Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा प्रधानन्यायाधीश राणा र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य भेटवार्ता


    बिहिबार, कार्तिक ४ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर  राणा र सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार साँझ रहस्यमय भेटवार्ता भएको छ ।

    स्रोतका अनुसार उनीहरुबीच बालुवाटारमा आधा घण्टाभन्दा बढी गोप्य वार्ता भएको थियो । प्रधानन्यायाधीश राणालाई भेट्न प्रचण्ड बुधबार साँझ प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार पुगेका थिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा डेढ घण्टा भन्दा लामो समय गोप्य वार्ता गरेपछि प्रधानन्यायाधीश राणालाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानन्यायाधीशको निवासमा पुगेका थिए ।

    प्रधानन्यायाधीशलाई भेट्न जानुअघि तीन नेताको प्रधानमन्त्रीको निवासमा भएको गोप्य वार्तामा जसपाका नेता बाबुराम भट्टराई पनि सहभागी थिए । उक्त वार्ता हुनुअघि माधव नेपालको निजी निवास कोटेश्वर पुगेर प्रचण्डले उनीसँग आधा घण्टाभन्दा लामो समय छुट्टै वार्ता गरेका थिए । प्रचण्डले माधव नेपाललाई भेट्नुअघि माधव नेपालले मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेललाई आफ्नै निवासमा बोलाएर लामो गोप्य वार्ता गरेका थिए ।

    यति लामो गोप्य वार्ताको सिलसिलापछि अध्यक्ष प्रचण्ड प्रधानन्यायाधीश राणालाई भेट्न उनको निवासमा पुग्नुले मात्रै रहस्यमय भएको होइन कि प्रधानन्यायाधीशलाई सत्ताधारी गठबन्धनका प्रमुख राजनीतिक नेताले यसरी भेट्नु नै रहस्यपूर्ण मानिन्छ र यस्तो भेटवार्ता अत्यन्त अनौठो र दुर्लभ पनि मानिन्छ ।

    प्रधानमन्त्री देउवाले गठबन्धनको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै प्रमुख सत्ता साझेदार प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई आफ्नो पार्टी नेपाली कांग्रेसको महाधिवेशनपछि अर्लि इलेक्सनमा जान अनौपचारिक रुपमा प्रस्ताव गरेका थिए। सर्वोच्च अदालतमा रहेका राजनीतिक दलका नेताहरुविरुद्धका ललितानिवास प्रकरणलगायतका मुद्दाहरुका साथै सत्ता र राजनीतिक दलहरुसँग जोडिएका मुद्दाहरु सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम चरणमा रहेको बेला सत्ता वरिपरि रहेको सबै कम्युनिष्ट नेताहरुबीच आपसी छलफल गरेर प्रतिनिधिपात्रका रुपमा प्रचण्डले प्रधानन्यायाधीश राणालाई उनकै निवासमा पुगेर गोप्य भेटवार्ता गर्नुलाई निकै रहस्यमय मानिएको छ । यो समाचार आजको आर्थिक दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार