Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पचार हजार सुपारी दिएर आफ्नै ब्यापारिक साझेदारको हत्या गर्ने योजना पर्दाफास, यी हुन् योजनाकारहरु


    बुधबार, कार्तिक ३ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • विराटनगर । एक ब्यापारीले आफ्नै ब्यवसायिक साझेदारको हत्या कन्ट्याक्ट किलर प्रयोग गरी गराउन खोजेको खुलासा भएको छ । घटना मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी ईंटा उद्योगको हो । उक्त उद्योगका लगानीकर्तामध्येका एक कलामसिंह लामामाथि उनकै ब्यापारिक साझेदार महम्मद साजिद मियाँ र विमल कार्कीले खुकुरी प्रहार गरेको खुलेको छ । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको राजधानी इटा उद्योगमा लगानी गरेका लामामाथि खुकुरी प्रहार गरी हत्या गर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले लामाका साझेदार महम्मद साजिद मियाँ र विमल कार्कीलाई तत्काल पक्राउ गर्यो । मियाँ र कार्की पक्राउ परेसँगै घटनाको सत्यतथ्य एकपछि अर्को गर्दै खुल्दै जान थाल्यो ।

     इटा उद्योगको स्वामित्वबाट लामालाई बेदखल गरी आफ्नो बनाउने उद्देश्यले उच्च अदालत बिराटनगरको गेटमा २०७८ असोज १० गते महम्मद मियाँ र विमल कार्कीले लामाको हत्याको योजना बनाएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । लामालाई उक्त इटा उद्योगमा सुरुमा आकर्षक मुनाफा हुने प्रलोभन देखाई लगानी गर्न लगाएका मियाँले पछि उनलाई विभिन्न ठाउँमा उजुरी दिंदै दिनुसम्म द्ुःख दिंदै उद्योग नै बन्द गराउने अवस्थामा पुर्याए । मियाँले नेत्र कट्टेलसँग मिलेर लामाका बिरुद्ध उजुरी दिने र प्रहरी प्रशासनसँँग मिलेर उद्योग बन्द गराए । लामाले उद्योग बन्द गराएपछि जिल्ला अदालत मोरङमा मुद्दा दिएर निस्कने क्रममा उच्च अदालतको गेटमा उनीमाथि असोज १० मा खुकुरी प्रहार भएको थियो ।

    लामाको हत्या गरी उद्योग हत्याउने योजना

    काभ्रेका ३२ बर्षीय कलाम लामालाई मियाँले ईटा उद्योगमा ठूलो फाइदा हुने प्रलोभन देखाएर भक्तपुर ठिमीका रमेश राजबाहकले मोरङसम्म पुर्याई महम्मद साजिद मियाँसँग चिनजान गराएर ईटा लगानी गर्नका लागि प्रेरित गरे ।  दुई वर्ष अघि लामाले जब उक्त उद्योगमा करोडौं रकम लगानी गरे त्यसपछि राजबाहकले लामासामु दैनिक १० हजार इटा निशुल्क दिनुपर्ने जस्ता अस्वभाकि सर्तहरु राख्न थाले । लामाको लगानीमा राजबाहकले विना लगानी भाग खोज्न थाले । लामाले भने नाफा भएको खण्डमा आफूले सहयोग गर्ने आश्वसन पनि दिए ।

    लामाले मुनाफा नै नभएकाले राजबाहकको प्रस्ताव अनुुसार १० हजार इटा दिन सकेनन् । त्यसपछि राजबाहकले लामाविरुद्ध हुँदै नभएका उजुरी वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म हालेर दुःख दिन थाले । लामालाई अनेक तरिकाले दुःख दिएर मोरङबाट भगाई उद्योग नै हत्याउन राजबाहक, मियाँ र नेत्र कट्टेलले प्रशासनलाई समेत प्रयोग गरेको खुलेको छ । किनकि कम्पनीमा कुनै लगानी र सरोकार नै नभएका नेत्र कट्टेल नामका व्यक्तिले उजुरी दिएको आधारमा जिल्ला प्रशासन कार्यालय मोरङले इटा उद्योगको कारोबार नै रोक्न आदेश दिएपछि प्रशासन समेत राजबाहकहरुको प्रभावमा परेको पुष्टि हुन्छ ।

    षडयन्त्रमूलक ढंगले उद्योग बन्द गरिएपछि लामा अदालतमा न्याय माग्न गए । कारोबार फुकुवाको मागसहित मुद्दा दर्ताको तयारी गरेर विराटनगरस्थित वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल–फर्मबाट निस्किएर उच्च अदालतको गेट अगाडि पुगेपछि लामामाथि खुकुरी प्रहार भएको थियो । प्रहरी अनुसन्धानका क्रममा राजबाहक, मियाँ र कट्टेलकै योजनामा लामामाथि आक्रमण भएको खुलेको छ । राजबाहकले कट्टेललाई लामामाथि आक्रमण गर्न सुपारी दिएका थिए । प्रहरीका अनुसार कट्टेलले कार्कीलाई खुकुरी प्रहार गरी लामाको हत्या गर्न खटाएको देखिन्छ ।

    लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीले प्रहरीसमक्ष आफूले ५० हजार रकम लिएर लामामाथि खुकुरी प्रहार गरेको वयान दिएका छन् । घटनामा जोडिएका मुख्य अभियुक्त भक्तपुर ठिमीका रमेश राजबाहक र मोरङका नेत्र कट्टेल । उनीहरु दुबै जना अहिले फरार छन् ।
    लामालाई ईंटा उद्योगको सेयर बिक्री गरेका मियाँले नै योजनाबद्ध रुपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । उक्त इटा उद्योगमा मियाँ र उनकी श्रीमतीको ५०–५० प्रतिशत शेयर थियो । मियाँले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेका थिए भने बाँकी ५० प्रतिशत शेयर वार्षिक ५० हजार इटा पाउने शर्तमा ५ वर्षका लागि लिजमा दिएका थिए ।

    मियाँ र राजबाहकको धम्की र त्रासका बाबजुद पनि लामा अविचलित भएर अदालतमा इंंटा उद्योग संचालनका लागि मुद्दा दर्ता गर्न गएपछि राजबाहक र मियाँले लामालाई हत्या गर्ने उद्देश्यले आक्रमण गराएका थिए । लामालाई भगाएर उद्योग कब्जा गर्न खोजेका उनीहरु अहिले उल्टै प्रहरीको खोरमा पुगेका छन् । 
    घटनामा संलग्न अर्का अजय नाम गरेका ‘बाइक राइडर’ फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जीसीले घटनाको विषयमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको र फरार व्यक्तिहरुलाई चाँडै नै कानुनी कठघरामा ल्याउने बताए ।

    मोरङ प्रहरीका अनुसार खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । गम्भिर घाइते लामाको शुरुमा विराट नर्सिङ होममा उपचार भएको थियो । थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको छ ।

    लामाले आफूले कसैलाई पनि आघात नपारी लगानी गरेर व्यवसाय गर्दा चिनजानकै व्यक्ति र साझेदारबाट धोका तथा षड्यन्त्र पाएको गुनासो गरे । उनले भने–‘मलाई आक्रमण गर्नेमाथि कानून अनुसार कारबाही हुनुपर्छ । कसैले पनि व्यापार व्यवसाय गरेर जीउन पाउनुपर्छ । हत्यासम्मको योजना बनाउने अपराधीहरुलाई राज्यका कुनै पनि निकायले छुट दिनुहुँदैन । किनकि उनीहरुले अन्य व्यक्तिहरुमाथि आक्रमण गर्न सक्छन् ।’ लामाले अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार