Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाले कसको इशारामा गर्यो किसानसँग दुध नलिने निर्णय ?


    बिहिबार, जेष्ठ २२ २०७७
    1.1K
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाभित्र रासन खरिदमा ठूलो आर्थिक चलखेल भएको छ । सेनाले गएको माघमा आफ्ना कर्मचारीका लागि रासनको टेण्डर आह्वान गरेको थियो । सो टेण्डरपछि मुलुकभरका १२ जना ठेकेदारले ठेक्का पाए । सेनाका लागि रासन टेण्डरमा रासनसहित दुधको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालय जंगीअड्डाले ठेक्का पार्ने सबै ठेकेदारहरुलाई सबै कर्मचारहरुले गाई भैंसीको दुध मन पराए, सोही अनुसार गाई भैंसीको दुध खुवाउन निर्देशन दियो । सोही अनुसार माघ १ गतेदेखि ठेक्का पाएका ठेकेदारहरुले स्थानीय तहका कृषक अथवा कृषकहरुद्वारा संचालित दुग्ध सहकारीसँग एक वर्षको सम्झौता गरी दुध संकलन गर्दै सेनालाई खुवाउँदै आइरहेका थिए ।

    ठेक्का प्रक्रियामा गाई भैंसीको दुध वा डेरीको दूध नपाएमा होल मिल्क (पाउडर) खुवाउनु भन्ने उल्लेख छ । तर, ठेकेदारले गाई भैंसीको दुध खुवाउँदै आएको पाँच महिना बितिसकेपछि अहिले सेनाको आपूर्ति तथा परिवहन निर्देशनालय जंगी अड्डाले गाई भैंसीको दुध नभई होल मिल्क (पाउडर) खुवाउनू भनेर ठेक्का पाउने सबै ठेकेदारहरुलाई गत जेठ १९ गते सोमबार एक परिपत्र पठाउँदै किसानहरुको पेटमा लात्ती हान्ने काम गरेको छ ।

    milk 1.jpg

    ठेकेदार र सेनाबीच भएको ठेक्का सम्झौता

    सो परिपत्रमा भनिएको छ ‘ठेक्का सम्झौता पश्चात् त्यस आपूर्तिकर्ताहरुले अस्वाभाविकरुपमा कम दररेटमा कबुल गरेकै कारण दुध बजारमा उपलब्ध नभएको भनी निवेदन दिने र आपूर्ति नगर्ने प्रवृत्ति देखिएको, हाल बजारमा होल मिल्क (पाउडर) र डेरी वा गाई भैंसीको दुध आवश्यक परिणाममा उपलब्ध नभएको देखिएको र कोभिड—१९ बाट आन्तरिक व्यापारमा परेको नकारात्मक प्रभावसमेतलाई सम्बोधन गर्न समेत राष्ट्रिय उत्पादनलाई टेवा दिनुपर्ने हुँदा सम्झौता अनुसार स्पेसिफिकेसनमा उल्लेख भए बमोजिम गुणस्तरमा कुनै सम्झौता नगरी होल मिल्क पाउडर र डेरी वा गाई भैंसीको दुध बराबर परिणाममा नेपाल सरकारको सार्वजनिक खरिद ऐन नियमावलीको मर्म र भावना अनुसार उपलब्ध गराउने व्यवस्था गर्नुभई सोही अनुसार बिल उपलब्ध गराउनू’ भन्ने छ ।

    किसानहरुको मुलुकभर मासिक तीन लाख लिटर दुध सेनामा खपत हुँदै आएको थियो । तर, सेनाको गत जेठ १९ गते सोमबारको निर्देशनले किसानहरुको दुध नबिक्ने र खेर जाने भएको छ । यो खेलमा सेनाका उच्चतहका अधिकृत, दुग्ध विकास संस्थाका महाप्रबन्धक रुद्रप्रसाद शर्मा र कृषि मन्त्रालयका उच्च अधिकारी, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको ठूलो आर्थिक चलखेलकै कारण ठेकेदारहरुले दुग्ध विकास संस्थानमा भण्डारण गरिएको होल मिल्क पाउडर दुध किन्नुपर्ने दवाव दिएको बुझिन आएको छ ।

    दुग्ध विकास संस्थानसँग झण्डै ६० हजार मेट्रिक टन पाउडर दुध स्टक (मौज्दात) रहेको र सोही पाउडर दुध बेच्नका लागि कृषि मन्त्रालयका उच्च अधिकारी, उप तथा रक्षा मन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापाको मिलिभगतमा यो निर्णय गरिएको पाइएको छ । यसमा ठूलै आर्थिक चलखेल भएको सेनाभित्रै व्यापक चर्चाको विषय बनेको छ । बैंकबाट ऋण गरी गाई भैंसी पाली दुध बेची आफ्नो जीविकोपार्जन गरिरहेका निम्नस्तरका किसानहरुले सेनालाई दुध बेचबिखन गर्दै आइरहेका थिए । निम्नस्तरका किसानहरुले सेनामा दुध बेचेर आफ्दै दैनिक गुजारा र बैंकबाट लिएको ऋणको साँवा र ब्याज तिर्दैै आइरहेका थिए ।

    यसरी निम्नस्तरका किसानहरुको दुध नेपाली सेनामा खपत भइरहेको अवस्थामा सरकारको निर्देशनमा नेपाली सेनालाई गाई भैंसीको दुध नलिनू भनी पाउडर दुध खुवाउनु भनी निर्देशन दिएको छ । यो सरकारले निम्नस्तरको किसानहरुको संरक्षक नभई भक्षकको भूमिका खेलेको यो घटनाले पुष्टि पनि गरिदिएको छ ।

    सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेनाले कहिल्यै किसानको पेटमा लात्ता हान्ने काम गर्न नसक्ने बताए । उनले भने–‘रासन ठेकेदारहरुले ठेक्का सम्झौता गर्दा ५० प्रतिशत पाउडर दुध र ५० प्रतिशत गाईभैंसीको दुध वा डेरीको दुध दिने कबोल गरेका थिए । तर त्यो कबोल बिपरीत यो लकडाउनमा गाईभैंसीको दुधमात्र सप्लाई गरिरहेका छन् । कबोल अनुसार पाउडर दुध दिएका छैनन् । गाईभैसीको दुधको मूल्य उच्च छ । पाउडर दुधको अति कम दरमा आपूर्ति गर्नेगरी ठेक्कामा कबोल गरेका छन् । ठेक्का सम्झौता बिपरीत ५० प्रतिशत भन्दा बढी गाईभैसीको दुध किन्दा भोलि लेखापरीक्षण गर्दा प्रश्न उठिहाल्छ । सेनाले ठेकेदारलाई टेण्डरमा सम्झौता भएअनुसारको आपूर्ति गर्नका लागि सोमबार परिपत्र गरेको हो । किसानलाई मार्ने उद्देश्य सेनाको हुँदै होइन । किसानलाई मार्न खोजेको भनेर ठेकेदारले भ्रमित पार्न खोजेका हुन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार