धनगढी । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कैलालीका किसानले ठुलो क्षति बेहोर्नुपरेको छ । भित्र्याउने तयारी स्वरूप काटेको धानबाली डुबेको छ भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहन बालीसमेत नष्ट भएको छ ।
कैलालीका अधिकांश क्षेत्रमा यो समय हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग लगाउने गरिन्छ । धेरै किसानले आलु, काउली तथा हरियो साग भखर्रै रोपेका हुँदा वर्षाले सबै नष्ट भएको छ । ‘चार कठ्ठा जमिनमा आलु गगाएको चार दिन मात्र भयो’, धनगढी उपमहानगरपालिका- ३ का मुसेव खानले भने, ‘यस्तै दुई-तीन कठ्ठा जमिनमा अरू तरकारी लगाएको थिएँ, वर्षाले सबै नष्ट भयो ।’
कैलालीको गौरीगंगा नगरपालिका- २ का किसान भीम साउँदले पनि वर्षाका कारण हिउँदका लागि लगाएको तरकारी बाली नष्ट भएको बताए । ‘खेतमा लाही छरेको दुई दिन मात्र भयो’, उनले भने, ‘आलु पनि लगाएको थिएँ, सबै बिग्रियो ।’
आइतबारदेखिको वर्षाले कञ्चनपुरमा धानबाली डुबेको छ । खेतमा काटेर सुकाएको धान भित्र्याउन नपाउँदै नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन् । बर्षाले कैलालीमा मात्रै सयौँ बिघा जमीनको धानखेती डुबेको छ । धानसँगै केरालगायतका अन्य बालीसमेत नष्ट भएको किसानहरूले दुखेसो गरेका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका राजकुमार चौधरीका अनुसार भखर्रै काटेको अढाई बिगाह जमिनको धान भिजेर नष्ट भएको छ । ‘यति ठुलो बर्षा हुन्छ भनेर कसले सोच्नु ?’ उनले भने, ।
तटीय क्षेत्रका नगरिकलाई सचेत रहन आग्रह
आइतबार रातीदेखि अविरल बर्षा भएपछि तटिय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । कैलालीको तराई क्षेत्रसँगै पहाडी क्षेत्रमा समेत निरन्तर बर्षा भइरहेका कारण खोला नालाका पानीको बहाब बढ्न सक्ने प्रहरीको चेतावनी छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा भारी वर्षा मापन भएको र आगामी तीन दिनसम्म थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौंका अनुसार सुदूरपश्चिममा आगामी तीन दिनसम्म निरन्तर बर्षा हुने अनुमान छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिमा मानन्धरका अनुसार सुदूरपशिचममा अहिले बंगालको खाडीबाट उत्पन्न न्यून चापीय मनसुनी वायु र पश्चिमी वायु सक्रिय छ । जसका कारण प्रदेशभर बर्षा भइरहेको छ । यो प्रणाली आगामी तीन दिनसम्म सक्रिय रहने उनको भनाइ छ । ‘बिहीबारदेखि मौसममा सुधार आउने अनुमान छ,’ उनले भनिन्, ‘बुधबारसम्म सुदूरपश्चिमका सबै जिल्लामा बर्षासँगै हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ ।’