रामेछाप । नेकपा(एकीकृत समाजवादी)पार्टी गठन भएसँगै जिल्ला जिल्लामा संगठन बिस्तारले गति लिइरहेको छ । नेकपा समाजवादी रामेछापले वडा वडामा संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
नेकपा समाजवादीको शनिबार बसेको जिल्ला कमिटी बैठकले मंसिर १५ गतेभित्र ६४ वटै वडा कमिटी गठन गरिसक्ने निर्णय गरेको छ । बैठकले १५ दिनभित्र पालिका कमिटी गठन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी बैठकले वडा कमिटी गठन गर्न सहजताका लागि शनिबारै ८ वटै पालिकाको संयोजक तोकेको छ । मन्थली नगरपालिकामा कृष्ण थापा, रामेछाप नगरपालिकामा श्रीहरि श्रेष्ठ, लिखु तामाकोशी गाउँपालिकामा रत्नबहादुर दर्जी, गोकुलगंगा गाउँपालिकामा बलाराम खड्का, उमाकुण्ड गाउँपालिकामा बिकास कार्की, खाँडादेवी गाउँपालिकामा स्वरुपसिंह तामाङ्, सुनापति गाउँपालिकामा दुर्गा घिमिरे र दोरम्बा गाउँपालिकामा धन योञ्जनलाई संयोजकको जिम्मेवारी तोकेको छ ।
पहिलो जिल्ला सचिवालय बैठकले थप ९ जनालाई जिल्ला कमिटीमा थप गर्न सिफारिस गरेको छ । ९ सदस्य थपिएपछि नेकपा समाजवादी रामेछाप जिल्ला कमिटी १३५ सदस्यीय भएको छ । जिल्ला कमिटीमा अझै केही महिला सदस्य थप गर्न बाँकी रहेको जनाइएको छ ।