Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशमा घुमुवा अप्रेसनः घुस असुलीमा खटाइएका घुमुवालाई प्रहरी मुख्यालयमा तानियो


    बिहिबार, कार्तिक ११ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका जिल्लामा प्रहरी आचरणबिपरीत अनियमिततामा संलग्न घुमुवाहरुलाई प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखाले प्रदेशका प्रमुख र जिल्लाका प्रमुखले अतिरिक्त आम्दानीका लागि परिचालन गरेका विभिन्न दर्जाका १४ घुमुवालाई प्रहरी प्रधान कार्यालयमा ४ दिनभित्र उपस्थित हुनका लागि २०७८ कात्तिक ३ मा पत्र काटेको थियो । चुस्ता २ जोर, आवश्यक पोशाक, दैनिक नित्यकर्मका लागि आवश्यक सामानसहित कात्तिक ७ मा उपस्थित गराइदिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएको थियो ।

     जिल्लाका प्रहरी हाकिमहरुकै मिलेमतोमा भन्सारछली बढेको र घुमुवा राखी घुस असुली गर्ने गरेका गुनासा ब्यापक आउन थालेपछि प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा अनुगमन टोली पठाएको थियो । प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखाबाट प्रदेश नम्बर २ मा एसएसपी भीम ढकाल निरीक्षण तथा अनुगमनमा गएका थिए । लुम्बिनी प्रदेशमा टेकप्रसाद राईलाई अनुगमनमा पठाइएको थियो । 

    अनुगमनका क्रममा प्रदेश २ का ६ जना र लुम्बिनी प्रदेश अन्तर्गतका बाँके, रुपन्देही र दाङका गरी ८ जना घुमुवालाई प्रहरी प्रधान कार्यालयमा हाजिर हुन पत्र काटिएको छ । इप्रका जमुनिया बाँकेबाट  परिचालित प्रनानि पूर्णसिंह खत्रीलाई हेडक्वाटरमा तान्न सिफारिस गरेको छ ।

     बाँकेका घुमुवा प्रनानि माधव रिजाल, लुम्बिनी प्रदेशले परिचालन गरेका प्रनानि बिष्णु गिरी, प्रसनि सन्तोष रायमाझी, प्रहरी जवान कलिम बेहना र परमानन्द बर्मा कुर्मीलाई पनि प्रहरी प्रधान कार्यालयमा उपस्थित गराइदिन मातहतका कार्यालयमा परिपत्र गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी मुकुन्द आचार्यले प्रनानि बिष्णु गिरीको नेतृत्वमा घुमुवाहरु परिचालन गरेको आरोप छ । डीआइजी आचार्यले नै अतिरिक्त आम्दानीका लागि घुमुवा परिचालन गरेपछि रुपन्देहीका एसपी मनोज केसीले प्रसनि कमल भट्टराईको नेतृत्वमा घुमुवा खटाएका छन् । बाँकेका एसपी श्यामकृष्ण अधिकारीले कोरोना संक्रमणको समयमा पनि नेपालगंजमा क्यासिनो संचालन गर्न छुट दिएर लाभ लिएको आरोप लागेको थियो ।

    गएको साउन भदौमा प्रहरी संरक्षणमा नेपालगंजमा मिनी क्यासिनो संचालन भएपछि काठमाडौंदेखि भारतबाट समेत जुवा खेल्नेहरुको लर्को लागेको थियो । बाँकेका एसपी अधिकारीले एउटा क्यासिनोबाट दिनकै ३ लाख भारतीय रुपैयाँसम्म लिएर साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म क्यासिनो सञ्चालन गर्न अनुमति दिएको आरोप लागेको थियो । एसपी अधिकारीले डिआईजी आचार्यलाई समेत सेटिङ गरी क्यासिनो संचालन गर्न छुट दिएका थिए । कोरोनाको संक्रमण उच्च रहेको बेला नेपालगंजका सोल्टी होटल, होटल स्नेहा, होटल ड्रिम ल्याण्ड र होटल सिद्धार्थ भ्यूमा क्यासिनो संचालन गर्न छुट दिएको आरोप प्रहरीलाई लागेको थियो ।  

     त्यस्तै बाँकेका एसपी अधिकारीले गौहत्या जस्तो अपराधमा प्रहरीले आरोपीलाई मुद्दा नचलाई छाडेको बिषय पनि ढिसमिस भएको छ । 
    गएको भदौ ३ गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सिक्टामा ट्रकको ठक्करबाट चार वटा गाईको मृत्यु भएको थियो । यस्तोमा गौहत्या मुद्दा चल्नेमा प्रहरीले मुद्दा नचलाई ट्रक चालकलाई आर्थिक लेनदेनका आधारमा छाडिदिएको थियो ।  

    लु २ ख ३५५ नम्बरको ट्रकको ठक्करबाट स्थानीय विष्णु खड्का लगायतको गाई र गोरुको मृत्यु भएको थियो । स्थानीयले ट्रक चालक रुपन्देहीका सुव्रिभ भल्लाहलाई नियन्त्रणमा लिई प्रहरी चौकी अगैयामा बुझाएका थिए । चौकीका इन्चार्ज शरण भण्डारीले घटना भवितव्य भएको भनेर मुचुल्का बनाई गाईका धनीलाई केही पैसा दिन लगाएर चालकलाई छाडिदिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार