Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन


    बुधबार, कार्तिक १० २०७८
    450
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए ।

    सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् ।

    ‘तपाईंहरूले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपार्इंहरूले पनि राजीनामा दिने भए म पनि दिन्छु,’ प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूसँग भने, ‘सडकबाट कसैले राजीनामा माग्दैमा म दिन्नँ, म आफ्नो संवैधानिक दायित्वमा बस्छु ।’

    साथै, प्रधानन्यायाधीश राणाले आफू संवैधानिक प्रक्रियाबाट आएकाले न्यायाधीशहरूले राजीनामा माग्दैमा खुरुक्क दिने पक्षमा नरहेको बताए ।

    तीन दिनदेखि इजलास बहिष्कार गर्दै न्यायाधीशहरू छलफलमा जुटिरहेका छन् । प्रधानन्यायाधीशको राजीनामालाई एक सूत्रीय माग बनाएर दबाब सिर्जना गरिरहेका न्यायाधीशहरूले इजलास बहिष्कारदेखि फुलकोर्ट बैठक बहिष्कार गरिसकेका छन् । प्रधानन्यायाधीशमा न्यायिक विचलन आएको र राजनीतिक भागबण्डामा मुछिएकोलगायतको आरोप न्यायाधीशहरूको छ ।

    सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कारले लामो समयदेखि पेसी चढेर सुनुवाइको पर्खाइमा रहेको मुद्दा प्रभावित बन्न पुग्यो । न्यायाधीशको आन्दोलनले दुई दिनमा ४ सय ३२ वटा मुद्दा सुनुवाइ प्रभावित भए । एक वर्षदेखि पाँच वर्षअघि सर्वोच्चमा दर्ता भएका चार दर्जन बढी मुद्दा सुनुवाइ प्रभावित बन्न पुग्यो ।

    न्यायाधीशहरूसँग मंगलबार प्रधानन्यायाधीश राणाले राजीनामा नदिने स्पष्ट अडान राखेपछि पुनः छलफलमा जुटेका थिए । केही समय अदालतमा छलफलमा जुटेका उनीहरूले आज बुधबार बिहान साढे ११ बजे छलफल गर्ने निर्णय गरेका छन् । राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार