काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नैतिक संकटमा परेका छन् । विवादका कारण चौतर्फी रूपमा राजीनामा माग भएपछि प्रधानन्यायाधीश दबाबमा परेका हुन् ।
इजलास नै बहिष्कार गरेर विरोधमा रहेका न्यायाधीशहरुले आज (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेटेर राजीनामाका लागि आग्रह गर्ने भएका छन् ।
हिजो उनीहरुले न्याय क्षेत्रको हितका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नु पर्ने भन्दै इजलास बहिष्कार गरेका थिए । न्यायाधीशहरुले इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशबाट राजीनामा दिन चोलेन्द्र शम्शेर जबरामाथि थप दबाब परेको छ ।
राजनीतिक मुद्दामा सौदाबाजी गर्ने, जघन्य अपराधको अभियोगमा जेल बसिरहेकालाई तजबिजका आधारमा घर पठाइदिने, न्यायिक सुनुवाइ जानाजान ढिलाइ गरिदिने शैलीमा अभ्यस्त प्रधानन्यायाधीशले अब न्यायिक नेतृत्व गर्न नसक्ने निष्कर्षमा सर्वोच्च अदालतका न्यायाधीशहरु पुगेका छन् ।
यसैबीच नेपाल बारले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने तयारी गरेको छ । सर्वोच्च अदालत बार एसोसिएशनले भने हिजो नै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको थियो ।
प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असफल रहेको भन्दै सर्वोच्च बारले मार्ग प्रशस्त गर्न आह्वान गरेको हो ।