डडेल्धुरा, २१ जेठ । डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ ।
हिजो राति १० बजे जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी ३० बर्षिया महिलाको मृत्यु भएको हो।
उनी जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन्।
बेलुकाको खाना खाइसकेपछि सामान्य अवस्थामा रहेकी महिला राती श्रीमान्सँग शौचालय गएकी थिइन्।
गाउँपालिकाकी उपाध्यक्ष कमला ठगुन्नाका अनुसार उनी शौचालयमै एक्कासी बेहोस भएको र मुखबाट रगत आएको थियो ।
हिजो दिउँसो १२ बजे क्वारेन्टिनको अनुगमन गर्दा उनलाई कुनै स्वास्थ्य समस्या थिएन।
उपाध्यक्षका मृतक महिलालाई यस अगाडि अन्य स्वास्थ्य समस्या नभएको र कुनै प्रकारको औषधी पनि खाने गरेको थिइनन्।
क्वारेन्टिनमा उनी आफ्ना श्रीमान्, साढे दुई वर्ष छोरा र ५ महिनाकी छोरीसहित बस्दै आएकी थिइन्।
उनीहरू सबैको आज आरडिटी परिक्षण हुनेछ।
तर पीसीआर परीक्षण सेवा भने धनगढीमा मात्र हुने भएकाले केही दिन लाग्ने उपाध्यक्ष ठगुन्नाले बताएकी छन्।
हाल मृतकको शव गाड्ने तयारी भइरहेको छ।
उक्त क्वारेन्टिनमा ४० जना बस्दै आएका थिए।
महिलाको मृत्यु भएपछि क्वारेन्टिन बसेकाहरूले सबैले कोरोना परीक्षणको माग गरेका छन्।
तर, त्यहाँ तत्काल त्यसो गर्न संम्भव छैन।