प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अब सर्वोच्च अदालतलाई नेतृत्व दिन नसक्ने निष्कर्ष निकाल्दै बाँकी सबै न्यायाधीशले उनलाई ‘सम्मानपूर्ण निकास’ का निम्ति आग्रह गरेका छन्। राणाले भने आफू संवैधानिक बाटोबाट आएको हुनाले त्यही बाटोबाट मात्रै बाहिरिने दृढता व्यक्त गरेका छन्।
काठमाडौँ । सर्वोच्चका सम्पूर्ण न्यायाधीशले आफूहरूबीचको छलफलबाट आएको निष्कर्ष उनलाई सुनाउँदै मार्ग प्रशस्त गर्न भनेका हुन्। न्यायाधीशहरू राणाको नेतृत्वमा सर्वोच्चमा काम गर्न तत्पर नभएका कारण दुई दिनदेखि सुनुवाइ ठप्प छ।
सर्वोच्चमा न्यायाधीशहरू इजलास नबसी प्रधानन्यायाधीश राणालाई पदबाट राजीनामा दिन आग्रह गरेसँगै न्यायालयको विवाद तत्काल नटुंगिने देखिएको हो।सर्वोच्चका न्यायाधीशहरू एकजुट भई मुद्दा सुनुवाइ नगरेर राजीनामा माग गरेपछि प्रधानन्यायाधीश राणा एक्लिएका छन्। सर्वोच्चमा कुनै बेला राणानिकट भनिएका न्यायाधीशसमेत उनीविरुद्ध एकजुट भएका छन्।
सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीश राणालाई भेट गरी १५ जना न्यायाधीशले अहिलेको विषम परिस्थितिमा न्यायपालिकाको नेतृत्वले मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। ‘आरोप र लाञ्छना अरू (न्यायाधीश) लाई पनि आएको छ, तपाईंहरूले पनि राजीनामा दिनुहुन्छ भने म दिन तयार छु’, प्रधानन्यायाधीशले जवाफमा भनेका थिए, ‘म सडकले राजीनामा मागेर दिन्नँ।’ राणाले आफू संवैधानिक बाटोबाट आएको र त्यही बाटो जाने बताएका थिए।
सोमबार इजलासमा नबसी बैठक गरेका न्यायाधीशहरूले आफूहरूको धारणा प्रधानन्यायाधीशलाई मंगलबार भेटेर सुनाउनुका साथै उनले तोकेको इजलासमा समेत गएनन्। ‘हामी उहाँको कुरा सुन्नभन्दा पनि हाम्रो बैठकबाट आएका निष्कर्ष सुनाउन र सम्मानजनक निकासका निम्ति आग्रह गर्न गएका थियौं,’ बैठकमा सहभागी एक न्यायाधीशले नागरिकसँग भने।
राणाले राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरूले मंगलबार पनि इजलास नबसी बैठक गरेका थिए। बैठकमा बुधबार फेरि राणालाई भेटेर आफ्ना अबको धारणा राख्ने बताएका छन्।
प्रधानन्यायाधीशले सोमबार बोलाएको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी नहुने सल्लाह गर्दै बहिष्कार गरेपछि प्रधानन्यायाधीश र न्यायाधीशबीच दूरी बढ्न थालेको हो।
राणालाई भेटेपछि न्यायाधीशहरू मंगलबार फेरि छुट्टै बैठक बसेका थिए। ‘विषय संवेदनशील र गम्भीर भएकाले हामी १५ जना फेरि बैठक बस्यौं’, एक न्यायाधीशले भने, ‘प्रधानन्यायाधीशलाई भेटेर मार्ग प्रशस्त गरिदिन माग राख्यौं। उहाँले राजीनामा नदिने अडान लिनुभयो।’ प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूसमक्ष १५ मिनेट जति आफ्ना कुरा राखेका थिए।
सर्वोच्चका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीले भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
संविधान, स्वतन्त्र न्यायपालिका, आफूहरूको सीमा, मर्यादामा रहेर अगाडिको कार्यक्रम तय गर्ने न्यायाधीशहरूको योजना छ। अहिलेको न्यायपालिका विवाद समाधानका लागि प्रधानन्यायाधीशले राजीनामा दिनैपर्ने अन्य न्यायाधीशको अडान देखिन्छ।
सर्वोच्चमा उपस्थित १५ जना न्यायाधीशबाहेक अमेरिका भ्रमणमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सबैलाई इमेल पठाएर प्रधानन्यायाधीश राणाको ‘ग्रेसफुल एक्जिट’ हुनुपर्ने राय व्यक्त गरेको उच्च स्रोतले जानकारी दियो। त्यसैगरी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले समेत सर्वोच्चमा अन्य न्यायाधीशहरूले चलाएको अभियानको समर्थन गरेको जानकारी दिएका छन्। ‘आजको दिनमा प्रधानन्यायाधीश राणासँग कोही पनि छैन,’ एक न्यायाधीशले भने, ‘यो अवस्थामा सर्वोच्चलाई उहाँले निकास दिनुको विकल्प छैन।’ नागरिक दैनिकबाट