Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फूलबारी क्षेत्रका खसी बाख्रामा प्रकोप, दुई सातामा ३० मरे


    बुधबार, कार्तिक १० २०७८
    380
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ  । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ फूलबारी क्षेत्रमा खसी बाख्रामा प्रकोप देखिएको छ । खसी बाख्रामा झाडापखालाको प्रकोप देखिएको हो । 

    खसी बाख्रामा पखाला लाग्ने, बिरामी हुने र मर्ने क्रम बढेको स्थानीय किसानहरूले बताएका छन् । प्रकोपबाट दुई साताको अवधिमा ३० खसी बाख्रा मरेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा बाख्रा पालन गर्दै आएका ६ जना किसानका ३० वटा खसी बाख्रा मरेको बाख्रा पालक किसान गोविन्द सुवेदीले जानकारी दिए ।

    उनका अनुसार खसी बाख्रामा केही दिनदेखि पखालाको समस्या देखिएको थियो । उक्त समस्या देखिएको केही दिनमा नै सबै खसी बाख्रा मरेको उनले बताए । बिरामी भएका स्थानीय किसान हिरामती चौधरीका चार खसी र सात बाख्रा गरी ११ वटा, लाल बहादुर चौधरीको दुई बाख्रा, शान्ता चौधरीको ६ बाख्रा, बलवीर चौधरीको चार वटा बाख्रा, मनोज चौधरीका चार बाख्रा र पूर्ण बहादुर चौधरीका दुई बाख्रा मरेको उनले जानकारी दिए ।

    दुई साताको अवधिमा उक्त संख्यामा खसी बाख्रा मरेको र अझैँ पनि ८ वटा बिरामी रहेको पशु सेवा शाखा तुलसीपुरका शाखा अधिकृत सुवास आचार्यले जानकारी दिए ।

    किसानले समयमा उपचारमा ध्यान नदिँदा ठूलो क्षति भएको उनले बताए । वर्षातको समयमा खसी बाख्राको खानपान र स्याहारमा ध्यान नदिँदा मरेको उनले बताए । चरनका क्रममा भिजेका कारण पखाला र ज्वरो आउने जस्ता लक्षण देखिएकाले उनीहरूको खानपान, औषधीउपचार र स्याहारमा विशेष ख्याल गर्नुपर्ने उनले बताए । आफूहरूले पीडित किसानसँग भेट गरी बाँकी बिरामी बाख्राका लागि औषधी र परामर्श दिइएको आचार्यले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार