिएपछि तत्कालीन पञ्चायत सरकारले २५ पैसा हुँदै ५० पैसासम्म कर असुली गरेको पाइन्छ । बहुदलीय व्यवस्थाको पुनस्र्थापनासँगै पुल तरेको कर लिन पनि बन्द भएको थियो ।
सदरमुकाम खलंगाबाट छ किलोमिटरको दूरीमा रहेको मटेला पुल क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने ठाउँ हो । चलचित्र छायाङ्कनका लागि पनि यो क्षेत्र उपयुक्त मानिन्छ । पुल बनेको चार वर्षपछि अर्थात् १९८४ सालमा बुदबुदीबाट पानी ल्याएर खलंगामा खानेपानी ल्याइएको थियो । जाजरकोट दरबार रहेको खलंगा क्षेत्रमा खानेपानीको निकै समस्या थियो । सदरमुकाम आसपासमा रहेका मुहान गर्मीयाममा सुक्ने भएकाले मानिसहरू कोठखोला, फूलबारी, मूलपानी, स्यालालगायतका ठाउँबाट पानी बोके र ल्याउने गर्दथे । दरबारमा सबै रैतीले पालैपालो पानी बोकेर पुर्याउनु पर्थ्याे । आयोजना सम्पन्न भएपछि खलंगामा २४ सै घण्टा आउने १० कलधारा सञ्चालनमा ल्याइएको थियो ।
खानेपानी पुगेपछि खलंगावासी निकै खुसी भएका थिए । चारैतिर वनजंगलले घेरिएको बुदबुदी क्षेत्र निकै मनमोहक छ । त्यतिबेला निर्माण गरिएको सदरमुकामका कतिपय धाराहरू हटाइए पनि बुदबुदी क्षेत्रमा निर्माण गरिएका खानेपानीका ट्यांकी संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । खानेपानी र पुलको समस्या समाधान गरिदिएकोमा अहिले पनि राजकुमारी बालकुमारी शाहलाई जाजरकोटवासीले सम्झिरहन्छन् । उनको योगदानलाई जाजरकोटवासीले उच्च कदर तथा सम्मान गरिरहेका छन् ।
अहिले उनले पहलमा निर्माण भएका संरचनाहरू जीर्ण भए पनि मर्मततर्फ ध्यान भने कसैको गएको छैन । पुल राखिएका फलामका पिलेटहरू निकालिएका छन्, लठ्ठाहरू चुँडिएका छन् । हेमन्त केसी/न्युज कारखाना