काठमाडौं, २५ फागुन ।
विश्व स्वास्थ्य संगठनले नेपाल नोवल कोरोना भाइरस (कोभिड–१९०) संक्रमणको उच्च जोखिममा रहेको सूची सार्वजनिक गरेसँगै सरकारले अस्पताललाई आइसोलेसन वार्ड र भेन्टिलेटरसहितको आईसीयू बेड तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । तर अधिकांश अस्पतालले बेवास्ता गरेका छन् । आईसीयू बेड अभाव रहेको भन्दै अस्पतालहरूले आइसोलेसन वार्ड र भेन्टिलेटरसहितको आईसीयू बेड व्यवस्थापन गर्न नसकिएको बताएका छन् ।
देशकै एकमात्र सरुवा रोग अस्पतालमा तीन वटा आईसीयू बेड छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ती बेडमा हाल एचआईभीलगायत अन्य सरुवा रोगका बिरामी छन् । तत्काल कोभिड–१९ का बिरामी नदेखिएकाले आईसीयू बेड छुट्याएर नराखिएको एक चिकित्सकले बताए । ‘भोलि कुनै बिरामी कोभिड–१९ ले गम्भीर भएर आईसीयू चाहियो भने पहिलेदेखि बसेका बिरामी हटाउन मिल्छ,’ ती चिकित्सकले भने, ‘भेन्टिलेटरसहितको आईसीयू चाहिए अन्य अस्पतालमा छन् भनेर ढुक्क छौं ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार कोभिड–१९ का बिरामीमध्ये ५ प्रतिशत शिथिल हुन सक्छन् । त्यस्ता बिरामीलाई भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्छ । ‘कोभिड–१९ जस्तै आपतकालीन अवस्था वा महामारी व्यवस्थापनका लागि सबै अस्पतालले २० प्रतिशत बेड सधैं खाली राख्नुपर्छ, यो अन्तर्राष्ट्रिय मापदण्ड हो,’ उनी भन्छन् । केही अस्पतालले कोभिड–१९ का बिरामी राख्न आइसोलेसन वार्ड बनाए पनि आईसीयू बेड खाली छैनन् ।
टेकु अस्पताल अन्य अस्पतालमा रिफर गरौंला भनेर ढुक्कसाथ बसेको पनि अन्य अस्पतालले बेड छुट्याएका छैनन् । पाटन अस्पतालमा भएका ६ वटा आईसीयूले नियमित बिरामीलाई नै नपुगेको निर्देशक डा। विष्णुप्रसाद शर्माले बताए । ‘हामीले ६ बेडको आइसोलेसन वाड छुट्याएका छौं,’ उनले भने, ‘कोभिड–१९ का बिरामी आए पनि आईसीयूमा बसेका बिरामीलाई हटाउन सक्दैनौं ।’ भोलि भेन्टिलेटर चाहिने बिरामी आइहाले टेकु नै पठाउने उनले बताए ।
निजामती (सिभिल) अस्पतालमा भेन्टिलेटरसहितका पाँच वटा आईसीयू बेड छन् । निर्देशक डा. दीर्घराज आरसीका अनुसार कोभिड–१९ का बिरामीकै लागि भनेर आईसीयूसहितका बेड छुट्याउन सक्ने अवस्था छैन । ‘त्यस्ता बिरामी आइहाले सरकारले हामीलाई आईसीयू र तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिदिनुपर्छ,’ उनले भने, ‘बसिरहेका बिरामी सारेर अरुलाई कसरी राख्ने ?’
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भेन्टिलेटरसहितका ११ वटा आईसीयू बेड छन् । सरकारको निर्देशनअनुसार अस्पतालले ६ बेडको आइसोलेसन वार्ड बनाए पनि आईसीयू खाली छैनन् । आइसोलेसन वार्ड पनि मापदण्डअनुसार नभएको भन्दै अर्को बनाउन सरकारले निर्देशन दिएको अस्पतालका निर्देशक डा। प्रेम खड्गाले बताए । ‘कोभिड–१९ का बिरामी आइहाले भने आईसीयूका अन्य बिरामीसमेत जोखिममा पर्छन्,’ उनले भने, ‘आईसीयू नै चाहिने बिरामी आए टेकु वा अन्य अस्पताल पठाउँछौं ।’
वीर अस्पतालमा भने कोभिड–१९ का बिरामीकै लागि भनेर एउटा आईसीयू छुट्याइएको छ । आईसीयूसम्म संक्रमित बिरामी लैजानका लागि छुट्टैखाले बाटोसमेत व्यवस्थापन गरिएको छ । ६ वटा क्याबिनलाई आइसोलेसन वार्डमा परिणत गरिएको ईडीसीडीका निर्देशक डा. वासुदेव कार्कीले बताए । ‘वीरमा भएका भीआईपी र भीभीआईपी वार्ड सधैं खाली हुन्छन्,’ उनले भने, ‘तिनलाईसमेत आइसोलेसन वार्डमा परिणत गर्न आग्रह गरेका छौं ।’ यसबाहेक वीरमा २० बेडको आईसीयू विस्तार गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिइसकेको छ । कोभिड–१९ को जोखिम उच्च रहेकाले अन्य अस्पतालमा आइसोलेसन वार्ड र आईसीयू खोज्नुभन्दा छुट्टै अस्पताल निर्माण गर्नुपर्ने डा. मरासिनीको भनाइ छ ।
‘छुट्टै अस्पताल बनाउन नसके सञ्चालनमा नआएका ठूला होटलमा क्वारेन्टाइनसहितको अस्पताल चलाउन सकिन्छ,’ उनले भने, ‘यसो गर्दा कोभिड–१९ का बिरामीले उपचार पाउँछन् । अन्य अस्पतालमा बसेका बिरामीमा जोखिम पनि हुँदैन ।’ उनका अनुसार संक्रमण व्यवस्थापन गर्न अस्पतालमा पर्याप्त पूर्वाधार मात्र होइन, तालिम प्राप्त स्वास्थ्यकर्मीको समेत अभाव छ । ‘संक्रमणजन्य रोगको उपचारका लागि सामान्य नर्स र प्रयोगशालाकर्मीले काम गरेर हुँदैन,’ उनले भने, ‘विशेष तालिम नै दिनुपर्ने हुन्छ, जस्तो सन् २००६ तिर फैलिएको बर्डफ्लुका लागि हामीले ४० जना स्वास्थ्यकर्मीलाई विदेश नै लगेर तालिम दिएका थियौं ।’
कोरोना भाइरस संक्रमित बिरामी भर्ना हुने अस्पतालमा स्वास्थ्यकर्मी र अस्पताल आउजाउ गर्ने मानिसलाई सर्ने उच्च जोखिम रहेको उनले बताए । ‘कोरोनाका बिरामी हिँडेको बाटो नै कोही हिँड्नु हुँदैन, वार्डमा बिरामी लैजाँदा छुट्टै बाटोबाट बनाउनुपर्छ,’ उनले भने, ‘आइसोलेसन वार्ड या आईसीयू बराबरका बिरामीमा सजिलै यो संक्रमण सर्छ ।’
टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले चीनबाट ल्याइएका १ सय ७५ जना नेपालीलाई राखिएको भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणलाई नै अस्पतालको क्वारेन्टाइन बनाउन सकिने बताउँछन् । ‘त्यहाँको ठाउँ हामीले पाउने हो भने हामी त्यहीँ भेन्टिलेटरसहितको आईसीयू र क्वारेन्टाइनको व्यवस्था गर्न सक्छौं,’ उनले भने, ‘यसो गर्दा हामीलाई अन्य अस्पतालको आइसोलेसन र क्वारेन्टाइनको आवश्यकता पर्दैन होला ।’ कोभिड–१९ का बिरामी राख्न तोकिएका अस्पतालले आकस्मिक शल्यक्रियाबाहेक नियमित शल्यक्रिया मात्रै रोकेर भए पनि आईसीयूको व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । ‘नयाँ शल्यक्रिया नभएपछि आईसीयू खाली गर्न मिल्छ,’ उनले भने, ‘दुर्घटना या नगरी नहुने बिरामीको मात्रै शल्यक्रिया गरेर भए पनि कोभिड–१९ का बिरामीको उपचार अस्पतालले गर्नुपर्छ ।’
पूर्वतयारी पर्याप्त छैन
जनस्वास्थ्य विशेषज्ञहरूले कोभिड–१९ को संक्रमणविरुद्घ सरकारको पूर्वतयारी पर्याप्त नरहेको बताएका छन् । उनीहरूले एक्कासि संक्रमण देखिएको खण्डमा समस्या भयावह हुने भन्दै सतर्कतातर्फ मात्र नभई रोकथाम र उपचारतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । ‘संक्रमण रोकथामका लागि सरकारले गरेको पहल सकारात्मक रहे पनि सबैभन्दा ठूलो कमजोरी तयारीबारे हो,’ जनस्वास्थ्यविद् डा। शरद वन्तले भने, ‘रोक्ने प्रयास गर्दागर्दै संक्रमण हुन सक्छ, त्यस्तो अवस्थाका लागि तयारी असाध्यै न्यून छ ।’ उनले सानो संख्यामा बिरामी देखिए पनि राख्ने ठाउँको अभाव रहेको औंल्याए । ‘एक्कासि पाँच–सात सय जनाको परीक्षण गर्नुर्पयो भने स्थिति भयावह हुन्न सक्छ,’ वन्त भन्छन्, ‘अन्य मुलुकमा बीसौं हजारको परीक्षण भइरहेको छ, हाम्रो तयारी खोइ ?’
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोभिड–१९ भएरनभएको यकिन गर्न ४ सय ३७ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको छ । हालसम्म चीनबाट फर्केका एक विद्यार्थीमा संक्रमण देखिएको थियो, उनी अहिले पूर्ण स्वस्थ छन् । ईडीसीडीका पूर्वनिर्देशक डा. मरासिनी सानो संख्याको नमुना परीक्षण गरेर मात्र संक्रमण छैन भन्न नसकिने बताउँछन् । संक्रमण फैलिएको खण्डमा कसरी जुध्ने भन्ने तयारीमा सरकार नरहेको ईडीसीडीकै पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए । सरकारी निकाय गर्मीयाम आएपछि संक्रमणको सम्भावित खतरा आफैं कम हुने मनस्थितिमा रहेको उनको दाबी छ । डा. ठाकुर भन्छन्, ‘सरकार र सरकारी निकाय मौसम हेरिरहेका छन्, तयारी गरिरहेका छैनन्, भएका तयारी पनि सुस्त छ ।’
डा. मरासिनीले वुहानबाट नेपालीलाई फर्काउन मात्र दुई साता लाग्नु तयारीको अभाव पुष्टि भएको दाबी गर्छन् । ‘रोग निदान र उपचारमा तयारी छैन, आवश्यक र्पयो भने ठूलो संख्यामा आइसोलेसन र क्वारेन्टाइनमा कहाँ राख्ने ? सरकारले अत्यावश्यक खाद्यान्न र औषधिको आपूर्ति कसरी गर्नेजस्ता तयारी नै गरेको देखिन्न ।’
कोभिड–१९ बारे जनचेतना फैलाउन नसकिएका कारण काठमाडौंजस्तो भीडभाडयुक्त स्थानमा पनि भोजभतेर, बैठक चलिरहेको डा। वन्तको भनाइ छ । हाल सरकारी निकाय, सघसंस्थाको घर या कार्यालयमै बसेरै हुन सक्ने कामसमेत सार्वजनिक ठाउँमा भेला आयोजना भइरहेको उनले बताए । ‘सामाजिक संघसंस्थाले पनि खासै चासो देखाएका छैनन्, यस अर्थमा चेतना छ भन्ने अवस्था छैन,’ डा। वन्त भन्छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले देशमा कोभिड–१९ को संक्रमण देखिइनसकेकाले सरकार हाल रोकथाममा बढी केन्द्रित रहेको बताए । ‘पूर्वतयारी सार्वजनिक नगरेको मात्र हो, संक्रमण देखिइहाल्यो भने के गर्ने भनेर सरकारले भित्रभित्रै काम गरिरहेको छ,’ उनले भने ।
भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह
विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ को सम्भावित जोखिमका कारण सरकारले भीडभाड हुने प्रकृतिका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ ।
गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा होली ९फागु पूर्णिमा० मा विगतमा जस्तो भेला हुने, लोला तथा पानी छ्याप्ने, शरीरमा अबिर र रङ दल्नेलगायत कार्य जोखिमपूर्ण हुने भएकाले त्यसो नगर्न आग्रह गरिएको छ । ‘सन्निकट होलीमा भीडभाड र जमघट गर्ने, लोलापानी फ्याँक्ने, शरीरमा रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण हुने हुँदा त्यस्तो कार्यसमेत नगर्नूरनगराउनू हुन आम दाजुभाइ, दिदीबहिनीमा हार्दिक अनुरोध छ,’ गृहको विज्ञप्तिमा उल्लेख छ । गृहले विज्ञप्तिमा सीमा नाकाहरूमा प्रभावकारी स्वास्थ्य परीक्षणका लागि आवश्यक कार्य गरिरहेको जनाएको छ । कान्तिपुर दैनिकबाट
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend