Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशनको मिति सार्दै, नाडी छाम्दै भारत


    सोमबार, कार्तिक ८ २०७८
    375
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण महाधिवेशनको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढ्न नसकेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन एक डेढ महिनापछि सर्ने गरीे नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

    केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएअनुसार नयाँ कार्यतालिकाको खाका तयार गर्न आज सोमबार निर्वाचन समितिको बैठक बस्दै छ । यसअघि कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ सम्मका लागि तय गरिएको थियो ।

    तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्लामध्ये १३ वटा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । गोरखामा दुई निर्वाचन क्षेत्र भएकाले अधिवेशन भएको निर्वाचन क्षेत्रको संख्या भने १४ पुगेको छ । बाँकी जिल्लामध्ये ४६ वटा जिल्लामा पालिकासम्मको अधिवेशन भएको निर्वाचन समितिका संयोजक यादवले बताउनुभयो । क्रियाशील सदस्यता विवादका कारण प्रदेश–२ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेत र रसुवामा अधिवेशन प्रक्रिया नै शुरु हुन सकेको छैन ।

    अधिवेशन प्रक्रिया शुरु नै हुन नसकेको १३ जिल्लामध्ये ११ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी निर्वाचन समिति सूची उपलब्ध गराइसकिएको जानकारी दिँदै केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले भन्नुभयो– ‘बाँकी दुई जिल्ला रसुवा र रौटहटबाहेक अन्य जिल्लामा अधिवेशन प्रक्रिया अघि बढाउने बारेमा पनि निर्वाचन समितिमा छलफल भइरहेको छ ।’

    पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १८ गतेसम्म सबै जिल्ला अधिवेशन र कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने थियो । नेतृत्व हत्याउने रणनीतिमा लागेका शीर्ष नेताहरूले पनि तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न चासो नदेखाएका कारण महाधिवेशनको पूर्वनिर्धारित समय प्रभावित बनेको हो ।

    नाडी छाम्दै भारत

    महाधिवेशन नजिकिएसँगै काग्रेस नेताहरू भारतीय पक्षको साथ खोजिरहेका छन् भने कांग्रेस महाधिवेशनलाई छिमेकी मुलुक भारतले पनि चासोका साथ हेरिरहेको छ । महाधिवेशन प्रक्रिया शुरु भएको र शीर्ष नेताहरू नेतृत्व हत्याउने रणनीतिमा लागिरहेका बेला भारतले नेतृत्वमा कसलाई सघाउने भन्ने बारेमा छलफल गरिरहेको बुझिएको छ ।

    महाधिवेशन नजिकिएसँगै कांग्रेस नेताहरूको भारत आऊ–जाऊ पनि बाक्लिन थालेको छ । केही समयअघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको दूतका रूपमा सहमहामन्त्री डा. प्रकाशशरण महत भारत जानुभएको थियो । उहाँ स्वदेश फर्किएलगत्तै महामन्त्री डा. शशांक कोइरालाको टोली भारत भ्रमणमा गएको छ ।

    सभापति देउवाले १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा आउने तयारी गरिरहेकै बेलामा शनिबार भारत जानुभएका महामन्त्री कोइराला पनि आसन्न अधिवेशनमा सभापतिको दाबेदार हुनुहुन्छ । भैरहवाबाट स्थलमार्ग हुँदै भारत पुग्नुभएका कोइरालाको साथमा पूर्वमन्त्री दीपक गिरी र पूर्वराज्यमन्त्री एवं संखुवासभाका नवनिर्वाचित जिल्ला सभापति दीपक खड्का पनि साथमा हुनुहुन्छ ।

    भारतमा उपचारत कांग्रेस नेता प्रदीप गिरी र कर्मा घलेको स्वास्थ्य अवस्था बुझ्न भारत गएको भनिए पनि महामन्त्री कोइरालाको टोली नजिकिँदै गएको महाधिवेशनमा भारतीय पक्षको साथ खोज्न गएको चर्चा चलेको छ । नेपाल समाचारपत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार