काठमाडौं । प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका जिल्लामा प्रहरी आचरणबिपरीत अनियमिततामा संलग्न घुमुवाहरुलाई प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन पत्र काटिएको छ । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखाले प्रदेशका प्रमुख र जिल्लाका प्रमुखले अतिरिक्त आम्दानीका लागि परिचालन गरेका विभिन्न दर्जाका १४ घुमुवालाई प्रहरी प्रधान कार्यालयमा ४ दिनभित्र उपस्थित हुनका लागि २०७८ कात्तिक ३ मा पत्र काटेको थियो ।
प्रदेश २ मा अनुगमन तथा निरीक्षणमा एसएसपी भीम ढकाल गएका थिए । ढकालले लामो समयदेखि घुमुवाका रुपमा कार्यरत धनुषा र पर्साका ६ प्रहरीको बारेमा आचरण बिपरीत क्रियाकलाप गरेको सिफारिस गरेपछि उनीहरुलाई हेडक्वाटरमा झिकाउन प्रशासन महाशाखाले पत्र काटेको थियो । उक्त पत्रमा महाशाखाले प्रहरीको नामै गलत लेखेको पाइएको छ ।
चुस्ता २ जोर, आवश्यक पोशाक, दैनिक नित्यकर्मका लागि आवश्यक सामानसहित कात्तिक ७ मा उपस्थित गराइदिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएको थियो । ती १४ घुमुवामा पर्साका प्रहरी हवल्दार जागेश्वर यादव पनि थिए । तर प्रहरीको प्रशासन महाशाखाले प्रहरी हवल्दार जलेश्वर यादव लाई उपस्थित गराइदिन भनी लेख्यो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेले जलेश्वर यादव नामको हवल्दार कार्यरत नभएको जवाफ लेखेर प्रशासन महाशाखामा पठाइदिए ।
प्रशासन महाशाखाले जागेश्वरको नाम समेत त्रुटिपूर्ण लेखेपछि एसपी पाण्डेले उक्त जवाफ लेख्ने मौका पाएका हुन् । प्रहरी प्रशासन महाशाखालाई आफ्नै प्रहरीको नाम समेत थाहा नहुनु बिडम्बनापूर्ण नै मानिएको छ । जिल्लाका प्रहरी प्रमुख पाण्डेले अतिरिक्त आम्दानीका लागि राखेका हवल्दार जागेश्वर यादवलाई जोगाउनका लागि प्रहरीको प्रशासन महाशाखालाई त्यस्तो नाम नभएको जवाफ पठाइदिएका छन् ।
यादव लगायतका घुमुवाले एसपी पाण्डेको संरक्षणमा सीमाक्षेत्रदेखि विभिन्न तस्करहरुबाट असुली गर्दै बुझाउने गरेको गुनासो हेडक्वाटरमा पुगेपछि प्रहरी प्रधान कार्यालयले अनुगमन टोली खटाएको थियो ।
जिल्लाका प्रहरी हाकिमहरुकै मिलेमतोमा भन्सारछली बढेको र घुमुवा राखी घुस असुली गर्ने गरेका गुनासा ब्यापक आउन थालेपछि प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा अनुगमन टोली पठाएको थियो ।